मधेसी नेता हारे, पनि पार्टी हारेनन्
Posted by
purwanews
Published on
Sunday, December 8, 2013
संविधानसभाको दोस्रो निर्वाचनको अन्तिम परिणाममा मधेसी पार्टीहरूले नराम्रो हार बेहोरे पनि समानुपातिकतर्फ उनीहरूले अघिल्लो चुनावमा पाएकै मत कायमै छ ।पहिलो संविधानसभामा ४ वटा मात्र मधेसी पार्टीहरू थिए । यी चार पार्टी (मधेसी जनअधिकार फोरम–नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र नेपाल सद्भावना पार्टी–आनन्दीदेवी) ले जम्मा खसेको मतको ११–
५५ प्रतिशत मतका आधारमा समानुपातिक तर्फ उनीहरूले ४० सिट पाएका थिए ।
यसपालीको संविधानसभामा मधेसी दलहरूको संख्या बढेको छ । समानुपातिक तर्फ १० वटा मधेसी पार्टीहले संविधानसभामा सिट सुरक्षित गरेका छन् । यी दस पार्टीको समानुपातिक तर्फको सिट संख्या यसपाली पनि ४० नै छ ,यी दस पार्टीले यसपाली समानुपातिक तर्फ १० लाख ९० हजार ६ सय ९५ मत ल्याए । यो समानुपातिकतर्फ सदर मतको ११–५२ प्रतिशत हो ।
गत संविधान सभामा प्रत्यक्षतर्फ ४३ सिट जितेका मधेसी पार्टीहरूले यसपाली १२ सिटमा खुम्चिएका छन् । त्यसमाथि पनि मधेसी पार्टीका थुप्रै ठूला नेताहरूले नै चुनाव हारेका छन् । समानुपातिकतर्फको मत कायम रहदाँ पनि प्रत्यक्षतर्फ मधेसी पार्टीका उम्मेदवारले हार्नुका पछाडि धेरै कारण हुनसक्छन् ।
नेताहरू आफ्नै स्वार्थमा डुबेको, भ्रष्ट भएको र मधेस र मतदातालाई भुलेको प्रशस्तै गुनासा उनीहरूले गरेका थिए । मतदाताको असन्तुष्टीनै प्रत्यक्षतर्फ मधेसी नेताहरूले हार्नुको प्रमुख कारण हुनसक्छ ।
पार्टी विभाजनले एकातर्फ मतदातमा नकारात्मक धारणा बनायो भने अर्कोतर्फ मधेसी उम्मेदवारहरू बीच नै मत विभाजन गरिदियो ।
समानुपातिकतर्फ मधेसी पार्टीहरूको मत कायम रहनुमा मधेस मुद्दाका अलावा जातीयताको ‘फ्याक्टर’ भने यसपाली महत्वपूर्ण देखिएको छ ।
समानुपातिक तर्फ यसपाली मत भने गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम–लोकतान्त्रिकले अन्य मधेसी पार्टीको भन्दा धेरै पायो । फोरम लोकतान्त्रिकले २ लाख ७४ हजार ९ सय ८७ मत ल्याउदा उपेन्द्र यादवको फोरम नेपालले २ लाख १४ हजार ९ सय १९ मत मात्र ल्यायो ।
लगभग ७ प्रतिशत जनसंख्या रहेको थारू समुदायको मत पाएर नै फोरम लोकतान्त्रिक समानुपातिकतर्फ मधेसीमध्ये सबैभन्दा ठूलो पार्टी बन्यो । त्यस्तै लगभग ४ प्रतिशत जनसंख्या रहेको यादवहरूको मत पाएर नै उपेन्द्र यादवले नेतृत्व गरेको फोरम–नेपाल मधेसी पार्टीमध्ये समानुपातिक तर्फ दोस्रो धेरै मत पाउने पार्टी भएको छ ।
प्रतिक्रिया दिनुहोस् >>