संविधानसभा बैठकका लागि संसद् सचिवालय तयारी
Posted by
purwanews
Published on
Tuesday, December 17, 2013
व्यवस्थापिका– संसद् सचिवालयले संविधानसभाको बैठक तत्कालै बोलाए पनि त्यसलाई व्यवस्थित रुपले सञ्चालन गर्न सक्ने गरी पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ। संविधानसभाको निर्वाचन सम्पन्न भइसकेपछि बैठक सञ्चालन गर्नुपर्ने पाटो र पक्षलाई उच्च प्राथमिकता दिएर तयारी गरिएको संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए।विगतमा भएगरेका कामको समीक्षा, संविधानसभा र व्यवस्थापिका–संसद् नियमावलीको अध्ययन, विश्लेषण र कमीकमजोरीलाई समीक्षा गरिनुका साथै भौतिक पूर्वाधारको अवस्था, आवश्यकता, जनशक्तिको सक्षमता र सहयोगात्मक भूमिका आदिलाई लेखाजोखा गरेर सचिवालयले यस पटकको बैठकको तयारी गरेको छ।
मूल बैठक सञ्चालनकक्षमा पुराना भएर बिग्रिएका ८० वटा माइक केही दिनभित्रै फेर्ने बाहेकका अधिकांश तयारीका काम पूरा भएको प्रवक्ता शर्माले जानकारी दिए।
विगतमा संसदीय दललाई उपलब्ध गराइँदै आएको भौतिक पूर्वाधार लगायतका सुविधाको अध्ययन गरेर आजको आवश्यकताअनुसार परिमार्जन गर्ने कार्यसमेत सचिवालयले गरिरहेको छ। सचिवालयले आफ्नो मातहत रहेभएका भौतिक संरचनालाई कार्यालय सञ्चालनका लागि व्यवस्थापन गर्नुका साथै नपुगका लागि नजिकमा रहेका मन्त्रालयका केही कोठा प्रयोगका लागि सरकारलाई पत्राचार गरिसकेको छ।
भौतिक पूर्वाधारको कमीले व्यवस्थापिका–संसद् र संविधानसभा समितिका कतिपय सभापतिलाई एउटै कोठामा व्यवस्थापन गर्दा देखिएको अप्ठेरोपना र अनुपयुक्ततालाई दृष्टिगत गरी सचिवालयले यसपटक त्यसलाई परिमार्जन गरेको छ।
नयाँ सविधानसभाले अघिल्लो संविधानसभाका कामकारबाहीलाई स्वामित्व ग्रहण गरेर अघि गएको खण्डमा समितिको कामको बोझ कम हुने र भइरहेको जनशक्तिबाटै सबै कामको जिम्मेवारी पूरा गर्न सकिने सचिवालयको ठहर छ। अन्यथा बैठकको प्रारम्भदेखि नै जनशक्ति बढाउनुपर्छ भन्ने निष्कर्षमा सचिवालय पुगेको छ।
सचिवालयले तयारीको क्रममा आवश्यक देखिएको र नेपाल सरकारले उपलब्ध गराएको बजेटको सीमाभित्र रहेर संविधानसभा अध्यक्ष र उपाध्यक्षका लागि नयाँ गाडी खरिदका लागि समेत बोलपत्र आह्वान गरिसकेको छ।
अघिल्लो संविधानसभाको बैठक सञ्चालनको अनुभवसमेत सँगालिसकेको आधारमा राजनीतिक दलहरूबीच सहमति भई तत्कालै संविधानसभाको बैठक बसे पनि त्यसलाई सुव्यवस्थित ढङ्गले सञ्चालनका लागि व्यवस्थापिका–संसद् सचिवालय पूर्ण तयारी अवस्थामा रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस् >>