कांग्रेसमा प्रधानमन्त्रीको जोडघटाउ सुरु

काठमाडौं, संविधानसभा निर्वाचनले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाएपछि पार्टीभित्र अबको प्रधानमन्त्री को बन्ने भन्नेमा जोडघटाउ सुरु भएको छ। कांग्रेसकै हाराहारी आएको एमालेले पनि निर्वाचन परिणामसँगै सत्ता राजनीतिको जोडघटाउ सुरु गरेकाले सरकार नेतृत्वको विषयमा राजनीतिक परिदृश्य स्पष्ट भइसकेको छैन।
कांग्रेस–एमालेले सरकार निर्माणमा मात्रै ध्यान केन्द्रित गर्न पनि पाएका छैनन्। तेस्रो शक्तिको रूपमा रहेको एकीकृत माओवादीले निर्वाचन परिणाममाथि नै प्रश्न उठाउँदै प्रक्रियामा सहभागी नहुने बताएपछि कांग्रेस–एमालेको ध्यान उसलाई संविधानसभामा कसरी ल्याउने भन्नेतर्फ मोडिएको छ। त्यस्तै, समानुपातिकतर्फ सभासद छनोटलगायतका आन्तरिक व्यवस्थापन गर्नुपर्ने चुनौती पनि दलहरूको छ। यसले पनि सरकार गठन प्रक्रियामा ढिलाइ भइरहेको छ। कांग्रेसभित्र सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल प्रधानमन्त्रीका आकांक्षी देखिएका छन्। यसअघि सत्ताको खासै आशक्ति नदेखाएका सभापति कोइराला यसपटक सरकार नेतृत्व गर्ने अवसर नछाड्ने पक्षमा छन्।
कोइराला निकटका नेताहरूले पनि उनलाई सरकारको नेतृत्व सम्हाल्न दबाबु दिइरहेका छन्। कोइराला आफैले भने सार्वजनिक रूपमा प्रधानमन्त्री बन्ने इच्छा देखाएका छैनन्। महामन्त्री एवं कोइरालानिकट नेता प्रकाशमान सिंहले सभापति कोइरालाले नै सरकारको नेतृत्व गर्नेु सार्वजनिक कार्यक्रममै बताउँदै आएका छन्।
कोइरालाले पार्टीको विधि र विधानअनुसार नेतृत्वको टुंगो लगाउने बताएका छन्। आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास गर्दा पार्टीमा विवाद नहुने कोइरालाको बुझाइ छ। विगतमा बाबुराम भट्टराई नेतृत्व सरकारको विकल्प खोज्ने क्रममा कांग्रेसले सभापति कोइरालालाई प्रधानमन्त्रीका लागि सर्वसम्मत उम्मेदवार बनाएको प्रसंग स्मरण गर्दै कोइरालाले नागरिकसँग भनेका थिए, अन्तिम समयमा मेरो नाम आउँदा विरोध कसले गर्‍यो र१ म सर्वसम्मत थिएँ। पछि पार्टीभित्रको कारण नभई बाह्य कारणले कोइराला प्रधानमन्त्री हुन सकेनन्। प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद अध्यक्ष बन्न पुगे। वरिष्ठ नेता देउवा निर्वाचन परिणामसँगै आन्तरिक समीकरण र जोडघटाउमा लागेका छन्। एक व्यक्ति एक पद हुनुपर्ने सभापति कोइरालाको यसअघिको धारणालाई देउवा पक्षले अस्त्रु बनाउने तयारी गरिरहेको छ। कोइरालाले पार्टी सञ्चालनको जिम्मेवारी अन्य नेतालाई नदिने बुझाइमा रहेको देउवा पक्षको जोड भने प्रधानमन्त्रीमा छ।
सभापति कोइराला अन्य नेतालाई कार्यवाहक सभापति दिने पक्षमा नरहेको जनाउँदै देउवा पक्षका एक नेताले भने, वरिष्ठ नेता देउवा पनि कार्यवाहक लिने पक्षमा हुनुहुन्न। देउवा सकेसम्म संसदीय दलको नेता बनेर प्रधानमन्त्री हुने दाउमा छन्। संसदीय दलको नेताका लागि बहुमत नपुग्ने अवस्थामा भने आफंले प्रधानमन्त्रीका लागि कोइरालाको नाम प्रस्ताव गरेर जाने विषयमा पनि आन्तरिक छलफल सुरु भएको देउवा पक्षीय एक नेताले जानकारी दिए। संसदीय दलको नेता पनि बन्न नसक्ने स्थितिमा सभापतिलाई असहयोग गरेको सन्देश प्रभावित हुने र आसन्न महाधिवेशनमा त्यसको नकारात्मक असर पर्न सक्ने आँकलन देउवा पक्षको छ। समानुपातिकबाट निर्वाचित सभासदको टुंगो लागेपछि मात्रै कुन बाटो लिने भन्ने निर्क्योल गर्ने पक्षमा देउवा समूह छ।
कार्यवाहक सभापति पाए वरिष्ठ नेता देउवाले प्रधानमन्त्रीको दाबी छाड्ने चर्चाले भने पौडेल रुष्ट छन्। पार्टी विधानबाहिर कुनै निर्णय हुन नसक्ने बताउँदै उपसभापतिलाई मात्र सभापतिको जिम्मेवारी दिन मिल्ने निकटसँग उनले बताउँदै आएका छन्। कांग्रेस विधानमा सभापतिको अनुपस्थितिमा उपसभापति नै कार्यवाहक सभापति बन्ने व्यवस्था छ। कोइरालानिकट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले पार्टी विधान र कानुनअनुसार सरकारको नेतृत्वसहित सबै विषय टुंगो लाग्ने दाबी गरे। नेतृत्वको विषयमा छलफल गर्न अझै समय बाँकी रहेको भन्दै उनले संविधानसभामा पद तथा गोपनीयताको सपथपछि केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टीबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने टुंगो लगाउने बताए।
केन्द्रीय सदस्य खाँणले जनादेशअनुसार सबै राजनीतिक दललाई समेटेर एक वर्षभित्र संविधान जारी गर्ने दायित्व कांग्रेसको काँधमा आएको जनाउँदै चुनौतीपूर्ण अवस्थाबाट मुलुकलाई निकास दिन सबैलाई सहमतिमा लिएर अघि बढ्नुपर्ने बताए। कांग्रेसको सफलतामा देश, जनता, लोकतन्त्र र शान्तिको भविष्य अडिएको छ, उनले भने, पार्टीभित्र नै धेरै किचलो र झमेला भयो भने अन्य पार्टीलाई समेटेर अघि बढ्न सकिँदैन।

