काठमाडौ। अलग गोर्खाल्याण्डको मागगर्दै गरिएको आन्दोलन फेरी असफल भएको थाहा भएको छ। सो आन्दोलनको नेतृत्व गरेका गोरखा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले पश्चिम बंगाल सरकारसँग घुँडा टेकेको भन्दै गोर्खाहरुले आक्रोश ब्यक्त गर्न थालेका छन्। कोलकातामा मुख्यमन्त्री ममता व्यानर्जीसँग वार्ता गरेपछि गुरुङले गत साता पुरानै गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेसन (जीटीए) पदको सपथ लिएपछि गोरखाल्याण्डका समर्थहरु आक्रोशित भएका हुन। त्यसैगरी त्यस क्षेत्रमा अलग लिम्बुवान लगायतका जातीय राज्यको माग हुनथालेपछि नेपाली मूलका गोरखालीहरु बीचमा नै फुटको अवस्था सिर्जना भएको छ। पूर्बी नेपालमा लिम्बुवान र खुम्बुवान राज्यको माग गर्नेहरुले नै गोर्खाल्याण्ड आन्दोलनलाई फुटाइदिएको जानकारहरुको भनाई छ। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले पहाडमा समेत आफ्नो तृणमूल कांग्रेसको पहिलो पटक संगठन विस्तार गर्नु भएको छ। त्यहाँ लेप्चालाई विशेष अधिकारदिने व्यनर्जीको प्रंस्तावले गोर्खाल्याण्ड आन्दोलनलाई थप कमजोर बनाएको जानकारहरुको भनाई छ। विमल गुरुङले गत साता विहीबार कोलकाताको राजभवनमा मुख्यमन्त्री व्यानर्जीको उपस्थितिमा पश्चिम बंगालका राज्यपाल एकम नारायणनबाट जीटीए प्रमुखको सपथ लिनु भएको थियो। पहाडमा दौरा सुरुवाल अनिवार्य गर्ने अभियान चलाएका गुरुङले सुटमा सजिएर सपथ लिएको देखिन्थ्यो। व्यानर्जी आगामी जनवरी २० देखि २३ सम्म दार्जीलिङमै बस्ने कार्यक्रम पनि तय गरिएको छ। गोरामुमो खर्साङका सचिव दया देवानले गुरुङले सपथ लिएको २६ डिसेम्बर गोरखाहरुका लागि कालो दिन भएको बताउनु भएको छ। अब गोर्खाल्याण्ड आन्दोलन नयाँ ढंगले उठाउन तयारी थालिएको जानकारहरुले बताएका छन्।