नोबेलमा अख्तियारको छापाः सुनील शर्माका अधिकांश कारोबार अबैध
Posted by
purwanews
Published on
Thursday, December 12, 2013
गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नोबेल अस्पताल विराटनगर र त्यसका सञ्चालक सुनील शर्मामाथि छानविन अघि बढाएको छ । दुई अर्बभन्दा बढी चलअचल सम्पत्तिका मालिक कहलिएका शर्मा र उनको अस्पतालमा छापा मारेर स्थलगत अनुसन्धान थालेको अख्तियारले जनाएको छ ।अख्तियार स्रोतका अनुसार नोबल अस्पतालको स्वास्थ्य सेवा कर, शिक्षा सेवा कर, आयकर तथा कुनै पनि आर्थिक कारोबार पारदर्शी छैनन् । नोबेलका आर्थिक गतिविधिमा राजश्व अनुसन्धान विभाग क्षेत्रीय कार्यालयले समेत छानविन गरिरहेको छ ।
अख्तियारको टोली बुधबार अस्पताल पुगेर स्थलगत अध्ययन गरेको थियो । ‘हामीले हेर्नुपर्ने ठाउँजति सबै हेरिरहेका छौं,’ टोली सदस्य एवम् इञ्जिनियर कृष्ण महर्जनले भने, ‘अनुसन्धान भइरहेकोले अहिले अरू कुरा बताउन मिल्दैन ।’ टोलीले बिहीबार पनि अनुसन्धान गर्दैछ ।
राजश्व अनुसन्धान विभागका अनुसार नोबलको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । जग्गा खरीद, घर निर्माण तथा सेयर बाँडफाँड, विद्यार्थी भर्ना शुल्कलाई केन्द्रित गरी विभागले अनुसन्धान थालेको थियो । नोबेल अस्पतालमा पाँच जना सञ्चालक छँदा उनीहरूलाई अपहरण गराएपछि सुनीलले अस्पताल आफ्नो स्वामित्वमा ल्याएका थिए । त्यसबेला गैरकानुनी तरिकाले सेयर बाँडफाँड भएको राजश्वको शंका छ । हामीले अनुसन्धान सक्नै लागेका छौं, केही दिनभित्र प्रतिवेदन आउनेछ,’ राजश्व अनुसन्धान विभाग क्षेत्रीय कार्यालय इटहरीका प्रमुख योगनाथ पौडेलले भने, ‘धेरै कुरा आएका छन् ।’ अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले अख्तियार टोली आएर केही कुरा बुझेको बताए ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनको एकेडेमीक योग्यताको प्रमाणबारे सोधपुछ गरेको थियो । आन्तरिक राजश्व विभागले राजश्व सम्पत्ति छानविन गरी उनीसँग वयान लिइसकेको छ । उनले चीनबाट एमबिबिएस पास गरेको सर्टिफिकेट देखाउने गरे पनि त्यो शंकास्पद भन्दै अख्तियारले छानबिन गरिरहेको छ । शर्मा चीन गएको ६ महिनामै फर्केर नेपाल र भारतका विद्यार्थी चीनका मेडिकल कलेजमा ओसार्ने ‘गिरोह’ बनेका थिए ।
सुनीलको सम्पत्ति कहाँ कतिः
अहिलेसम्म भेटिएअनुसार शर्माले आफ्नो सम्पत्ति श्रीमती र नातेदारका नाममा शेयरमार्फत छिराएका छन् । नोबेल अस्पतालबाहेक शर्माको काठमाडौंमा एउटा डेन्टल कलेज, मेडिकल इन्स्टिच्युट, घर र मोरङकै विराटनगर, बेलबारी र अमरदहमा जग्गा फेला परेको छ ।
काठमाडौं नयाँबजार नजिक शर्माको पिपुल्स डेन्टल कजेल सञ्चालनमा छ । उनी मुख्य कार्यकारी निर्देशक रहेको उक्त कलेजका सञ्चालक उनकै साँढु भाइ रोशन लुइँटेल हुन् । रोशनमार्फत उनले ९ करोड सेयर त्यो कलेजमा हालेका थिए ।
अहिले पूरै आफ्नो भइसक्दा त्यो कलेजमा २७ करोड रूपैयाँ बैंकहरूकै लगानी रहेको स्रोतले बतायो । रोशन झन्डै डेढ वर्षअघिसम्म नोबेलमै क्यासियर थिए । एक साधारण कर्मचारी रोशन सुनीलकी साली सुमित्रा बिहे गर्नेवित्तिकै करोडौंका ‘मालिक’ बनेर एक वर्षअघि काठमाडौं छिरेका छन् ।
सुनीलको पुतलीसडकमा अर्को भाइब्रेन्ट नाम गरेको मेडिकल इन्स्टिच्युट छ । निकै महंगो शुल्क उठाएर त्यहाँ एमबिबिएस पढ्ने विद्यार्थीलाई तयारी कक्षा दिइन्छ । यसमा करिब ५ करोड लगानी शर्माको रहेको दाबी स्रोतले गरेको छ । पत्नी इन्दिराका नाममा करिब तीन वर्षअघि सुनीलले भद्रकालीछेऊ १८ आनाको जग्गा र घर जोडेका छन् । त्यतिबेला दुई करोड रूपैयाँ परेको उक्त घरजग्गाको प्रचलित मूल्यांकन उच्च छ ।
शर्माकै अस्पतालको बेलबारीमा नोबेल सामुदायिक अस्पताल सञ्चालनमा छ । नोबेल अस्पतालकै उक्तरपट्टि उनको एक लाखभन्दा बढी प्रतिधुर पर्ने १३ कठ्ठा जमिन छ । त्यसैगरी, बेलबारीमै सुनीलले ५ बिगाहा जग्गा जोडेका छन् । अमरदह गाविसमा जय भट्टराईको ७ बिगाहा जमिन शर्माले आफ्नो नाममा बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस् >>