पोलियो थोपा खुवाउने अभियान सुरु
Posted by
purwanews
Published on
Saturday, December 21, 2013
पोलियो थोपा खुवाउने अभियान आज देखि सुरु भएको छ । पोलियो थोपा खुवाउन जाऔं पोलियो रोग मुक्त समाज बनाऊँ जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई पोलियो थोपा खुवाउने अभियानको ध्येय रहेको छ। यसका लागि मन्त्रालयअन्तर्गतको बालस्वास्थ्य महाशाखाले सबै तयारी पूरा गरेको जानकारी दिएको छ।पाँच वर्षमुनिका ४२ लाख २६ हजार ९९६ बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ। गाविस र नगरपालिकाका प्रत्येक वडामा कम्तीमा दुईवटा खोप केन्द्र सञ्चालन हुने छन्। साथै बसपार्क, इँटाभट्टा, गिटीकुट्ने स्थान, सीमा क्षेत्र र घना बस्तीमा पनि खोपटोली परिचालन हुने महाशाखाले तयारी गरेको छ।
एउटा खोप केन्द्रमा दुईजना स्वयम्सेवक हुनेछन्। एकजना महिला स्वयम्सेविका र अर्को विगतमा पोलियो थोपा खुवाएका स्थानीय शिक्षक वा क्लबका स्वयम्सेवक रहने व्यवस्था गरिएको छ। यसरी ४० हजार ४४७ खोप केन्द्रमा ८० हजार ९४८ स्वयम्सेवक परिचालन हुनेछन्।
केही करणवस पहिलो दिन पोलियो थोपा खुवाउन छुटेका बालबालिकालाई दोस्रो दिन अनिवार्य रुपमा पोलियो थोपा खुवाउनुपर्ने व्यवस्था मिलाइएको महाशाखाका प्रमुख डा उप्रेतीले जानकारी दिनुभयो। यसका लागि परिचालन भएका स्वयम्सेवकले आफ्ना वडाका प्रत्येक घरघरमा गई बालबालिकाका अभिभावकलाई भेट गर्नुपर्नेछ। साथै खोपको अभिलेख तथा खोप लिएको चिह्न लगाउनुपर्ने छ।
बालबालिकालाई पोलियो थोपा खुवाउने अभियानका लागि मन्त्रालयलाई विश्व स्वास्थ्य संगठन, युनिसेफ, रोटरी इन्टरनेसनल, लाइन्सक्लब इन्टरनेसनल र नेपाल रेडक्रस सोसाइटीले सहयोग गरिराखेका छन्। अभियानका लागि रु २९ करोड खर्च हुने महाशाखाले जनाएको छ।
नेपालमा सन् २०१० देखि पोलियोका रोगी देखा परेका छैनन्। लगातार तीन वर्षसम्म पोलियो रोगी देखा नपरेमा अर्को वर्ष पोलियो शून्य प्रमाणीकरण भएको देशका रुपमा विश्वस्वास्थ्य संगठनले प्रमाणीकरण गर्ने प्रचलन रहेको छ।सन् २०१४ को फ्रेब्रुअरी महिनामा नेपाल पोलियो शून्य प्रमाणित हुने बताइएको छ।
बालबालिकालाई पोलियो थोपा खुवाउने अभियानमा सहयोग गर्न मन्त्रालयले संबद्ध सवै पक्षसँग आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस् >>