उम्मेदवार बुधे
Posted by
purwanews
Published on
Friday, November 1, 2013
सबैले बुधे भनेपनि उसको खास नाम बुधनारायण माझी हो । अझ पुरानो नाम बुध माझी हो । नारायण पछि उसले थपेको । भन्थ्यो, ‘धनकी देवी लक्ष्मीको बुढाको नाम राखेपछि पैसा त होला कि ।’ उसको कुरा सुनेर चम्पाले एकबित्ता लामो हाँस्दै भनेकी थिइ, ‘नामै धनबहादुर भनेर राखे भैहालो नि । नामैले के नै हुन्छ र पोइ ?’ बुधेले हरिया दाँत देखाएको थियो ।
साहुले रिन बढेको र भाका सिमित रहेको बताइरहँदा बुधेको ध्यान भने अन्तै थियो । उसले रिन लिनुपर्ने कारण अलि फरक थियो । खान लाउन त उसले चलाएको रिक्साले नै पुर्याएको थियो । घरमा सामान जोड्न पनि उसले रिन लिएको होइन, न त कसैलाई सापटी दिन वा तिर्न नै लिएको थियो ।
...
घटस्थापनाको दिन उसको घरमा केही मानिस देखिए । बिहान झिस्मीसेमै आएका ती मानिसलाई उसले पहिले फाट्ट फुट्ट देखेको थियो । कति पटक आफ्नै रिक्सामा राखेर शहर घुमायो पनि होला, उसलाई त्यती याद भएन । चम्पालाई चिया बनाउन लगाएर मुढा तानेर बसायो र आफूपनि बस्यो ।
‘सुन बुधनारायण, चुनाव आयो भन्ने थाहा छ कि छैन ?’
‘किन नहुनु हजुर्, मेरो रिक्साको पछाडि पोष्टर टाँस्छु भनेको छ साहुको साथीले । चुनावमा उठ्दैछ रे ।’
‘अब अरुको पोष्टर बोकेर हिड्ने दिन गए बुधे । यता सुन ।’ बुधेले चासो दियो ।
‘अब नेता बन्नुपर्छ । तिमी माझीहरुलाई मान्छेले कति हेप्छन्, रिक्सा चलाउँछौ, मेहेनतको कमाइ खान्छौ, तर कति खप्खी खानुपर्छ भन त । अब सोझो भएर नबस बुझ्यौ ?’
बुधनारायण अलमलमा पर्यो । सोझो नहुनु भनेको बाँगो हुनु भनेको । कस्तो बाँगो ?
नेताले उसलाई राजनीति पढायो । बुधनारायणले ज्ञानी विद्यार्थी झै पढ्यो ।
तीन दिनसम्म नेताहरु उसको घरमा धाए । अन्तिममा निष्कर्ष निस्क्यो । बुधनारायण माझी प्रत्यक्ष तर्फको उम्मेदवार ।
...
चम्पाले रातभरी बुधेलाई हकारी । तिमी दुई गाँस जोर्न साहुकोमा हात पसार्नुपर्छ । दुई दिन काम गरेनौ भने छोराछोरी भोकै पर्छ, अब राजनीति गर्ने भयौ ?’
जितियो भने त दुःखका दिन गए नि ।’
‘इस्, जित्यौ । कत्रा कत्रा नेताहरु हार्छन् । तिमीलाई कसले भोट दिन्छ ? बेकारमा ।’
रातभरीमा बुढीले महाभारत सुनाई, विहान उठ्दा बुधे भीष्मपितामहझै शवासनमा समेटियो । चिन्ताले राम्रोसँग भात पनि खाएन । काममा पनि मन लाएन ।
‘तिम्लाई पोखरी जाने भनेको कता हाटबजार ल्याएको ?’ यात्रुले कराएपछि ऊ झल्याँस्स भयो । रिक्सा चलाउँदा पनि कस्तो बेसुर भएको ?
बुधेलाई चुनावको बारेमा केही पनि थाहा थिएन र छैन पनि । जम्मा जम्मी एक पटक भोट हालेको अनुभव छ ऊसँग । कुन्नी के धानको चुनाव भन्थ्यो । उसले राम्ररी सम्झन सकेन । थरीथरीका मानिस देखिए सहर बजारमा । कोही हँसिया हथौडामा भोट हाल भन्थे, कोही सुर्य झण्डा उचाल्थे त कोही रुख छापिएको पोष्टर बाँड्थे । सबैले भन्थे, ‘यो चुनावले देशको र जनताको भाग्य बनाउँछ ।’ बुधेको रिक्साको सिट बिग्रेको थियो । बस्दा बेस्मारी घोच्थ्यो । बुधे सोच्थ्यो, कसैले मेरो रिक्साको सिट बनाइदेओस् । ’
चुनावको दिन बुधेले रिक्सा थन्कायो । मतदान केन्द्रमा पुगेर मतपत्र हातमा लियो । उसले चिनेजानेका सबै चित्रहरु त्यसमा थिए । ऊ अल्मलियो । एकछिन सोचेर स्वस्तीक छाप हातमा लियो अनि सबै चिन्हमाथि पालैपालो छाप ठोकिदियो । पट्याएर बाकसमा हालेपछि बुधे साह्रै खुसी देखिएको थियो । सोच्याथ्यो, ‘अब कसैले त मेरो रिक्साको सिट बनाइदेला ।’
...
