पुसको तेस्रो सातादेखि रेल्वे विस्तार कार्य प्रारम्भ
Posted by
purwanews
Published on
Monday, December 2, 2013
निर्माण सामग्री समयमै नेपाल ल्याइए पुसको तेस्रो सातादेखि रेल्वे विस्तार कार्य प्रारम्भ हुने भएको छ।सीमासित जोडिएको धनुषाको इनर्वा गाविसबाट रेल्वे विस्तार कार्य सुरु हुने बताइएको छ।
सुरुमा माटो पुर्ने र पुल निर्माण कार्य गरिने छ। गत असोज महिनामा एक भारतीय निर्माण कम्पनीले ठेक्का लिएपछि काम सुरु हुने सम्भावना बढेको छ।
यसअघि भारतीय निर्माण कम्पनीले ठेक्का लिन नरुचाएपछि पटक –पटक टेन्डर गर्नुपरेको थियो।
दुई पटकको सर्वे पूरा भइसकेको छ भने मुआब्जा वितरण कार्य पनि धनुषामा ९० प्रतिशत पूरा भइसकेको जनकपुर–जयनगर बर्दिवास ब्रोडगेज रेल्वे निर्माण साइट
जनकपुरका प्रमुख टेकराज बोहराले बताए।काम सुरु हुन नसकेका कारण मुआब्जा कार्य पूरा हुन नसकेको बताउँदै उनले, काम सुरु भएलगत्तै मुआब्जा कार्य पूरा गरिने बताए।
बोहराका अनुसार सरकारले भारतीय ठेकेदारलाई निर्माण सामग्री ल्याउन भन्सार छुट गराउन सहयोग गरे पुस तेस्रो सातादेखि काम सुरु हुन्छ।
ठेक्काको काम पूरा भइसकेको र निर्माण कार्यमा प्रयोग गरिने निर्माण सामग्री नेपाल ल्याउन भन्सार छुटका लागि अर्थ मन्त्रालयमा पत्र पठाइएको छ।
भन्सार छुट पत्र प्राप्त भएको केही दिनभित्रै सामान ल्याएर काम थाल्ने तयारी रहेको जनाइएको छ।
एक महिना अघिमात्र एक भारतीय कन्स्ट्रक्सन कम्पनीले रेल्वे विस्तार काम ठेक्का लिएको छ र ठेक्का लिएको निर्माण कम्पनीले दुई वर्षभित्रमा काम पूरा गर्नुपर्ने सम्झौता भएको छ।
भारतको सहयोगमा जनकपुर–बर्दिवास रेल विस्तार गर्न लागिएको हो। रेल्वे विस्तारका लागि सर्वे भएको दुई वर्षभन्दा बढी भइसक्दा पनि काम सुरु हुन सकेको थिएन। जग्गा अधिग्रहणको मुआब्जा नेपाल सरकारले उपलब्ध गराएको छ भने रेल्वे लिक ओछ्याउन, पुल निर्माण गर्न, माटो पुर्न, इन्जिन, बोगीलगायतका सामग्री भारत सरकारले उपलब्ध गराउने छ।
सन् २०१० फेब्रुअरीमा नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुसार रेल्वे निर्माण कार्य ढिलोमा तीन वर्षमा सम्पन्न गर्नुपर्ने थियो।
धनुषामा मुआब्जा वितरणको कार्य ९० प्रतिशत भइसकेको छ भने महोत्तरीमा ६० प्रतिशत भएको छ।
प्रतिक्रिया दिनुहोस् >>