करोडपति बाट रोडपति: शङ्कर र ऋचा
Posted by
purwanews
Published on
Thursday, December 26, 2013
काठमाडौ । आफ्नो क्षमता, दक्षता र हैसियतभन्दा ठूलो काम गर्न खोजियो वा त्यस्तो सपना देखियो भने खाल्डामा परिन्छ। कैयौँ उदाहरणले पनि यो कुराको पुष्टि भइसकेको छ। यता एउटा उदाहरण भने नेपाली चलचित्र क्षेत्रको जोडीमा पनि लागू भएको छ।विगतमा हैसियत र उपस्थिति हेर्दा चलचित्र निर्देशक शङ्कर घिमिरे र चलचित्र नायिका ऋचा घिमिरेको त्यति ठूलो हैसियत त थिएन। तर, यी दुई जब एक भए यिनीहरूको हैसियतले आकाश नै छोयो। चलचित्र ‘विष’मा भेट भएको यो जोडी त्यसपछि अर्को चलचित्र वीरताको चिनोसम्म आइपुग्दा त श्रीमान्–श्रीमती नै बन्न पुग्यो। प्रेम झाँगिँदै विवाहमा परिणत भएको यो जोडीको विवाहको पनि राष्ट्रिय पर्वजस्तै चर्चा हुन थाल्यो। नेपाली चलचित्रकर्मी सायदै त्यस्ता विवाहमा सहभागी भएका थिए होलान्। त्यस्तो विवाहको भोज दिए फाइभस्टार होटलमा शङ्कर र ऋचाले।
दुवैको छुट्टाछुट्टै गाडी मात्र भएन, काठमाडौंको महँगो स्थान गौरीघाटमा घरसमेत खरिद गरे यिनीहरूले। रातारात करोडपछि बनेको यो जोडीको उचालिएको आर्थिक अवस्था र हैसियतबारे चलचित्रकर्मीबीच गरमागरम चर्चाले निरन्तरता पाइनै रह्यो।
कुनै समय फाइभस्टार होटलमा छिर्न डराउने शङ्कर र ऋचाले विवाहको पार्टी लाखौँ खर्च गरेर दिएपछि उनीहरूको कमाइको स्रोतबारे गाइँगुइँ चलिनै रहेको समयमा यो कमाइको रहस्योद्घाटन अहिले क्रमशः खुल्दै आउन थालेको छ।
लुटको धन फुपूको श्राद्ध भनेजस्तै अरूको धन खर्च गर्न पाएपछि पैसाको माया कसलाई पो लाग्छ र? दुःख गरेर कमाएको भए पो खर्च गर्न माया लाग्छ। तर यिनीहरूले त अरूको धनमाथि रजाइँ गरेका रहेछन्।
करोडौँको ढुकुटी खेलाएर त्यसैको रकम आफ्नै निजी प्रयोगका लागि खर्च गर्ने गरेको कुरा अहिले पर्दाफास भएको छ। यही ढुकुटीका कारण यो जोडी अहिले मुलुकबाट पलायन भएको छ। ढुकुटीमा उठेको रकम चलचित्र निर्माण र निजी प्रयोगमा खर्च गर्न थालेपछि ढुकुटीमा तिर्नुपर्ने रकम यो जोडीसँग भएन। आउने स्रोत नभएपछि ढुकुटीको अरू किस्ता खानेले पैसा तिर्न बारम्बार ताकेता गर्दा पैसा उपलब्ध गराउन असमर्थ भएपछि गोप्य रूपमा यो जोडी विदेश हुइँकिएको तथ्य अहिले सार्वजनिक भएको छ। नैतिक रूपमा रकम तिर्ने हो भने करोडौँ रकम तिर्न बाँकी रहेको छ यिनीहरूको, तर नेपालमा बसेर त्यो रकम तिर्न असम्भव भएपछि दुवैले राम्रो उपाय विदेश छिर्ने सोच शङ्कर र ऋचाले गरेका छन्।
प्रतिक्रिया दिनुहोस् >>