३६ वर्षपछि संसार हेर्न पाए

लहान । जन्मजातै आँखा नदेख्ने हरदेनी–८, उदयपुरका शुक्लबहादुर कार्कीले ३६ वर्षपछि सोमबार संसार देख्न पाएका छन्। मोतियाविन्दुका कारण दुबै आँखाको ज्योति गुमाएका कार्कीको आइतबार सगरमाथा चौधरी आँखा अस्पताल लहानमा एउटा आँखाको सफल शल्यक्रिया भएपछि संसार देख्न पाएका हुन्।
शल्यक्रियापछि आँखाको पट्टि खोल्दा कार्कीले उज्यालो संसार देखाउने डाक्टर लीलाराज पुरीलाई धन्यवाद दिए। त्यसपछि उपचार गराउन अस्पताल ल्याइदिने मामा गौरवबहादुर देवकोटा र पत्नी गीतालाई नजिकबाट नियाल्दै भने, ‘आवाजले चिन्नु र देखेरै बोल्नुमा धेरै फरक हुँदो रहेछ।’
डाक्टरले चमत्कार गरिदिएको बताउँदै उनले भने, ‘अन्धो मानिसले पनि संसार हेर्न सक्दोरहेछ।’
पाँच सन्तानका बाबु कार्कीलाई मोतियाविन्दु भएको अस्पतालले जनाएको छ। अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा। लीलाराज पुरीले भने, ‘कार्कीको आँखामा देखिएको मोतियाविन्दु उनका तीन छोराछोरीमा पनि देखिएको छ।’ मोतियाविन्दुका कारण जन्मैदेखि उनका छोराहरु मेखबहादुर र भेषबहादुर तथा छोरी मन्दिरा अन्धोपनको सिकार थिए। बाबुसँगै उनीहरुको पनि एउटा आँखाको सफल शल्यक्रिया भएको छ।
५ वर्षीय भेषबहादुरले भने, ‘बुबा–आमा, दिदी–भाइ सबैलाई देख्ने पाएँ।’
कार्कीकी श्रीमती गीताले आफ्ना पति र छोराछोरीको आँखाको ज्योति फर्काइदिने डाक्टर भगवान भएको बताइन्। ‘नबोलेसम्म मलाई पनि चिन्न नसक्ने श्रीमान अहिले छयाङ्गै देख्नसक्ने भए, उनी भन्छिन्, ‘मेरालागि यो भन्दा खुसीको क्षण अरु हुनै सक्दैन।’
ज्योति फर्कने आस मारेर बसेका कार्की परिवारको उपचार अस्पतालले निःशुल्क गरिदिएको डा। पुरीले बताए।
कार्कीका बालबालिकामा देखिएको मोतियाविन्दु वंशाणुगत भएको उनले जानकारी दिए। ‘समयमै उपचार भए मोतियाविन्दुका कारण गुमेको ज्योति फर्काउन सकिन्छ, पुरीले भने।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>