नबिल बैंकको २ करोड ३० लाख लुटियो

धनगढी, नबिल बैंक महेन्द्रनगर शाखा कार्यालयबाट धनगढी ल्याइँदै गरेको २ करोड ३० लाख ६० हजार रुपैयाँ भीमदत्त पन्त राजमार्गअन्तर्गत कैलाली मालाखेती–३, चौकीडाँडामा लुटिएको छ। धनगढीस्थित नेपाल राष्ट्र बैंकमा जम्मा गर्न जिपमा ल्याइँदै गरेको पैसा ट्राफिक प्रहरीको भेषमा रहेको अज्ञात समूहले लुटेको हो।
नबिल बैंकका कर्मचारी मंगलबार बिहान ११ बजे म१च १४६ नम्बरको महिन्द्रा जिपमा पैसा बोकेर महेन्द्रनगरबाट हिँडेका थिए। ४२ किलोमिटर पूर्व अत्तरिया बजार नपुग्दै पुलछेउमा रहेका दुईजना ट्राफिक पोसाकधारीले सिट्ठी बजाएर गाडी रोक्न लगाएको जिपचालक दिलबहादुर चन्दले बताएका छन्। तिनीहरूले जिपभित्र पसेर कन्चटमा पेस्तोल तेर्स्याउँदै गाडी नियन्त्रणमा लिएका थिए।
हल्ला गरिस् भने उडाइदिन्छु भन्दै हामी सबैलाई नियन्त्रणमा लिए, अनि गाडी आफैं चलाएर दक्षिणतर्फ करिब डेढ किलोमिटरभित्र कच्ची बाटोमा पुर्‍याए, उनले सुनाए, त्यसपछि कच्चीबाटो छाडेर दायाँतर्फ करिब ३ सय मिटर टाढा महिला सामुदायिक वनको चौकीडाँडामा गाडी रोकेर सबै रकम लुटे।
जिपमा काठमाडौंबाट केही दिनअघि आएका अडिटर शुक्रराज भट्टराई, क्यासियर सत्यमान तामाङ, गार्ड गंगादत्त भट्ट र चालक चन्द थिए।
गाडी नियन्त्रण गरेर करिब ५०–६० मिटरभित्र लगेपछि अरू तीनजना गाडीमा चढेका अर्का कर्मचारी सत्यमान तामाङले बताए। उनका अनुसार लुटेराले सबैलाई टाउको घोप्टो गर्न लगाई हात पछाडि बाँधेर मुख र आँखामा पट्टी बाँधिदिएका थिए।धनगगढी हुँदै मंगलबारै काठमाडौं जान महेन्द्रनगरबाट त्यही गाडीमा आएका अडिटर भट्टराईले अकल्पनीय घटना भएको बताएका छन्।
लुटपाट घटनापछि डिआइजी नारायण बस्ताकोटी घटनास्थल पुगेका थिए। गाडीमा पाँचजना चढेका र अरू पाँच जनाले मोटरसाइकलमा गाडीको पिछा गरेका प्रत्यक्षदर्शीले बताएको बस्ताकोटीले सुनाए।
पूर्वयोजनाअनुसार लुटपाट भएको जनाउँदै उनले स्थानीय संलग्न हुनसक्ने अनुमान गरेका छन्।
उनले २५ देखि ४० वर्ष उमेर समूहका गहुँगोरो अनुहार भएका र सामान्य भेषभूषाका व्यक्ति घटनाम संलग्न रहेको उनको अनुमान छ। यसअघि त्यस ठाउँमा लुटपाटका घटना भए पनि यति ठूलो परिमाणमा रकम लुटिएको पहिलो घटना हो, उनले भने, पर्याप्त सुरक्षा व्यवस्था नअपनाउँदा घटना भएको हो।
प्रहरीले केही शंकास्पद व्यक्तिलाई पक्राउ गरेर सोधपुछ गर्न थालेको छ। जिपमा रहेका चारै जनालाई अनुसन्धानका लागि अत्तरिया इलाका प्रहरी कार्यालयमा राखिएको कैलालीका निमित्त प्रमु जिल्ला अधिकारी उदयबहादुर सिंहले जानकारी दिए।
घटनापछि सशस्त्र प्रहरी र जनपद प्रहरी परिचालन गरेर खोजतलास भइरहेको डिआईजी बस्ताकोटीले बताए। ड्युटीमा रहेका बाहेक सबै प्रहरी परिचालन गरिएको उनले बताए। कर्मचारीसँग रहेका तीन थान मोबाइल पनि लुटेराले लगेका छन्।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>