पूर्व इन्सपेक्टर जसले आफ्नै श्रीमतीको सम्पत्ति बेच्न किर्ते गरे
Posted by
purwanews
Published on
Wednesday, December 4, 2013
भक्तपुर - किर्ते दस्तखत गरेर श्रीमतीको सम्पत्ति बेचेको आरोपमा एक पूर्व प्रहरी निरीक्षकलाई भक्तपुर प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । काठमाडौं-३५ की नरमाया भण्डारीले आफ्नो नामको मध्यपुरथिमी-३ हनुमन्ते पुल नजिकको १४ आना २ पैसा पेवा जग्गा श्रीमान् देवेन्द्रबहादुर भण्डारीले बिक्री गरेको उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत भक्तपुरले मंगलबार उनीमाथि अनुसन्धान गर्न ३ दिनको म्याद थपेको छ ।०६५ साउन २६ मा मालपोत कार्यालय भक्तपुरमा नरमायाको उपस्थित र सहमति बिना मध्यपुर थिमी ३ को कित्ता नम्बर ६६६ जग्गा र त्यसमा बनेको घर अर्काको नाममा पास भएको उजुरीमा उल्लेख छ । नरमायाको नामको उक्त जग्गा चक्रवर्ती हबी एजुकेसन एकाडेमी प्रालिको नाममा दर्ता छ । 'नरमायाको नामबाट अर्कोमा लैजाँदा गरेको जग्गाधनीको सहीछाप किर्ते गरेको पुष्टि भएको छ,' भक्तपुर प्रहरी प्रमुख एसपी जगतमान श्रेष्ठले भने, 'अनुसन्धान भइरहेकोले थप विवरण खुल्न बाँकी छ ।' नरमाया देवेन्द्रकी जेठी श्रीमती हुन् । देवेन्द्र चक्रवर्ती नर्सिङ कलेजका फाउन्डर हुन् ।
आफ्नो जग्गा अरूको नाममा नामसारी हुँदा मालपोतमा उपस्थित नभएको नरमायाले उजुरीमा उल्लेख गरेकी छन । चक्रवर्तीलाई नामसारी गरेको कागजमा लगाएको ल्याप्चे र हस्ताक्षर परीक्षण गर्न प्रहरीले विधि विज्ञान प्रयोगशालामा पठाएको थियो । नरमायाको हस्ताक्षर, औंठा छाप र चक्रवर्तीलाई नामसारी गरेको हस्ताक्षर र औंठा छाप फरक परेको प्रयोगशालाबाट पुष्टि भएको छ । 'जग्गा-अर्काको नाममा नामसरी गर्दा नरमाया मालपोत पनि गएको देखिँदैन, हस्ताक्षर, औंठा-छाप परीक्षण गराउँदा पनि केही मिल्दैन,' श्रेष्ठले भने ।
प्रतिक्रिया दिनुहोस् >>