समानुपातिक उम्मेदवारको छनोट स्थायी कमिटीले गर्ने

काठमाडौं, एमाले केन्द्रीय कमिटीले मापदण्डलाई खुकुलो पार्दै स्थायी कमिटीलाई समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवार छनोट गर्ने अधिकार दिएको छ।
बैठकका अध्यक्ष झलनाथ खनालले प्रस्तुत गरेको मापदण्डअनुसार केन्द्रीय तथा तल्लो निकायबाट आवश्यकताअनुसार उम्मेदवार छान्न सक्ने अधिकार स्थायी कमिटीलाई दिइएको हो। अध्यक्ष खनालले केन्द्रीय निकाय र भूगोलका कमिटीबाट आधा–आधा उम्मेदवार छान्ने गरी प्रस्ताव गरेका थिए। मापदण्डलाई केही खुकुलो पारेर स्थायी कमिटीलाई उम्मेदवारको नामावली तयार पार्ने अधिकार दिइएको छ, केन्द्रीय सदस्य ठाकुर गैरेले नागरिकसँग भने, उम्मेदवार छनोट गर्दा केन्द्रीय सदस्यहरूबाट आएको सुझावलाई समेत ध्यान दिने निर्णय भएको छ। अध्यक्षले प्रस्तुत गरेको मापदण्डमा बढी मत पाउने क्षेत्रबाट धेरै तथा विगतमा लाभको पदमा बस्न नपाएका, संविधानसभा निर्वाचनमा निर्वाह गरेको र संविधानसभाभित्र निर्वाह गर्न सक्ने भूमिकालाई ध्यान दिएर उम्मेदवार छान्ने उल्लेख छ।
उम्मेदवार छान्दा अञ्चलगत हिसाबले प्राप्त गरेको मत र सभासद संख्या पनि मिलाउने एमालेले जनाएको छ। कुनै पनि क्षेत्रमा प्रत्यक्षतर्फ जितेकोभन्दा फरक समुदायका व्यक्तिलाई प्राथमिकता र एउटै वर्गभित्रका विविधतालाई समेत उम्मेदवार छान्दा ध्यान दिइने भएको छ। बैठकमा केही सदस्यले भने स्थायी कमिटीले सर्वसम्मत रूपमा उम्मेदवार छान्न नसके केन्द्रीय कमिटीमा प्रस्तुत गर्नुपर्ने मागसमेत राखेका थिए।
२२ लाख ३९ हजारभन्दा बढी मत प्राप्त गरेको एमालेले समानुपातिकतर्फ ८४ स्थान प्राप्त गरेको छ। तीन दिनसम्म चलेको बैठकले क्षेत्रीय कमिटीलाई पुस पहिलो सातासम्ममा निर्वाचनको समीक्षा प्रतिवदेन पठाउन निर्देशन दिएको छ। संविधानसभा चुनावमा पार्टीका उम्मेदवारलाई हराउन अन्तर्घातसमेत भएको भन्दै केन्द्रीय सदस्यहरूले बैठकमा कुरा उठाएपछि केन्द्रमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको हो।
एकीकृत माओवादीले चुनावमा धाँधली भएको भन्दै छानबिन आयोग गठन नगरुन्जेलसम्म संविधानसभाको प्रक्रियामा सामेल नहुने चेतावनी दिँदै आएको छ। नेकपा–माओवादीले त निर्वाचनै बहिष्कार गरेको थियो। एमालेले संगठन सदृढीकरणका लागि एकमहिने अभियान सञ्चालन गर्ने योजना बनाउन स्थायी कमिटीलाई जिम्मा दिएको छ।
खनाल र श्रेष्ठबीच चर्काचर्की
केन्द्रीय कमिटी बैठकमा बुधबार अन्तर्घातको विषयलाई लिएर एमाले अध्यक्ष झलनाथ खनाल र केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठबीच चर्काचर्की भएको छ। बैठकमा केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष खनालले श्रेष्ठको आरोप खण्डन गर्ने क्रममा चर्काचर्की भएको हो । अध्यक्ष खनालले केन्द्रीय सदस्यहरूले के बोल्दैछु भन्ने कुराको ख्याल गर्नु पर्ने र शालीनता बिर्सन नहुने बताएपछि बैठकमा चर्काचर्की परेको एक केन्द्रीय नेताले बताए।
स्थायी कमिटीका सदस्य केपी शर्मा ओली भने बैठकमा ढिलो पुगेका थिए। श्रेष्ठ ओली निकट मानिन्छन्। बुधबार अधिकांश समय अन्तर्घातकै विषयले खाएको थियो, केन्द्रीय सदस्यले भने।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>