चित्र कोरेरै मासिक दुई लाख कमाइ
Posted by
purwanews
Published on
Tuesday, January 7, 2014
पोखरा- रामबजारका ५२ वर्षीय चित्रकार किरण रन्जित। ३७ वर्षअघिदेखि चित्र बनाउन थालेका रन्जितको चित्र बनाउनुबाहेक अरु कुनै पेसा छैन। दिनको आठदेखि १० घन्टा चित्र बनाउनमा तल्लीन हुन्छन्। सानो आकृतिको चित्र एकैदिनमा सक्छन् भने ठूलो आकारको दुईतीन दिनसम्म लाग्ने गर्छ।बनेका चित्र बजारमा बेच्छन्। बिक्रीबाट मासिक आम्दानी मासिक दुई लाख पुग्छ। 'दैनिक सातआठ हजार
कमाइ हुन्छ, व्यापारको हिसाबले राम्रै छ,' उनले सुनाए।
आफ्ना चित्र नेपाली र विदेशी दुवैले मन पराउने गरेकाले बिक्री हुने गरेको उनको अनुभव छ। त्यसमा पनि सुपथ मूल्य भएकैले आफ्ना चित्र बिक्ने गरेको उनको अनुभव छ। 'कतिपयले चित्रलाई हजारौं मूल्य तोक्ने गर्छन्, यस्तो भए चित्र बिक्री गर्न गाह्रो हुन्छ,' रन्जितले भने।
आफूले बनाएका चित्रमा यथार्थपरक तस्बिर उतारेकैले ग्राहकले मन पराएको उनको दाबी छ। 'गाउँघरका बस्तीमा पुगेर तस्बिर लिन्छु, यथार्थ चित्र कोर्छु त्यो नै बढी मन पराउँछन्,' उनले भने। आफू हिमालका गाउँ, पोखरानजिकका विभिन्न गाउँ डुलेर फर्केपछि ती गाउँका चित्र कोर्ने उनले सुनाए। 'अन्नपूर्ण बेसक्याम्पमा पुगेर चित्र उतारें, जुन चित्र बनाउँदा आनन्द लाग्यो,' उनले भने। आधुनिक चित्रभन्दा मानिसले दृश्यचित्र बढी मन पराउने गरेको अनुभव उनको छ।
चित्रकारले चित्र बनाइसकेपछि घरैमा भण्डार गर्नुभन्दा मूल्य तलमाथि गरे बिक्री भएरै छाड्ने उनी बताउँछन्। 'आफैंले कोरेको चित्रको आकृति हो, फेरि बनाउन सकिन्छ, किन जम्मा गरेर राख्ने?' चित्र बिक्री गर्ने अभ्यासले नै सफल हुन सकिने उनको सुझाव छ।
घरैमा बनाएका यी तस्बिर बेच्न उनले घरको भुइँतला, लेकसाइड र काठमाडौंमा बिक्रीकक्षमा पुर्यारउँछन्। यही पेसाको भरमा परिवार पाल्ने, तीन छोरीको शिक्षादीक्षा गरे। यही आम्दानीले रामबजारमा ठाँटिलो तीनतले घर पनि बनाएका छन्।
उनले चित्र बनाएर मात्र जीविका चलाउन नसक्ने देखेपछि सुरुका दिनमा आर्ट पसल खोलेर साइनबोर्ड बनाउँथे। सन् १९८४ मा वैदेशिक रोजगारीका लागि बहराइन गएका थिए। तर त्यहाँ आफू ठगिएको महसुस गरेपछि फर्के। 'आर्टमै काम दिने भनेर लगे, त्यहाँ अर्कै काम लगाए, पैसा पनि कम,' उनले भने। विदेशमा बगाउने पसिना र समय नेपालमै खर्चिन सके हरेक पेसामा सफल हुन सकिने उनको धारणा छ।
प्रतिक्रिया दिनुहोस् >>