मेरीबास्सैका खड्काजी बंगुरको खोरमा
Posted by
purwanews
Published on
Sunday, December 1, 2013
हामीले चिन्ने गरेका हास्य कलाकार धुर्मुस अर्थात सीताराम कट्टेल यतिबेला बंगुरपालक किसान बन्नुभएको छ । काम गरेर खानुपर्छ भन्ने जाँगरिला मानिसहरुका लागि कलाकार सीतारामले उदाहरणीय कार्य गर्न थाल्नुभएको छ । कलाकार सीताराम कृषि पेशामा हात हालेको २ वर्ष भइसकेको छ । उहाँले ललितपुरको ठेँचुमा ०६८ असारदेखि बंगुरपालन व्यवसाय गर्दै आउनुभएको छ । नाताले साढु दाइ पर्ने मदन तिमिल्सिनासँग सहकार्य गरेर उहाँले ११ लाख रुपैयाँको लगानीबाट बंगुर पालन व्यवसाय शुरु गर्नुभएको हो ।उहाँले खुमलटारस्थित कृषि अनुसन्धान केन्द्रबाट ७ वटा बंगुरका पाठापाठी ल्याएर व्यवसाय शुरु गर्नुभएको हो । अहिले उहाँको फार्ममा लगानी बढेर ३२ लाख रुपैयाँ पुगिसकेको छ भने पाठापाठी र माउ गरी बंगुरको संख्या ७० पुगेको छ । छिट्टै सयवट पुर्याउने तयारीमा रहेको उहाँ बताउनुहुन्छ ।
‘नेपाल एग्रीकल्चर फार्म हाउस’ दर्ता गरेर बंगुर पाल्न थाल्नुभएका सिताराम उक्त व्यवसायबाट निकै प्रफुल्लित देखिनुहुन्छ । ‘मलाई कलाकारिता गर्दा जति सन्तुष्टी मिल्छ, त्यति सन्तुष्टी बंगुर पालन व्यवसायबाट पनि मिलेको छ’ कृषि पत्रकारको टोलीसँग शनिबार आफ्नै फार्ममा कुरा गर्दै उहाँले भन्नुभयो – ‘किसानको छोरा, हाम्रो असली पेशा भनेको कृषि नै हो ।’
उहाँका अनुसार उक्त फार्मबाट उत्पादित बंगुरका पाठापाठी ३५ भन्दा बढी जिल्लामा पुगेका छन् । उहाँहरुले गरिव र प्याकेजमा आउनेलाई सुलभ दरमा पाठा९पाठी उपलब्ध गराउने गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस् >>