खानपन सम्बन्धी निर्देशन :

 जीवनशैलीसँग सम्बन्धित स्वास्थ्य समस्यालाई नियन्त्रण एवम् न्यूनीकरण गर्ने उद्देश्यले खानपिनसम्बन्धी निर्देशनहरु :–
» चिल्लो पदार्थको कम प्रयोग र स्वस्थ चिल्लो पदार्थको छनोट गर्नु :
शरीरमा चिल्लो पदार्थको सहयोगले मात्र भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र ‘के’ राम्ररी शोषण हुन सक्छ । तर तेल तथा कुनै पनि प्रकारका चिल्लो पदार्थको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ । 
स्वास्थ्य समस्यामा चिल्लो पदार्थको प्रकार र यसको परिमाणले प्रत्यक्ष प्रभाव पार्ने हुनाले भोजनमा यसको प्रेयोग गर्दा व्यक्तिको स्वास्थ्यस्थितिलाई ध्यानमा राख्नुपर्छ । दैनिक कुल क्यालोरीको करिब २५–३० प्रतिशत शक्ति चिल्लो पदार्थबाट प्राप्त हुने किसिमले भोजनको व्यवस्था गर्नुपर्छ ।
साधारणतया घिउ, बटर, मासुको बोसो आदि साधारण कोठाको तापक्रममा पनि दोषयुक्त अवस्थामा रहन्छन्, त्यस्ता चिल्लो पदार्थको प्रयोग भोजनमा नगर्दा बेस हुन्छ । यसको सट्टा मकै, भटमास, सूर्यमुखी फूलको तेल ठीक मात्रामा प्रयोग गर्दा रतगमा खराब चिल्लोको मात्रा कम गर्नुको साथै कोलेस्टेरोलको परिमाणलाई पनि कम गर्न मद्दत पुग्छ ।
 » नुनको उपभोग कम गर्नु :
कतिपय खाद्यपरिकार सुरक्षित राख्न नुनलाई रासायनिक खाद्य संरक्षकको रुपमा प्रयोग गरिन्छ । तर हाल देखा परेको समस्या विशेषतः उच्च रक्तचाप, मधुमेह, मुटु तथा मृगौलासम्बन्धी समस्यामा नुन तथा नुनिलो खाद्यपदार्थ एवम् सोडियमयुक्त पदार्थको प्रयोग सकेसम्म कम गर्न जोड दिइएको छ ।
खाने नुन सोडियम र क्लोराइडको मिश्रण हो । यसमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड तत्त्व रहेको हुन्छ । ठीक मात्राको सोडियमले शरीरभित्र तरल पदार्थ सन्तुलन राख्ने, रक्तचाप ठीक राख्ने, मुटुसहित अन्य भागका मांसपेशीको कार्य ठीक राख्ने काम गर्छ । दैनिक खानामा सोडियमको मात्रा कम गर्न नुन र सोडियमयुक्त खाद्यपदार्थको प्रयोग कम गर्नुपर्छ । नुनको सट्टा तुलसी, लसुन, खुर्सानी, धनियाँजस्ता हर्ब प्रयोग गर्दा सोडियमको मात्रा कम हुनुका साथै स्वादमा पनि निखारता आउँछ । यसबाहेक यी हर्बहरुले रक्तचापमा नियन्त्रण ल्याउनुका साथै यसबाट हुन सक्ने मुटुको समस्यालाई समेत कम गर्न मद्दत पुग्छ ।
» चिनीयुक्त पदार्थको प्रयोग कम गर्नु :
चिनी अर्थात् सुक्रोज कार्बोहाइड्रेटको एक प्रकार भएकाले यसले शक्ति दिन्छ । तर यसको बढ्दो प्रयोगबाट थप जटिल समस्या सृजित हुन सक्ने हुनाले साधारण स्वास्थ्य अवस्थामा पनि चिनी र यसबाट बनेका खाद्यपदार्थको उपभोग कम गर्नुपर्छ । मस्तिष्क कार्यका लागि थोरै मात्रामा चिनी आवश्यक पर्छ । यसबाट अन्य पौष्टिक तत्त्व प्राप्त नहुने हुँदा त्यस्ता पौष्टिक तत्त्वको अभाव हुन सक्ने, शरीरको तौल बढाउने, मधुमेहको सम्भावनालाई बढाउनेजस्ता स्वास्थ्य समस्या उन्पन्न हुन सक्छ । चिनी, मह, जेली, ब्राउन सुगर, सिरप आदि चिनीयुक्त खाद्यपदार्थ हुन् र एक चिया चम्चा यस्ता खाद्यपदार्थले पनि प्रशस्त क्यालोरी दिने हुन्छ । चिनी र चिनीयुक्त खाद्यपदार्थले एकातिर भोजनमा क्यालोरीको मात्रा बढाउँछ भने अर्कोतिर शरीरमा छिट्टै पाचन तथा शोषण हुने भएकाले तुरुन्तै भोक लाग्ने हुन्छ । यसले गर्दा रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी हुने, खानाबाट प्राप्त हुने ग्लुकोज पर्याप्त अक्सिडेसन हुन नसकी विभिन्नि प्रक्रियाबाट शरीरमा चिल्लो पदार्थको रुपमा जम्मा हुने, तुरुन्तै भोक लाग्ने हुनाले छिन्–छिन्मा खाइरहनुपर्ने हुँदा शरीरको तौल बढ्ने हुन्छ । भोजनको व्यवस्था गर्दा चिनी कम भएका खाद्यपदार्थको छनोट गर्ने र पकाउने विधिमा ध्यान दिनुपर्छ ।
