दाँतसम्बन्धी जानकारी
Posted by
purwanews
Published on
Tuesday, December 31, 2013
शरीरका अरू अङ्गजस्तै दाँत पनि एक महत्वपूर्ण अङ्ग हो। शारीरिक स्वास्थ्यमा दाँतको महत्त्वपूर्ण भूमिका हुन्छ। दाँतको उचित स्याहार गरे सधैं स्वस्थ रहन सकिन्छ। दाँतसम्बन्धी चेतना कम भएकाले नेपालीहरूमा दाँतको समस्या धेरै देखिन्छ।
नेपालीहरूमा विशेष गरी दाँत कीराले खाने र गिजासम्बन्धी रोग बढी देखिन्छ। दाँत कीराले खाने मुख्य कारण दाँतको उचित सफाइ नगर्नु हो। त्यसैले दिनको दुईपटक फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्नुपर्छ। कीराले खाने क्रम शिशुहरूमा छिटो हुने हुँदा आमाबुबाले ब्रस गर्न मद्दत गर्नुपर्छ। दुधे दाँत कीराले खाएको खण्डमा पछि उम्रने स्थायी दाँत पनि कीराले खाने सम्भावना हुन्छ। त्यसैले साना शिशुहरूको कीराले खाएको दाँत झरिहाल्छ भनेर बस्नुहुँदैन। समयमै फिलिङ गराउनुपर्छ। यसो गरे पछि गएर दाँत स्वस्थ रहन्छ र दुख्ने समस्या पनि हुँदैन। यसैगरी सास गन्हाउने र ब्रस गर्दा गिजाबाट रगत आउने समस्या पनि धेरै देखिन्छ। यस्ता समस्याबाट बच्न वर्षको एकपटक दाँत सफा गराउनुपर्छ। दाँत सफा गर्दा गिजाभित्रको फोहोर मेसिनद्वारा निकालिन्छ र गिजा स्वस्थ रहन मद्दत पुग्छ। दाँत सफा गरेपछि गिजाको पकड राम्रो भएर दाँत हल्लिनबाट रोकिन्छ।
बालकदेखि वयस्कसम्म सबै उमेरका मानिस दाँतको समस्याबाट ग्रसित हुने हुँदा नियमित रूपमा प्रत्येक ६-६ महिनामा डेन्टिस्टकहाँ गएर दाँतको जाँच गराउनुपर्छ। यसले भविष्यमा हुने ठूलो र खर्चिलो रोगबाट जोगाउँछ।
दाँतसम्बन्धी केही भ्रम र वास्तविकता
भ्रम : दाँत सफा गरेपछि दाँत सिरिङ-सिरिङ भएर हल्लिने हुन्छ।
वास्तविकता : दाँत सफा गरेपछि गिजाभित्रको फोहोर मेसिनबाट निकालिने हुँदा गिजाको पकड राम्रो भएर दाँत हल्लिनबाट जोगिन्छ।
भ्रम : दाँत नदुखेसम्म भराउनु पर्दैन।
वास्तविकता : दाँत कीराले खानेबित्तिकै दुख्दैन। सुरुमा दाँतको बाहिरी तह इनामेलमा कीराले खान थाल्छ। त्यतिबेला खाना अड्किन्छ तर बिरामीलाई दुख्दैन। त्यसपछि पनि नभराए दाँतको दोस्रो तह डेन्टिनमा पुग्छ। त्यतिबेला बिरामीलाई तातो र चिसो वस्तु खाँदा दाँत सिरिङ-सिरिङ लाग्न थाल्छ। त्यसपछि पनि उपचार गराइएन भने दाँतको भित्री तह अथवा पल्प (दाँतको नशा) सम्म पुग्छ र दाँत दुख्न थाल्छ।
भ्रम : दाँत निकालेपछि आँखा कमजोर हुन्छ।
वास्तविकता : दाँत निकालेपछि आँखा कमजोर हुने कुरा गलत हो। दाँत र आँखामा कुनै सम्बन्ध छैन। दुवै अङ्गमा भिन्नाभिन्नै रक्त संचालन हुन्छ। दाँत निकाल्दा लोक एनेस्थेसियाले केही क्षण मात्र त्यो भाग लाटो बनाउँछ।
भ्रम : दुधे दाँत फिलिङ गराउनु आवश्यक छैन।
वास्तविकता : शिशुहरू ८ वर्षभन्दा मुनिका छन् भने दाँत फिलिङ गराउनुपर्छ। दुधे दाँत बिगि्रएको खण्डमा पछि आउने स्थायी दाँत पनि नराम्रो गरी उम्रन्छन्।
- डा. रीना शाक्य
प्रतिक्रिया दिनुहोस् >>
