काठमाडौ। नेपाल आयल निगमका केही कर्मचारीहरु समेतको मिलेकत्तोमा ग्यासको मूल्य बढ्दै छ भन्ने प्रचार गराई ग्यासको कृत्रिम अभाब सिर्जना गरेर कालोबजारी गर्न थालिएको सूत्रहरुले बताएका छन्। प्राप्त समाचार अनुसार पाल्पा जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि उपभोक्ता मर्काका परेका छन्। एलपी ग्यासका स्थानीय संकलन केन्द्रहरूबाट सहजरूपमा एलपी ग्यासको अभावका कारण उपभोक्ताहरू समस्यमा भोग्न बाध्य बनेका हुन्। गाम्रीण क्षेत्रमा भन्दा पनि सदरमुकाम तानसेनमा एलपी ग्यासको अभावका कारण स्थानीयहरू निकै समस्या खेप्न बाध्य बन्नुपरेको बताइएको छ। ग्यासका विक्रेताहरू आफूले चिनेजानेकालाई तत्कालै दिने र व्यापारीसँग सम्बन्ध नभएकाहरूलाई ग्यास बुटवलबाट आएकै छैन भन्दै टारेको बताइन्छ। त्यसैगरी कञ्चनपुरमा ग्यासको सहज आपूर्तिको मागराख्दै आन्दोलनमा उत्रेका विद्यार्थीमाथि प्रहरीले लाठी प्रहार गरेको छ। प्रहरीको लाठीबाट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष पद्म जोशी र अनेरास्ववियुका जिल्ला सदस्य मदन चन्द घाइते भएका छन्।
घाइते दुवै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ। विद्यार्थी मूलढोकामा पुग्दा प्रहरी निरीक्षक पुष्कर चन्दले अन्धाधुन्ध लाठी प्रहार गरेको विद्यार्थी नेताहरूले बताएका छन्। विभिन्न पाँच विद्यार्थी संगठनले आज बिहान १० बजे स्थानीय सिद्धनाथ बहुमुखी क्याम्पसबाट जुलुस निकालेका थिए। प्रशासन कार्यालय पुग्दा जुलुशमा सहभागी विद्यार्थीहरूले प्रशासनको मूल ढोकामा तोडफोड गर्न लागेको भन्दै लाठी प्रहार गरिएको थियो।