» शरीरको तौल ठीक राख्नु :
बढी तौल र मोटोपना हाल वयष्कमा देखिएको एक प्रमुख पोषणसम्बन्धी स्वास्थ्य समस्या हो । आवश्यकभन्दा बढी शरीरको तौल हुनु मुटुको रोग, मधुमेह, उच्चरक्तचापजस्ता जीवनशैलीसँग सम्बन्धित स्वास्थ्य समस्याका प्रमुख कारण हुन् । विशेषतः शरीरको तौल ठीक राख्न खानपिन तथा जीवनशैलीमा परिमार्जन गर्नुपर्छ । शरीरको तौल ठीक राख्न सकेमा उच्च रक्तचाप, मुटुको रोग, कोलेस्टेरोल, ट्राइग्लिसिराइड, मधुमेह, अस्टियोपोरोसिसजस्ता समस्या न्यून गर्न सकिन्छ । 
 दैनिक सन्तुलित खाना खाने, हरेक पटकको खाना समयमै खाने, खानामा क्यालोरी दिने खाद्यपदार्थको समावेश कम गर्ने, स्वस्थकर चिल्लो पदार्थ ठीक परिमाणमा मात्र प्रयोग गर्ने, प्रशस्त पानी पिउने, भोजनमा प्रशस्त ताजा सागसब्जी र ताजा फलफूल ठिक्क परिमाणमा समावेश गर्ने, तयारी खाद्यपदार्थ सकेसम्म परहेज गर्नेजस्ता नियम पालना गर्न सकेमा शरीरको तौल ठीक राख्न सकिन्छ । विशेषशतः शरीरले खाद्यस्रोतबाट प्राप्त हुने क्यालोरी र शरीरले खर्च गर्ने क्यालोरीबीच सन्तुलन भएमा शरीरको तौल ठीक रहन्छ ।
» शारीरिक व्यायाम गर्नु :
जीवनशैलीसम्बन्धी स्वास्थ्य समस्या नियन्त्रणमा शारीरिक व्यायामले पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । दैनिक करिब ३० मिनेट मध्यम खालको शारीरिक कसरत गर्न सकेमा शरीरको तौल ठीक राख्नुको साथै मुटुसम्बन्धी रोग, मधुमेह, उच्चरक्तचाप, पक्षघात, पित्तको पत्थर, श्वास–प्रश्वास, गाउट आदिको समस्या कम गर्ने कुरा अध्ययनले देखाएको छ ।
उचित व्यायामले मांसपेशीको तन्तु गठिलो बनाउँछ भने चिल्लोको तन्तु कम गर्न मद्दत पुर्याउँछ । अक्सिजन आवश्यक पर्ने व्यायाम जस्तै– दौडने, पौडी खैल्ने, डोरी खेल्ने, साइकल चलाउने आदिमा बढी अक्सिजन आवश्यक पर्ने र मुटु तथा फोक्सोको कार्यलाई यस्ता व्यायामले तीव्र पार्ने हुन्छ । यस प्रकारको व्यायामले मुटुको कार्य ठीक राख्न, रक्तचाप कम गर्न, राम्रो कोलेस्टेरोल बढाउन तथा खराब कालेस्टेरोल घटाउन, शरीरमा जम्मा भएको बासो घटाउन, रगतमा चिनीको परिमाण ठीक राख्न मद्दत पुर्याउँछ । यस्तै अक्सिजन कम आवश्यक पर्ने व्यायाम जस्तै– पुसअप, पेट भित्र–बाहिर चलाउने, वेट लिफ्टिङ आदिले मांसपेशी मजबुत र गठिलो राख्नुका साथै क्यालोरीको जलनक्रियामा समेत मद्दत पुर्याउँछ ।
» मद्यपान नियन्त्रण र धूमपान परहेज गर्नु :
मद्यपान र धूमपान दुवै स्वास्थ्यको लागि हानिकारक हुन्छ । यसले क्यान्सर, मुटुरोग, फोक्सोको खराबी, उच्च रक्तचाप, मधुमेह, श्वास–प्रश्वाससम्बन्धी संक्रमणको समस्या ल्याउन सक्छ । अल्कोहलको सेवन लामो समय र धेरै परिमाणमा गर्नाले कलेजो तथा अन्य अंगहरुलाई प्रभाव पार्न सक्छ । गर्भवती महिलाले यस प्रकारको लतबाट टाढै रहँदा बेस हुन्छ । यसको सेवनबाट आफ्नो स्वास्थ्यमा मात्र असर नपारी गर्भमा रहेको शिशुलाई समेत नकारात्मक प्रभाव पार्छ । अर्थात् कम तौलको शिशु जन्मने, जन्मेको शिशुमा शारीरिक–मानसिक विकृति हुने, सिक्न सक्ने शक्तिको कमी हुनेजस्ता समस्या आउन सक्छ ।
यसप्रकारका जीवनशैलीसम्बन्धी खानपिन निर्देशनहरु दैनिक जीवनमा अवलम्बन गर्न सकेमा लामो समय स्वस्थकर जीवन व्यतीत गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>