एमाओवादीको माग उच्चस्तरीय दलहरूबीच छलफल

काठमाडौं, एकीकृत माओवादीसहित साना दलले राख्दै आएका निर्वाचनको धाँधली छानबिन गर्न आयोग गठन गर्नुपर्नेलगायत मागबारे उच्चस्तरीय राजनीतिक समितिमा छलफल हुने भएको छ। प्रमुख तीन दलबीच  भएको बैठकले उच्चस्तरीय राजनीतिक समितिको बैठक गरी त्यहीँ सबै समस्याको समाधान खोज्ने निर्णय गरेको छ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले छानबिन आयोग गठन हुने विषयमा दलहरूबीच छलफल चलिरहेको जानकारी दिए। यसअघि उच्चस्तरीय राजनीतिक समितिले संविधानसभा निर्वाचनको वातावरण बनाएकाले अहिले देखा परेको समस्या पनि त्यहीँ छलफल गर्ने सहमति दलहरूबीच भएको छ ।
दाहालले आफूले समितिको बैठक बोलाउन यसअघिदेखि नै माग गर्दै आएको र बैठकमा कांग्रेस–एमालेका नेता पनि सहमत भएको बताए। समितिको बैठक बुधबार बिहान ९ बजेका लागि बोलाइएको छ।एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले मंगलबारको वार्तामा एजेन्डाबारे खासै छलफल नभएको बताए। ुदलहरूले उठाउँदै आएका एजेन्डाका विषय समितिमा नै छलफल गर्ने सहमति भएको छ, उनले भने।
ओलीले समानुपातिकतर्फका सभासद सिफारिस गर्ने समयावधि एकपटक थप भए पनि लगातार थप्दै जान नसकिने बताए। निर्वाचन आयोगले एक साताका लागि समयावधि थप गरेको छ।
एमाओवादीसहितका साना दलले निर्वाचनमा धाँधली भएको दाबी गर्दै त्यसको छानबिन नभए समानुपातिक सूची नै नबुझाउने अडान राख्दै आएका छन्। कांग्रेस–एमालेले भने धाँधली भएको भए संविधानसभा अदालतमार्फत समाधान खोज्नुपर्ने जवाफ दिँदै आएका छन्।
निर्वाचनअघिका प्रमुख चार शक्ति (नेपाली कांग्रेस, एमाले, एमाओवादी र विजय गच्छदार नेतृत्वको मधेसी मोर्चा ) रहेको समितिमा निर्वाचनको ठीकअघि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको फोरम नेपाललाई पनि सहभागी गराइएको थियो।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>