महिनावारी भनेको के हो ?

परिचयः
स्त्री जातिमा प्राय ९ देखि १५ वर्षको उमेरभित्रमा कुनै पनि बेला पहिलो महिनावारी हुन सक्दछ । जसलाई मेर्नाकी पनि भनिन्छ । कसैकसैको महिनावारी भने यो उमेरभन्दा अघिपछि पनि हुन सक्दछ । हरेक महिनामा हुने भएकोले यसलाई महिनावारी भनिएको हो । रजस्वला, पर सर्ने, छुई लाग्नेजस्ता नामले पनि महिनावारीलाई चिनिन्छ । अघिल्लो महिनावारी भएको २८ देखि ३० दिनमा अर्को महिनावारी हुन्छ र यो हरेकपल्ट दोहोरिइरहन्छ । यसरी महिनावारी हुँदा ३ देखि ७ दिनसम्म योनीबाट रगत बगिरहन्छ ।
यसरी महिनावारी शुरु भएको पहिलो २ वर्षसम्म महिनावारी गडबड भइरहन्छ । कहिले एकै महिनामा २ पटक, कहिले २–३ महिनामा एक पटक हुनु स्वभाविक नै हो । यस्तो हुँदा बिल्कुल आत्तिनु पर्दैन । किनकि २–३ वर्षमा यो नियमित भएर आउँछ । हिजोआज विभिन्न कारणहरुले गर्दा महिनावारी चाँडो उमेरमा शुरुवात हुन थालेको अध्ययनले देखाएको छ ।
प्रक्रियाः
महिलाको पाठेघरको दुवैतिर रहेका डिम्ब ग्रन्थीहरुले हरेक महिना पालैपालो एक एक वटा वयस्क अण्डा डिम्बनलीमा पठाउँछन् । यसरी आएको अण्डा २ दिनसम्म डिम्बनलीमा बसिरहन्छ । त्यो बेलामा पाठेघरको भित्री सतह रगतले भरिएर बाक्लो हुन थाल्दछ । यस बेलामा यदि अण्डसँग पुरुषको शुक्रकीट भेट नभएमा त्यो अण्ड पाठेघरमा पस्छ । अनि त्यो बच्चा हुर्किनका लागि बाक्लो भएर जमेको पाठेघरको सतहको काम हँदैन र त्यो सतह २ हप्तापछि फुटेर विस्तारै बिस्तारै योनीमार्ग भएर बाहिर निस्कन थाल्दछ । स्वास्नीमानिसमा हरेक महिना हुने यस्तो प्रक्रिया नै महिनावारी हो।
ध्यान दिनुपर्ने कुराहरुः 
प्याड लगाउनुपर्छ । बजारमा हिजो आज सजिलोसँग सेनेटरी प्याड उपलब्ध छ । घरैमा सफा र नरम सुती कपडाको प्याड प्रयोग गर्न पनि सकिन्छ । प्याडले महिनावारी हुँदा आउने रगतलाई सोस्ने काम गर्दछ । धेरै स्वास्नीमानिसहरु महिनावारी भएको बेला फोहोर टालाटुली लगाउने गर्दछन् । यो चलन एकदमै खतरनाक हुन सक्दछ । महिनावारीमा रगत बगिरहेको बेला यस्ता (कपडा )प्याडहरु तीनचार पटक फेरिरहनु पर्दछ । जसले गर्दा गनाउँदैन र बाहिरी लुगामा दाग पनि लाग्दैन । महिनावारी पछि रगत आउन छाडेपछि यसरी लगाइएका प्याडहरु सुरक्षित स्थानमा फाल्नु पर्दछ । कपडाहरु राम्ररी धोएर घाममा सुकाउनु राम्रो मानिन्छ ।

» सफा सुग्घर भएर बस्नुपर्छः हरेक पटक प्याड फेर्नु अघि योनी तथा वरपरको भाग सफा पानीले राम्रोसँग पखाल्नु पर्दछ र हात साबुन पानीले धुनु पर्दछ । महिनावारी भएको बेलामा पसिना बढी आउने हुँदा नुहाउनु एकदम राम्रो मानिन्छ ।