जोडघटाउमा दुवै पक्ष

संविधानसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै सभापति कोइराला र वरिष्ठ नेता देउवा पक्ष आन्तरिक जोडघटाउमा जुटेका छन्। प्रत्यक्षतर्फ १ सय ५ सिट जितेको कांग्रेसले आफ्नो पक्षका कतिले जिते भन्ने हिसाब गर्न लागिपरेका थिए। प्रत्यक्षतर्फ आफ्नो तर्फकाले बढी जितेको दुवै पक्षको आन्तरिक मूल्यांकन छ।
सभापति कोइराला पक्षले प्रत्यक्षतर्फ आफ्ना ७० र देउवा पक्षका ३५ नेताले जितेको दाबी गरेको छ। तर देउवा पक्षले चुनाव जित्ने ५३ जना आफ्ना भएको दाबी गर्दै सभापति कोइराला पक्षबाट टिकट पाएका ५० ले मात्र जितेको जनाएको छ। संसदीय दलको निर्वाचनमा कोइराला पक्षबाट चुनाव जितेका ५० मध्ये केहीलाई आफ्नो पक्षमा तान्न सकिने उनीहरूको अड्कल छ।
संसदीय दलको नेताका लागि निर्वाचन हुँदा सभापति कोइरालाका लागि परिस्थिति प्रतिकूल बन्न सक्ने निकट नेताहरू नै बताउँछन्। देउवाको पक्षमा भन्दा पनि कोइरालासँग असन्तुष्ट पक्ष एकजुट हुन सक्ने ती नेताको विश्लेषण छ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>