प्रचण्डले भने, "देश हामीलाई सुम्पनुहोस्"
सुनसरी । एमाओवादी अध्यक्ष प्रचण्डले देश आफूहरुलाई जिम्मा लगाउन अनुरोध गरेका छन् । आफूहरुले परिवर्तनको नेतृत्व गरेको दावी गर्दै उनले आर्थिक विकास तथा राजनीतिक स्थिरताको लागि आफूहरुलाई देश जिम्मा लगाउन भनेका हुन् ।
मेचीकाली यात्रा अन्तर्गत झापा र मोरंगका चुनावी सभापछि इटहरी आइपुगेका अध्यक्ष प्रचण्डले ७ सालको क्रान्तिपछि काँग्रेसलाई जिताएको र ४६ सालको आन्दोलनपछि एमालेलाई जनताले विश्वास गर्न खोजेको बताउँदै उनले नयाँ परिवर्तन संस्थागत गर्न माओवादीलाई बहुमत दिन माग गरेका छन् । ‘त्यतीबेला काँग्रेस र एमालेले बहुमत पाउनु ठिक थियो, अब हामीलाई दिनुहोस्,’ उनले भने, ‘किनकी हामीले नेतृत्व गरेको परिवर्तन ०७ साल र ४६ सालको भन्दा ठूलो हो ।’
उनले गिरीजा प्रसाद कोइरालाको अवसानपछि काँग्रेस र मदन भण्डारीको अवसानपछि एमाले समाप्त भएको समेत दावी गरे । ‘काँग्रेसमा यौटा अग्लो टावर थिए, गिरीजाबाबु, हिङ नभएपनि हिङ बाँधेको टालोजस्तो,’ उनले भने, ‘गिरीजाबाबुको अवसानपछि काँग्रेस सकियो, न त नीति छ, न नेतृत्व ।’
उनले ४६ सालको जनआन्दोलनपछि जनताले एमालेलाई विश्वास गर्न खोजेपनि अवसरवादका कारण एमालेले जनविश्वास गुमाएको दावी गरे । ‘एमालेले जनविश्वास त बचाउन सकेन सकेन, जनतासँग सिधा सवालजवाफ गर्नसक्ने आशालाग्दा नेता मदन भण्डारीलाई समेत बचाउन सकेन, एमाले पनि सकियो,’ उनले भने ।
अध्यक्ष प्रचण्डले एमाओवादीले बहुमत नल्याए राजनीतिक स्थिरता र दिगो विकास सम्भव नहुनेसमेत बताए । उनले संविधानसभा बनेको एक वर्षभित्र विवादित विषयमा मतदान गरेर भएपनि नयाँ संविधान बनाउने दावी गरे । ६ महिनासम्म सहमतीका लागि पर्खिने, ६ महिनासम्म पनि सहमती नभए संविधानसभामा भोटिङ गरेर भएपनि संविधान बनाउने सहमती भएको उनले बताए । चुनावी सभामा उपाध्यक्ष बाबुराम भट्टराई तथा नारायणकाजी श्रेष्ठको समेत उपस्थिती थियो ।
कात्र्तिक २०
प्रतिक्रिया दिनुहोस् >>