यी हुन् धरौटी जफत हुने चर्चितहरु
Posted by
purwanews
Published on
Monday, November 25, 2013
अघिल्लो संविधानसभा निर्वाचनमा बाँके ३ मा कांग्रेस सभापति सुशील कोइरालालाई हराएका सर्वदेव ओझाको यसपालि जमानत जफत भयो। त्यतिबेला मधेसी जनअधिकार फोरमबाट १४ हजार ९ सय मत ल्याएर संविधानसभा सदस्य निर्वाचित ओझाले यो चुनावमा त्यही क्षेत्रबाट स्वतन्त्र उठ्दा जम्मा ७७ मत पाए।
यस्तै स्थिति रह्यो, सुप्रभा घिमिरेको। अघिल्लोचोटि काठमाडौं ४ मा नेपाली कांग्रेसबाट चुनाव लड्दा झन्डै साढे तीन हजार मतअन्तरले एमाले नेतृ विद्या भण्डारीलाई हराएकी थिइन् उनले। यसपालि त्यही क्षेत्रमा कांग्रेस नेता गगन थापाविरुद्ध बागी उम्मेदवारी दिँदा उनले पनि आफ्नो जमानत जोगाउन सकिनन्। उनले ल्याएको मत जम्मा ९२ हो।
पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका मात्रै होइन, पुरानै पार्टीबाट दोहोर्याएर चुनाव लडेका केही पूर्वविजेताले लज्जाजनक हार बेहोरेका छन्। चुनावमा प्रत्येक उम्मेदवारले ३ हजार रुपैयाँ धरौटी राख्नुपर्छ। कुल सदर मतको १० प्रतिशत पनि ल्याउन नसक्ने उम्मेदवारको धरौटी ज
फत हुने व्यवस्था छ। १० प्रतिशतभन्दा कम मत ल्याएर विजयी भएकाको हकमा भने यो नियम लागु नहुने निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले बताए।
त्यति मतसमेत ल्याउन नसक्दा प्रमुख पार्टीकै उम्मेदवारहरूको धरौटी जफत भएको छ। एकीकृत माओवादीका केशव राई त्यसैमध्ये एक हुन्। अघिल्लो चुनावमा ओखलढुंगा १ बाट ११ हजार ६ सय ३५ मत ल्याएर जितेका उनले यसपालि धरौटीसमेत गुमाए। त्यही क्षेत्रबाट उठेका राईले जम्मा २ हजार ९ सय ६३ मत पाएका छन्।
पर्सा १ मा मधेसी जनअधिकार फोरमबाट उठेकी करिमा बेगम अघिल्लो चुनावमा १४ हजार ६ सय १४ मत ल्याएर विजयी भएकी थिइन्। उनले त्यतिबेला २ हजारभन्दा बढी मतअन्तरले कांग्रेसका राजेन्द्रबहादुर अमात्यलाई हराएकी थिइन्। राज्यमन्त्री छँदा प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई थप्पड हानेर चर्चामा आएकी उनको पनि यसपालि जमानत जफत भयो । उनी त्यही क्षेत्रमा मधेसी जनअधिकार फोरमबाटै चुनाव लडेकी थिइन्। उनले पाएको मत जम्मा १ हजार ९२ हो।
सर्लाही १ बाट ९ हजार १ सय ५६ मत ल्याएर जितेका एमाले उम्मेदवार मोहम्मद रिजवान अन्सारीको यसपालि धरौटी बचेन। गृह राज्यमन्त्रीसमेत भइसकेका उनी एमाले छाडेर संघीय समाजवादी पार्टीबाट उठेका थिए । तर, उनले २ हजार २ सय ८२ मतमै चित्त बुझाउनुपर्यो।
कुल सदर मतको १० प्रतिशत पनि ल्याउन नसकेर धरौटी गुमाउनेमा मधेसी जनअधिकार फोरमकी नेतृ रेणु यादव पनि छिन्। उनी अघिल्लो चुनावमा सप्तरी ४ बाट १२ हजार ६ सय ८१ मत ल्याएर सभासद् भएकी थिइन्। यसपालि उनले ३ हजार ७ मतमात्रै पाइन्।
धरौटी गुमाउने पूर्वसभासदमध्ये एकीकृत माओवादीका सबभन्दा बढी छन्। निर्वाचन आयोगका अनुसार सप्तरी २ का एमाओवादी उम्मेदवार अशोककुमार मण्डलले एक भोट पनि ल्याउन सकेनन्। मधेसी जनअधिकार फोरम, फोरम लोकतान्त्रिक, तराई–मधेस लोकतान्त्रिक पार्टी, संघीय समाजवादी लगायतका केही उम्मेदवारले जमानत जोगाउन सकेनन्। मधेसवादी दलका ८० प्रतिशतभन्दा बढी उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचनमा भाग लिएर एक सिट नजितेका प्रायः साना दलका अधिकांश उम्मेदवारले आफ्नो धरौटी बचाउन सकेका छैनन्।
पूर्वसभासदबाहेक नाम चलेका पार्टी र नेताको पनि जमानत जफत भएको छ। काठमाडौं ५ का एकीकृत माओवादी उम्मेदवार महेन्द्र श्रेष्ठले ३ हजार ६ सय ५५ र काठमाडौं ८ का मुक्ति प्रधानले २ हजार ७ सय ६५ मत ल्याएर धरौटी गुमाए। काठमाडौंका पूर्वमेयर तथा संघीय समाजवादीबाट काठमाडौं ६ मा उठेका केशव स्थापितले जम्मा १ हजार ५० मतमा चित्त बुझाउनुपर्यो। उनको पनि जमानत बचेन। देशभर उम्मेदवारी दिएका कांग्रेस र एमालेको भने केही ठाउँमा मात्रै धरौटी गुमेको छ।
दोस्रो संविधानसभा निर्वाचनमा १ सय २० राजनीतिक दलबाट र स्वतन्त्र गरी ६ हजार १ सय २७ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । यसमध्ये अधिकांश उम्मेदवारको धरौटी जफत हुने भए पनि सबै विवरण आइनसकेको प्रवक्ता राईले बताए ।
२०६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्ष र स्वतन्त्र गरी ३ हजार ९ सय ४६ उम्मेदवारमध्ये जम्मा १९ प्रतिशत ९७ सय ८७ जना० को मात्रै धरौटी बचेको थियो ।
प्रतिक्रिया दिनुहोस् >>