कांग्रेस–एमाले निर्वाचन परिणामका आधारमा सहकार्य

काठमाडौं, नेपाली कांग्रेस र एमालेले संविधानसभा निर्वाचनमा प्राप्त परिणामका आधारमा आपसी समझदारीका साथ सहकार्य गर्ने भएका छन्। संविधानसभा निर्वाचन सम्पन्न भएपछि पहिलोपटक दुई दलबीच भएको औपचारिक बैठकले आपसी सहकार्य गर्दै आगामी राजनीतिक अभिभारा तथा चुनौतीलाई सम्पन्न गर्ने निर्णय गरेको छ।
बैठकमा सहभागी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन परिणामका आधारमा कांग्रेस र एमालेबीच सहकार्य गरी अघि बढ्ने निर्णय भएको जानकारी दिए। कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले हस्ताक्षर गरेको तीनबुँदे सहमतिपत्रमा भनिएको छ, संविधानसभा निर्वाचनमा प्राप्त परिणामलाई सम्मान गर्दै वर्तमान राजनीतिक अभिभारालाई सफलताका साथ पूरा गर्न आपसी समझदारीका साथ सहकार्य गर्दै अघि बढ्ने सहमति भयो।
सहमतिपत्रमा भनेझैं दुवै दलले अन्य राजनीतिक शक्तिलाई पनि सहमतिमा ल्याउन प्रयत्न गर्ने भएका छन्। दुवै दलले संविधानसभा निर्वाचन परिणामप्रति असन्तुष्ट हुँदै आएको एकीकृत नेकपा माओवादीलगायत सबै राजनीतिक दलसँग सहमतिका लागि वार्ता र संवाद तत्काल प्रारम्भ गर्ने निर्णय पनि गरेका छन्। एमाले नेता नेपालले एकीकृत नेकपा माओवादीसँग वार्ता गर्ने निर्णय भएको जानकारी दिए।
बैठकमा सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एकीकृत माओवादीसहितका राजनीतिक दलसँग दुईपक्षीय र त्रिपक्षीय वार्ता गर्ने सहमति भएको बताए। उनका अनुसार एकीकृत माओवादीसँग आइतबार बिहान लाजिम्पाटस्थित एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवासमा वार्ता हुने भएको छ। आइतबार बिहान सुरूमा कांग्रेसले एमाओवादीसँग वार्ता गर्ने र त्यसपछि एमालेले वार्ता गर्ने कार्यक्रम रहेको कांग्रेस नेता पूर्णबहादुर खड्काले जानकारी दिए। उनका अनुसार कांग्रेसले बिहान साढे ८ बजे वार्ता गरेलगत्तै एमालेले पनि बिहान १० बजे दाहाल निवासमै एमाओवादीसँग वार्ता गर्ने भएको छ।
एक–अर्काको चाहना र आकांक्षा बुझ्न सुरूमा द्विपक्षीय वार्ता हुन लागेको हो। द्विपक्षीय वार्तापछि मात्रै कांग्रेस–एमाले–माओवादीबीच त्रिपक्षीय वार्ता हुने भएको छ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>