स्थायी शिक्षकको नतिजा प्रकाशनमा लापरबाही
Posted by
purwanews
Published on
Wednesday, December 11, 2013
काठमाडौ, स्थायी शिक्षकको नतिजामा आयोगले पहिलो सूचनामा त्रुटि भएको भन्दै ३ दिनपछि मंसिर २२ मा अर्को सूचनामाजारी गरेको छ ।आयोगको लापरबाहीले पहिलो सूचनामा परेका १९ जना मानसिक तनावमा छन् । स्थायी शिक्षकका लागि १७ वर्षपछि खुलेको विज्ञापनमा लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा माध्यमिक तहको स्वास्थ्य तथा शारीरिक विषयको लिखित परीक्षाको नतिजा दुई पटक प्रकाशित गरेपछि आयोगको कामप्रति शंका उब्जिएको हो । आयोगले मुलुकभरिका लागि १३ हजार ५९ शिक्षकको विज्ञापन गरेको थियो । त्यसमा ४ लाख १३ हजारले परीक्षा दिएका थिए । माध्यमिक तहको नतिजा सार्वजनिक गरिसकेको छ ।
आर्थिक लेनदेनका आधारमा विद्यालय तहको स्थायी शिक्षकको नाम सार्वजनिक गरेको भन्दै शिक्षक सेवा आयोगको विरोध हुन थालेको छ । माध्यमिक तहको नतिजामा काठमाडौंको स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको अघिल्लो सार्वजनिक गरेको पहिलो सूचना गल्ती भएको भन्दै अर्को सूचना प्रकाशित गरेपछि आयोगको काम विवादमा पर्न थालेको हो । १९ मंसिरमा आयोगले पहिलो पटक १९ जनाको नाम सार्वजनिक गरेको थियो । तर, मंसिर २२ मा आयोगले प्रकाशित गरेको सूचनामा १८ जना अनुत्तीर्ण भएका छन् । पहिलो नतिजामा पास भनिएका दलित कोटाबाट सरस्वती रम्तेलबाहेक अन्यको नाम परेको छैन ।
पहिलो सूचनामा खुल्लामा ८, महिलामा ७ जना, आदिवासी जनजाति ४, मधेसी ४ र दलित १ जनाको नाम सार्वजनिक गरेको थियो ।दोस्रो सूचनामा खुलामा ७, महिलामा ५, आदिवासी ६, मधेसी ३, दलितमा ४ जना छन् । दोस्रो सुचना तीन दिनपछि आयोगले अर्को नतिजा सार्वजनिक गरेको थियो । सूचनामा भनिएको छ, स्वास्थ्य र शारीरिक विषयको नतिजा तीनवटा परीक्षा केन्द्रको एकीकृत गरी प्रकाशन गर्नुपर्नेमा प्राविधिक कारणवश एउटा केन्द्रका आधारमा नतिजा प्रकाशन हुन गएकाले तीनवटै केन्द्रलाई एकीकृत गरी देखाएको संशोधित नतिजा प्रकाशन गरिएको छ ।
मंसिर ११ को सूचनाले आयोगको काम कस्तो छ भन्ने थप प्रस्ट हुन्छ । मंसिर ११ को सूचनामा पास नभएका व्यक्ति १२ गतेको सूचना प्रकाशित गरी अघिल्लो दिनको सूचनामा नाम छुटेको भन्दै सच्याएको छ ।
चलखेल गरेर एउटै विषयमा पहिलो नतिजा रद्द गरेर दोस्रो नतिजा प्रकाशित गरेको भन्दै पीडित परीक्षार्थीले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन् ।
आयोगका प्रशासकीय प्रमुख खगेन्द्र नेपालले आयोगले गरेको काममा शंका नगर्न आग्रह गरे । तेब्बर कोड गरेर कापी परीक्षण गरेका छौं । कसको कुन कापी हो पत्ता नलाग्ने व्यवस्था गरेका थियौं, उनले भने, आर्थिक लेनदेन गरेर पास गरायो भन्ने त कल्पनासमेत गर्न सकिँदैन । निष्पक्ष काम भएकै कारण आयोगका कर्मचारीको आफन्तसमेत फेल भएका छन् । भनसुनको आधारमा हुने भए पास हुन्थे होला । काठमाडौंको स्वास्थ्य शारीरिकमा आयोगबाट प्राविधिक त्रुटि भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस् >>