चुनावको ६ वर्ष देशमा ठूल्ठूला घटना भए । कयौं सरकार बने हटे, उसले टिभीमा हेथ्र्यो, भोट दिएका सबै पार्टी सत्तामा पुगे । सबैले म्याद थपि थपि जागिर खाए । सबै कुर्सीको पछि लागे । तर कसैले पनि बुधेको रिक्साको सिट राम्रो बनाइदिने चासो देखाएन । बरु ऊ आफैले कपडा बेरेर अलि आरामको बनाएको थियो । एउटा छोरा पाउनुबाहेक उसको जीवनमा कुनै प्रगती थिएन त्यो समयमा । घरको छाना चुहिने भएको थियो । रिक्सा थोत्रिइसकेको थियो । कुनबेला कहाँ भाच्चिएर गरिखाने मेलो टुट्ने हो, थाहा थिएन । त्यसमाथि नेता बन्ने धुन ।
पुरानो कट्टु फाट्दा नयाँ कट्टु किन्न नसकेर सुरुवालमात्र लगाएर बजार घुम्न थालेको बुधेको अवस्था चम्पाले बुझेर नै हो गाली गरेकी । चम्पाले गाली गरेको बिहान त बुधे चुपचाप देखियो । तर अर्को विहान फेरी तिनै नेता आए । बुधेले नाइ भन्नै सकेन । सोच्यो, ‘कसैले त मेरो वास्ता गर्यो ।’ कागजमा औँठा छाप धस्यो । बुधे गद्गद् भयो । बुधे चुनाव लड्ने भयो ।
....
चुनाव लड्ने साहुको साथीको घरमा कहिलेकाहिँ पुग्थ्यो बुधे । देख्थ्यो । मान्छेको आउजाउ बाक्लै । उसकोमा भने कोही न कोही । एक दिन त उसले त्यहाँ मासु भात पनि पड्कायो । एक दिन फेरी तिनै नेताहरु आएर भने, ‘चुनावमा खर्च गर्नुपर्छ । पार्टीले चन्दा उठ्यो भने सहयोग गर्ने हो । हाम्रो सानो पार्टीलाई कसले चन्दा दिन्छ ? यो लगानी गर्ने बेला हो । खर्च नगरी पनि नेता होइन्छ ?’
बुधे फिस्स हाँस्यो । ‘ज्या ... हो त । कहिलेकाहिँ मासुभात खुवाउनुपर्यो । नत्र कसले भोट दिन्छ ?’ तर मासुभात किन्ने के ले ? उसले आफ्नो थोत्रो रिक्सा हेर्यो । कसैले किन्यो भने पाँच हजार, अनि कवाडीमा बढीमा दुई हजार । उसले टेकेको जमिन र त्यसमा उभिएको घर । सुकुम्बासीमा बसेको बुधे, लालपुर्जा विनाको जमिन बेच्दा त्यस्तै एक देखि डेढ लाख आउने हो । त्यतीले पुग्ला कि । फेरी स्वास्नीले के भन्ली ?
‘हैन तिमी बहुलायौ कि क्या हो ? घर बेचेर पो चुनाव लड्छु भन्छौ । घरै बेचेपछि कहाँ बस्ने ?’
‘पार्टीले केही गर्ला नि । उसैको लागि बेच्न लाग्या हो ।’
‘गर्यो पार्टीले । हेर्नेले त अहिले नै हेर्छ नि । हेर, यो पैसा सक्ने काम मात्र हो । तिमीहामीले पनि चुनाव लड्ने हो ? चुनाव लडेर यै भएको बास पनि गुमायौ भने कहाँ बस्ने ?’
स्वास्नीले सम्झाउन्जेल बुधे ध्यान दिएर सुन्थ्यो । उसकै कुरा ठिक जस्तो लाग्थ्यो । तर फेरी नेताहरु आएपछि ऊ जुर्मुराउँथ्यो । जुर्मुराएकै एक विहान ऊ साहुकोमा गयो । एक लाख रुपैया रिन ६ महिनाभित्र नतिरे घरखेत दिने व्यहोराको कागजमा औठा छाप धस्यो । बुधे यतिखेर अघिल्लो पटक औठा छाप धस्दा जस्तो खुसी थिएन । अलि गम्भीर थियो ।
...
