३५ उद्योगिलाई सम्मान गरिने

काठमाडौ - अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने ३५ उद्योगी व्यवसायी/प्रतिष्ठानलाई महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) का रूपमा सम्मान गर्ने भएको छ ।
निकासी बढाउन र आयात प्रतिस्थापन, बढी कर दाखिला र वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको आधारमा प्रतिष्ठानको सूची वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुमोदन गरेको हो ।
हरेक २/२ वर्षमा दिइने सीआईपी यस वर्ष भने वितरणमा सात महिना ढिलाइ भइसकेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशकको संयोजकत्वमा रहने सीआईपी छनोट उपसमितिले सूची तयार पारी मुख्य समितिमा प्रस्ताव पठाई छनोट गरेको हो ।
कार्यकारी निर्देशक ईश्वरी घिमिरेका अनुसार वाणिज्य मन्त्रालयका सचिवको नेतृत्वमा हुने समितिलाई सिफारिस गरिसकेको छ । 'समितिले पनि अनुमोदन गरिसकेको छ । अब मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा प्रस्ताव जान्छ,' उनले भने, 'माघ १३ गते सीआईपी वितरण गर्ने तयारी छ ।' अन्तिम रूप दिइएको प्रतिष्ठानको सूची केही दिनभित्र सार्वजनिक गर्ने
घिमिरेले बताए ।
'मन्त्रिपरिषद्ले पास नगरेसम्म यसलाई अन्तिम भन्न मिल्दैन । तर मन्त्रालयबाट पठाइसकेपछि हेरफेर हुने सम्भावना भने कम हुन्छ,' छनोट समितिका अर्का एक सदस्यले भने, 'जगदम्बा स्टिल इन्डस्ट्री प्रालि र गलैंचा उत्पादक संघबारेको विवादका कारण ढिलाइ भएको हो ।' जगदम्बाको विषयमा दाबी विरोधका लागि मन्त्रालयले जारी गरेको सूचनापछि उजुरी परेको थियो ।
'उजुरी जायज देखिएकाले जगदम्बाको नाम कटाएका हौं,' ती अधिकारीले भने, 'गलैंचा उत्पादक संघले हामी पनि उक्त सम्मानका लागि उपयुक्त हौं भन्दै ल्याएपछि उसको नाम थपिएको छ ।' उपसमितिले जगदम्बासहित सुरुमा ३५ प्रतिष्ठानको सूची जेठ १३ गते सार्वजनिक
गरेको थियो । सूची सार्वजनिक भएलगत्तै २ संस्थाको विषयमा विवाद भएपछि गत आर्थिक वर्षको अन्त्यमै दिइनुपर्ने सीआईपी वितरणमा ढिलाइ भएको हो ।
केही समयअघि अनुमोदित उक्त सूची अब मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भएको कार्यकारी निर्देशक घिमिरेले बताए । सीआईपी निकासी व्यापार प्रवर्द्धनका लागि सरकारले दिने एक प्रोत्साहन हो । सीआईपी राष्ट्रप्रमुखको हातबाट एक लोगोसहित सम्मान गरिन्छ । उक्त लोगोको आधारमा महत्त्वपूर्ण स्थानमा सरकारी निकाय तथा अघिकारीले छिटोछरितो रूपमा सेवा तथा सुविधा दिनुपर्ने हुन्छ । यो लोगो कोट वा सर्टमा देखिने गरी लगाउनुपर्ने हुन्छ ।
त्यस्तो सीआईपी पाउने प्रतिष्ठानलाई सरकारले १६ भागमा विभाजन गरेको छ । मन्त्रालयका अनुसार सीआईपी तेस्रो मुलुकतर्फ निकासी रकमको आधारमा अग्रस्थानमा रहेका पाँच वस्तुको सबैभन्दा निकासी गर्ने, भारततर्फ निर्यात रकमको आधारमा प्रथम तथा दोस्रो स्थान हासिल गर्ने, हस्तकला वस्तुको सबैभन्दा बढी निर्यात गर्ने प्रतिष्ठानको आधारमा छनोट गरिएको छ ।
त्यस्तै कृषिजन्य वस्तु तथा जडीबुटी क्षेत्रमा अग्रस्थानमा हुन आउने निर्यातकर्ता, चीनतर्फको निर्यातमा प्रथम तथा दोस्रो स्थान हासिल गर्ने, सबैभन्दा बढी निर्यात गर्ने महिला उद्यमी पनि सीआईपी छनोटमा परेका छन् । उत्पादनमूक उद्योगमा सबैभन्दा बढी लगानी गर्ने, सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने, बैंकिङ प्रणालीमार्फत विप्रेषण काराबार गरी बढी वैदेशिक मुद्रा भित्र्याउने कम्पनी, बढी विदेशी मुद्रा आर्जन गर्ने होटल, बढी विदेशी पर्यटक भित्र्याउने ट्राभल एजेन्सी, बढी कर दाखिला गर्ने उद्योगीहरू सीआईपीले पुरस्कृत गर्ने सरकारी तयारी हो ।
वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएका र तेस्रो मुलुकमा हुने कुल निर्यातको सबैभन्दा बढी हिस्सा ओगट्ने तीन वस्तुगत संघसंस्थाका अध्यक्ष पनि सीआईपीबाट सम्मानित हुने भएका छन् ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>