» नियमित कसरत गर्नुपर्छः नियमित कसरत गर्ने बानी गर्दा जिउका सबै भागहरुमा रगत राम्रोसँग ओहोरदोहोर गर्दछ र फूर्तिलो होइन्छ । कसरतले गर्दा पेटको मांशपेशी बलियो हुन्छ । महिनावारीका बेला कम्मर दुख्ने धेरै कम हुन्छ । महिनावारीका बेला अलिअलि तल्लो पेट दुख्नु स्वभाविक हो तर अत्याधिक दुखेमा दक्ष चिकित्सकलाई जचाउनु पर्दछ ।

» पोसिला खानेकुरा खानुपर्छः केटीहरु हलक्क बढ्ने बेलामा र खासगरी महिनावारी भइरहेको वेलामा पोषिला खानेकुराहरु प्रशस्त सेवन गर्नुपर्दछ । पोषिला खानेकुरामा हरिया सागपात, तरकारी, फलफूल, गेडागुडी, माछामासु, दूध, दही पर्दछन् ।

» महिनावारीको दिन सम्झिरहनु पर्दछः आफ्नो  महिनावारी हुने दिन सम्झना राख्दा पूर्व तयारी गर्न सजिलो हुन्छ र महिनावारी ठीकठीक समयमा भएको छ वा छैन भनेर थाहा पाउन सकिन्छ । यसको उद्देश्य महिनावारी ढिलो भएमा वा चाँडो भएमा चिकित्सकको परामर्श लिन जानै पर्दछ ।

» सेतो पानी बगेका बेलामा ध्यान दिनुपर्छः
महिनावारी अघि र पछि योनीबाट सेतो पानी बग्ने गर्दछ । यस्तो हुनु साधारण कुरा हो । यस्तो पानी बग्यो भनेर आत्तिनु वा चिन्तित हुनु पर्दैन तर धेरै बगेमा, गनाउने, चिलाउने, पोल्ने भएमा चिकित्सकको परामर्श लिनै पर्दछ ।
महिनावारीबारे फैलिएका गलत कुराहरुः
महिनावारी हुँदा बढी अमिलो खानु पर्दछ भन्ने चलन गलत छ । अमिलो र महिनावारीबीच केही सम्बन्ध छैन । महिनावारी हुँदा कपाल नुहाउनु हँदैन भन्नु एकदम गलत धारणा हो । अरु बेला भन्दा बढी पसिना आउने हुनाले झन् बढी नुहाउनुपर्दछ । खाना पकाउँदा छोइन्छ भन्नु एकदम नकारात्मक सामाजिक कुरीति हो । सफा सुग्घर भएर भान्छाको काम गर्न सल्लाह छ । पहिलो पल्ट महिनावारी हँदा नै स्तन बढेनन् भनेर चिन्ता लिएको पाइन्छ । १८–२० वर्षसम्म स्तन बढ्ने प्रक्रिया रहने भएकाले आत्तिनु पर्दैन । महिनावारी हँदा गोठमा राख्ने, छाउपडी प्रथा सामाजिक कुसंस्कार हुन् । यसलाई हाम्रो समाजमा प्रवेश नै नदिऔँ । महिनावारी हुँदा पूजापाठ गर्दा पाप लाग्छ भन्नु एकदमै गलत धारणा हो ।
समग्रमा महिनावारी एउटा शारीरिक साधारण प्रक्रिया हो । महिनावारी हुनु भनेको बिरामी हुनु होइन बरु तपाई स्वस्थ र निरोगी भएको प्रमाण हो । महिनावारी शुरु भइसकेपछि कुनै पुरुषसँग यौनसम्पर्क भएमा गर्भ रहन सक्छ, त्यसैले किशोरीहरु होशियार हुनुपर्छ । केटीहरुले आफ्नो  पहिलो महिनावारी भएको कुरा आफ्नी दिदी, आमा, भाउजू, गुरुआमाहरुलाई भन्दा आवश्यक सहयोग, सल्लाह प्राप्त हुन सक्दछ । उनीहरुलाई महिनावारी भएको बेला सहयोगी वातावरण हुन जरुरी छ । 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>