डलरको तस्करीमा मनि एक्सचेन्जहरू: व्यवसायीको संलग्नता
Posted by
purwanews
Published on
Tuesday, December 17, 2013
भारतमा सुनको मूल्य अकासिएपछि तिब्बतको खासाबाट अवैध रूपमा नेपालको बाटो हुँदै भारततर्फ काँचो सुन पठाउन नेपालकै केही सुन व्यवसायीहरू सक्रिय भएका छन् । नेपाली व्यवसायीको संलग्नतामा खासाबाट भन्सार छली गरेको सुन नेपालको बाटो हुँदै भारतका विभिन्न सहरमा पुग्ने गरेको स्रोतले बताएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले गरेको एक अनुसन्धानले नेपाली व्यवसायीहरूको संलग्नतामा सुन तस्करी हुने गरेको रहस्य खुले पनि नेपाली र भारतीय व्यवसायीहरू पक्राउ पर्न सकेका छैनन् । पक्राउ पर्नेमा भरिया मात्रै छन्, अनुसन्धान विभागकै एक डीएसपीले बताए ।प्रहरीको अनुसन्धानमा सुन तस्करीका लागि आवश्यक पर्ने डलर पनि नेपालका विभिन्न मनी एक्सचेन्जहरूमार्फत पठाइने गरेको विभाग स्रोतले बताएको छ । स्रोतका अनुसार अमेरिकी डलरको पनि नेपालमै अवैध धन्दा हुन थालेको छ । यसबाट नेपालले अरबौ रुपैयाँको राजश्वसमेत गुमाउनुपरेको छ ।
प्राप्त पछिल्लो सूचनाअनुसार बाबुराम अर्यालले सञ्चालन गरेको क्षेत्रपाटीस्थित नबिल बैंकसँगैको अनात्तोलिया रेस्टुरेन्टको घरमा रहेको न्यू अन्नपूर्ण मनि, नन्दकुमार श्रेष्ठले सञ्चालन गरेको ज्याठाको सनराइज मनि एक्सचेन्ज, ठमेल ज्याठाकै जनक श्रेष्ठको वेलकम मनि एक्सचेन्ज, हरि सापकोटाको ईको मनि एक्सचेन्ज रहेका छन् । त्यसैगरी, मणिकुमार गुरुङले सञ्चालन गरेको अन्नपूर्ण मनि एक्सचेन्ज, अशोक नेपालले सञ्चालन गरेको डाँफे मनि एक्सचेन्ज, सन्तोष खनालको अल्पाइन मनि एक्सचेन्जले पनि अवैध रूपमा डलर सटही गरी चिनियाँ व्यापारीलाई पठाउने गरेको सूचना प्रहरी अनुसन्धान विभागमा पुगेको छ । यीबाहेक रवि श्रेष्ठले सञ्चालन गरेको ट्राभलेक्स मनि एक्सचेन्ज, लोटस मनि एक्सचेन्ज, ठमेल र त्रिदेव मनि एक्सचेन्जबाट पनि अवैध रूपमा विदेशी मुद्रा सटही हुने गरेको सूचना प्रहरीकोमा पुगेको छ ।
ठमेल, सुन्धारा, बसन्तपुर, गौशाला बौद्ध, नयाँ बसपार्क, मित्रनगरलगायतका मनि एक्सचेन्जहरूले दैनिक २५ देखि ३० लाख डलरसम्म वाणिज्य बैंकहरूको दरभन्दा ३ रुपैयाँ बढीमा अवैध रूपमा खरिद गर्ने गरेका छन् । ती डलर ठमेलको २५ वडा कार्यालय अगाडिको चाइनिज होटलको २०४ नम्बरको कोठामा बस्ने खवाङ नामका चाइनिज व्यापारीलाई, ठमेल ज्याठाको थाइसान होटलमा, ज्याठाकै ड्राइगन होटलमा, ठमेल गणेशमान रोडका फनेक्स, होराइजनलगायतका चाइनिज होटलमा बस्ने स्याउली, मौरी, लिबी, लोसुजुन नाम गरेका चाइनिज व्यापारीहरूलाई बेच्ने गरेको स्रोतले जनाएको छ ।
यी चाइनिज व्यापारीहरूले अवैध रूपमा लगेको डलर चाइनाको ल्हासा पुगेर त्यहाँबाट दैनिक ५० केजीको हाराहारीमा अवैध रूपमा सुन झिकाई न्युरोडको आरके ज्वेलर्स, रिद्धि–सिद्धि ज्वेलर्स, सूर्यलाल एन्ड सन्स ज्वेलर्समा बिक्री गर्ने गरेको स्रोतको दाबी छ । चाइनिज व्यापारीहरूले दैनिक ५० किलो सुन झिकाउन डलर नपुगेको खण्डमा सोबापतको रकम पशुपति प्लाजामा कार्यालय रहेको रामशरण तिमल्सिना, रञ्जना गल्लीमा कार्यालय भएका बाबुलाल, कमलपोखरीका पवन सरिया र न्युरोडको आरके ज्वेलर्सका आरके शाक्यले हुन्डीमार्फत रकम चाइना पठाइदिने गरेको बताइन्छ । आरके ज्वेलर्सका मालिक आरके शाक्य चाइनाबाट सुन तस्करी गर्ने सबैभन्दा ठूला व्यापारी हुन् । उनले सैनिक महिला संघ, प्रहरी महिला संघ जस्ता सुरक्षा निकायका कार्यक्रमलाई स्पोन्सर गरेर त्यसको नेतृत्वसँग हिमचिम बढाएका छन् । जसका कारण सुन र अमेरिकी डलर तस्करी गर्न उनलाई सजिलो भएको छ । केही समयअघि उनलाई चोरी सुनको केसमा पक्राउ गर्दा एमाले नेता माधवकुमार नेपालले पदको दुरुपयोग गरी छुटाएका थिए । छुटाउँदा उनका पीएहरूले ५० लाख रुपैयाँ लिएको शाक्यले बताएका थिए । उनको न्युरोड, दरबारमार्गलगायत काठमाडौंमा एक अर्बभन्दा बढी सम्पत्ति छ । सूर्यलाल एन्ड सन्स ज्वेलर्सका मालिक नेविलाल हुन् । मनि एक्सचेन्जहरूले दैनिक लाखौंलाख डलरको कारोबार गरे पनि मासिक ५० हजार डलरको पनि कारोबार नदेखाउने गरेको नेपाल राष्ट्र बैंक स्रोतले बतायो । राष्ट्र बैंकको प्रभावकारी अनुगमन नभएकै कारण यसरी डलर अवैध रूपमा बाहिरिएको हो ।
प्रतिक्रिया दिनुहोस् >>