सुधारगृहबाट मुक्त: पारस
Posted by
purwanews
Published on
Thursday, December 19, 2013
पूर्वयुवराज पारस यही पुस पन्ध्र गतेदेखि सुधारगृहबाट मुक्त हुनुहुने भएको छ। विगत लामो समयदेखि उहाँ बैंककस्थित सुधारगृहमा रहेर उपचार गराइरहनुभएको छ। हृदयाघातका कारण केही समय समितिभेज अस्पतालमा बसेर चामत्कारिक स्वास्थ्यलाभ गर्नुभएपछि चिकित्सकहरूको सुझाबमा उहाँलाई सुधारगृहमा राखिएको थियो। अस्पतालबाट डिस्चार्ज गरी पुनर्स्थापना केन्द्रमा राखेपछि तीन महिनाअघि पूर्वयुवराज्ञी हिमानी उहाँलाई भेट्न बैंकक जानुभएको थियो। खानपान र भेटघाटको कडा बन्देजबीच केन्द्रमा बसेका पूर्वयुवराजले आफ्नो दिनचर्या पूरै बदल्नुभएको बुझिएको छ। यही पुस १५ गते पूरै स्वस्थ भई डिस्चार्ज हुन लाग्दा परिवारका सदस्यहरू कोही नभए पनि त्यसले उहाँलाई खासै फरक नपर्ने बताइएको छ। किनभने उहाँ यसअघि नै स्वस्थ भइसक्नुभएको छ र प्रक्रिया पूरा गर्नका लागि मात्रै उहाँलाई त्यहाँ राखिएको हो। पूर्वयुवराजको पासपोर्ट थाई प्रहरीसँग रहेकोले अहिले उहाँ तत्काल घर फर्कन सक्ने अवस्था छैन। परिवारबाट पारसलाई काठमाडौं आउन तत्कालै प्रोत्साहित नगरिने पनि थाहा भएको छ। लागूऔषध प्रयोग गरी पुनर्स्थापना केन्द्रमा बस्ने कुनै पनि मुलुकका नागरिकको पासपोर्ट थाई प्रहरीले लिने गरेको छ। पूर्णतः स्वस्थ भएर डिस्चार्ज भएपछि भने सम्भवतः पासपोर्ट उहाँको हातमा पर्नेछ।काठमाडौं नफर्किए पनि पूर्वयुवराज उपचारपछि बैंककस्थित आफ्नै फ्ल्याटमा रहने बुझिएको छ। करिब–करिब जीवनको अन्तिम अवस्थामा पुगेर फर्किएपछि पूर्वराजा ज्ञानेन्द्रले छोराका लागि फ्ल्याट किनिदिनुभएको थियो। थाइल्यान्डको चिङमाई भन्ने ठाउँमा अहिले उहाँको आफ्नै फ्ल्याट छ र उपचारपछि उहाँ सोही फ्ल्याटमा रहनुहुने बुझिएको छ।
प्रतिक्रिया दिनुहोस् >>