विवादित प्रतिष्पर्धाको अर्को शृंखला सुरु
बारम्बार विवादित अनि पैसामा प्रशंसा बेचिने भन्दै प्रतिष्पर्धीहरुले नै आलोचना गरेको मोफसलको एउटा सुन्दरी प्रतिष्पर्धा मिस पूर्वाञ्चलको नयाँ संस्करणको तयारी थालिएको छ ।
पुर्वाञ्चलमा पछिल्लो समयमा सुरु गरिएका विभिन्न प्रतिष्पर्धाहरु न्युन लगानीमा हुने अनि खर्च धान्न तथा नाफा कमाउनकै लागि उपाधिको मोलतोल गरिने भन्दै आलोचित छन् । त्यस्तैमध्ये पर्ने मिस पूर्वाञ्चलको नयाँ संस्करणको तयारी आयोजकले सुरु गरेको छ ।
गतवर्ष मिस पूर्वाञ्चलमा पैसाको चलखेल भएको आरोप प्रतिष्पर्धीले लगाएका थिए । मिस पूर्वाञ्चलका विजेता तीन जनाबाहेक सबै विरोधमा उत्रिएर पत्रकार सम्मेलन नै गरे । उनीहरूले पैसाको चलखेल भएको आरोप लगाउँदै मिस पूर्वाञ्चलको उक्त तेस्रो संस्करणलाई प्रतियोगिताको नाममा कालो धब्बा भएकोसमेत भन्न भ्याए ।
असन्तुष्ट सुन्दरीहरूले प्रतियोगिताका निर्णायकको मात्र होइन, आयोजक बूढासुब्बा ट्रेनिङ सेन्टरको समेत उछित्तो काढे । सेन्टरले २० देखि २५ हजारको टिकट बिक्री गर्न लगाएको आरोपसमेत लगाए । आयोजकले मिस ट्यालेन्टलगायत विजेताहरूलाई उत्कृष्ट गिफ्ट ह्याम्परको साथमा केही रकमसमेतले पुरस्कृत गरेको थियो । तर, भित्र खाममा भने कागज मात्रै पाउँदा आयोजकले ठगेको उनीहरूको भनाइ छ ।
यता, प्रतियोगिताका इभेन्ट कोअर्डिनेटरले विजेतालाई पैसा दिने नभनिएको, प्रतिस्पर्धा निष्पक्ष भएको दाबी गरे । टिकट बेच्ने काम सामान्य भएको उनको दाबी थियो ।
पछिल्लो समय सुनसरीमा गायन, नृत्य तथा सुन्दरी प्रतियोगिताका आधा दर्जन बढी उपाधी शृंखला सुरु गरिएका छन् । न्युन बजेटमा सुरु गरिने यस्ता प्रतिष्पर्धाहरुमा आयोजकले प्रतिष्पर्धीबाटै रकम उठाउने गरेको र पैसाको प्रलोभनमा ताज तथा उपाधी बेच्ने गरेको आरोप लाग्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस् >>