एक लाख हात परेपछि बुधेले योजना बनाउन थाल्यो । अलिकति मासुभात, अलिकति पर्चा पम्प्लेट, अलिकति फोन खर्च ... उसले रिक्सामा माइक राखेर आफै गाउँ गाउँ डुल्यो । जसजसलाई भेट्यो, पर्चा थमायो । उसका नेताहरुलाई कुनै वास्ता थिएन । बेलाबेलामा भेट्थे । प्रचारप्रसार गर्न र खर्च गर्न उक्साउँथे । एक साँझ दुई चार जना आएर उसको पर्चा थुतेर च्यातिदिए । माइक पनि फुटाइदिए । दुई चार झापड पनि लाए ।
बुधनारायण चुनाव जितेर काठमाडौ गएको सपना देख्थ्यो । काठमाडौं गएर के गर्ने उसलाई थाहा थिएन । आमा बिरामी हुँदा एक पटक काठमाडौ पुगेको थियो १० वर्ष अघि । आमाकै उपचारमा भएको अलिअलि सम्पत्ती सकेको बुधेले काठमाडौलाई सरापेर फर्केको थियो । तर यो पटक काठमाडौ जाँदा त्यती धेरै अभाव भोग्नु पर्दैन भन्ने उसलाई पक्का पक्की थियो । किनकी दुई चार दिन झण्डा बोकेर फितावाल चप्पल काठमाडौ पसेकाहरु चिल्लो कार लिएर बुधेको गाउँमा आउथे । बुधेले पनि नयाँ रिक्सा किनेको सपना देख्यो । रिक्साको पछाडी लेख्थ्यो, ‘फेरी भेटौंला ।’
‘सलाम साप् ।’ काठमाडौले उसलाई स्यालुएट गर्यो । बुधनारायण झसंग भयो । अगाडी बर्दीधारी प्रहरी उभिएको थियो ।
...
अचानक आइपुगेको त्यो प्रहरीले तीन थाल भात खाएको बुधेले हेरीरह्यो । ‘साप, मलाई तपाइको सुरक्षाको लागि पठाएको हो ।’
आफ्नो घरमा प्रहरीलाई बुट बजार्दै सलामी दिएको देखेर बुधे अक्मकिएको थियो, ‘मेरो सुरक्षा ... ? किन ? ...’
‘थाहा भएन । तपाइको गार्ड बनाएर पठाइदिनुभयो चुनावसम्मलाई ।’
बुधेले नेतालाई फोन गर्यो । ‘राख न राख । अस्ती पर्चा लुट्यो भन्या होइन ? अब त्यसलाई लिएर हिड, कसैले छुँदैन ।’ नेताले भन्यो ।
बुधे अकमक्क परिरहेको थियो । नेताले यसो भनेपछि एकछिन त फुरुंग पर्यो तर विहान बेलुका भात खुवाउनुपरेपछि ऊ आफूलाई चाहिँ भात रुच्न छाड्यो । बुधे विहानै गार्डलाई रिक्सामा राखेर चुनाव प्रचारप्रसारमा निस्कन्थ्यो, साँझ परेपछि घर फिथ्र्यो । दुई हप्ता जति यसो गरेपछि उसले आँट गरेर गार्ड फिर्ता गर्यो । सोच्यो, ‘बरु कुटाइ खान्छु ।’
...
चुनावसम्ममा बुधेले घरबार सक्यो । एक दुई सहकारीमा गरेको बचत पनि रित्यायो । श्रीमतीलाई तरकारी किन्ने पैसा दिन नसक्दा माइत हिडी । भन्दैथिइ, ‘नेता बन्ने भुत निस्केपछि लिन आउनु ।’
यो पटक भोट हाल्दै गर्दा ऊसँग उम्दा आशा केही थिएन । अघिल्लो पटकको जस्तो रिक्साको सिट कसैले बनाइदेओस् भन्ने आशा पनि गर्न सकेन किनकी ऊ आफै नेता बनाइएको थियो । मतपत्रमा आफ्नो चुनावचिन्ह खोजेर छाप हान्यो । अघिल्लो पटकको जस्तो सबैलाई भोट दिएन यो पटक । बाकसमा मतपत्र खसाउँदा पनि उसमा कुनै उत्साह देखिएन । बरु चिन्तित थियो ... साहुको ऋण । अनि ऋण तिर्न नसक्दा गुम्ने छाप्रो र छाप्रो उभिएको दुई मुठी माटो, जसमा साहुले धेरै अघिदेखि आँखा गाडिरहेको थियो ।
...
चुनावको नतिजा आइसक्दा बुधे आँ गरेर रेडियो सुनिरहेको थियो । उसकोलागि दुई सय मात्र मत खस्यो, जित्नेले १० हजार पायो । दुई दिनपछि छिमेकीको टिभीमा बुधेले आफ्नो नेता माला लगाएर घुमेको देख्यो । बुधेले फोन गर्यो । ‘काठमाडौं जान लागे, भेट्न मन छ भने तुरुन्त आऊ ।’
बुधेले आफ्नो रिक्सालाई बेतोडसँग दौडायो । नेताको घर पुग्दा नपुग्दै नेता चिल्लो कारमा हुईँकियो । समानुपातिकको नेता चिल्लो कारमा हुईँकिँदा प्रत्यक्ष उम्मेदवार बुधे हेरेको हेर्यै भयो ।
हिमाल दहाल
प्रतिक्रिया दिनुहोस् >>
