ठमेलमा वाइन झोरका महिला डल्ला फोर्दैछन्

काठमाडौ । झोरमा कोदो पाक्दैछ। ठमेलमा वाइन  बिक्दैछ।  झोरका  महिला   ठल्लेठो बोकेर डल्ला फोर्दैछन्। ठमेलका महिला कफी सपमा थकान मेट्दैछन्।
राजधानीदेखि करिब १२  किलोमिटर उत्तरमा रहेको झोर गाविस र राजधानीकै अतिव्यस्तमध्ये पर्ने ठमेलको जीवनशैलीमा थुप्रै भिन्नता छ। तर काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने यी दुई ठाउँको मूलभूत समस्या उस्तै सुनियो सडक र खानेपानी।
ठमेल साँघुरो सडकमा बढ्दो सवारीले दिक्क छ। झोर गाउँमा खुलेको नयाँ बाटोले सवारी नपाएको गुनासो गर्छ। ठमेल जारको पानीले सन्तुष्ट छैन। झोरमा झरना सुकेको गुनासो छ। यी दुवै ठाउँमा उम्मेदवारले  चुनावको मुखैमा मतदातासामु बाचा गरिसके लमा सवारी पातलो बनाउने, झोरमा बढाउने।
उम्मेदवारले खानेपानी र सडकका कुरा गरेका छन्, झोर–१ का सुशील अधिकारी भन्छन्, हेरौं उनीहरुले बोलेको कुरा कत्ति पूरा गर्ने हुन्। दुई वर्षअघि सामाखुसीबाट टोखा हुँदै पक्की सडक झोर आइपुगे पनि विकास आउन निकै ढिला भएको उनले सुनाए। झोरलाई अझै नेपालको हुम्ला–जुम्ला भनेर चिनिन्छ, उनले भने, झोरबासी  यो पहिचान फेर्न चाहन्छन्।
यता  नेपालकै  युरोपु भनेर चिनिने ठमेल पनि उम्मेदवारसामु आफ्नो समस्या सुनाउँदैछ। हामीले पिउने पानी र बढ्दो सवारीका विषयमा उम्मेदवारलाई सुनाएका छौं, ठमेलका निरज बराल भन्छन्, पार्किङ नहुँदा यहाँको व्यवसाय चौपट भएको छ । बाहिरबाट हेर्दा अत्याधुनिक देखिए पनि ठमेलमा थुप्रै समस्या रहेको उनले बताए। धारामा पानी नआएर मिनरल वाटर पिउन बाध्य छौं, उनी भन्छन्, साथमा सवारी हुँदा पनि पैदल चल्नुपर्ने बाध्यता छ।
 झोरका ८० वर्षे  सानुबाबु अधिकारीले  आफ्नो पालामा डोको बोकेर असनसम्म पुग्ने गरेको सुनाए। सडकमा यातायात राम्रो चले आधा घन्टैमा सहर पुग्ने रहर छ, उनले भने, हामीले त्यही भएर विकास मागेका छौं। धेरै पटक  भोट हाले पनि सोचेजस्तो विकास नभएको उनको गुनासो छ। जति कुरा छन् चुनावका मुखैमा मात्र हो, उनले भने, त्यसपछि उनीहरु आफ्नै काममा व्यस्त हामी आफ्नै दुःखमा ।
ठमेल गोल्खोपाखाका पुण्य महर्जन आफ्नो क्षेत्रको मुख्य समस्या साँघुरो सडक रहेको सुनाउँछन्। अफिस टाइममा त  सडकै रोकिएजस्तो हुन्छ, उनले  भने, त्यही भएर होला यहाँ भोट माग्न आउने उम्मेदवारले सडक खुला गराउने बाचा गरेका छन्।
झोरकी गंगा महर्जन भोट माग्नुअगाडि विकासका कुरा नगर्नेहरु अहिले चर्का कुरा गर्न थालेको सुनाउँछिन्। अहिले झोरमा विकासका नारा बाँड्दैछन्, आँगनमा रोपिएको कोदो टिप्दै गरेकी उनले भनिन्, “हामीलाई यी कुराको विश्वास लाग्दैन,” खानेपानीको समेत समस्या झेल्नुपरेको समयमा विकासका चर्का कुरा पत्यार लाग्न नसकेको उनले बताइन्।
यता, फुटुङ गाविसका ६३ वर्षे  हरिकृष्ण खत्री गाउँमा अझै पक्की सडक नआएको बताउँछन्। यसपालि त  उम्मेदवार हारे ग्राबेल जिते पिच भन्दै भोट मागेका छन्, उनी भन्छन्, कुरा त सुन्दा पनि निकै रमाइलो छ।  विगतमा यस्तै बाचा गरेकाहरु जितेपछि फर्केर पनि नआएको  अनुभवले नेताको कुरामा ढुक्क हुन नसकेको उनले बताए। जे भए पनि भोट भने हाल्न जान्छौं, उनी भन्छन, बाटो नबने पनि संविधान बन्दिए हुन्थ्यो।
साङ्ला गाविसकी नीरा बुढाथोकीलाई पनि चुनावी चटारोले छोएको छ। उनी पार्टीको हितमा भन्दा पनि देशको हितमा राम्रो हुनेलाई भोट हाल्ने सुनाउँछिन्। यो पार्टी भन्ने छैन, पोते उन्दै गरेकी उनले भनिन्, राम्रो उम्मेदवार छानेर मत हाल्ने हो। देशमा शान्ति र संविधानको आवश्यकता रहेको उनले सुनाइन्।
फुटुङकै विद्यार्थी संजोग श्रेष्ठ  उम्मेदवारले युवालाई रोजगारी र वृद्धलाई भत्ता बढाउने नारा लिएको आएको सुनाउँछन्  हामी उनीहरुका कुरा राम्रोसँग बुझ्दैछौं, उनी भन्छन्, मन परेकालाई भोट दिनेछौं।
यही गाउँका ५० वर्षे विष्णु महर्जनले विगतको संविधानसभामा जस्तो उत्साह यसपाला नरहेको सुनाए। उतिबेला नयाँ उत्साह थियो, उनले भने, अहिले उत्साहमा कमी आएको छ । विगतको जस्तै अवस्था फेरि दोहोरिने हो कि भन्ने डरले सताउने गरेको  उनले सुनाए।
काठमाडौं ६ मा कांग्रेसका भीमसेनदास प्रधान, एमालेका योगेश भट्टराई र एमाओवादीका हिमाल शर्माले उम्मेदवारी दिएका छन्। सामाखुसीबाट गोंगबु हुँदै ठमेल, ठहिटी, असनबाट त्यौड, भोटाहिटी, बागबजार, टुँडिखेल, कान्तिपथसम्म नगर तथा धर्मस्थली, गोंगबु, मनमैजु, झोर महांकाल, काभ्रेस्थली, फुटुङ र साङ्ला गरी सात गाविस यस क्षेत्रमा छन्।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>