संविधानसभाको चुनावी गणना सम्म लोडसेडिङ नहुने

 काठमाडौ । विद्युत् प्राधिकरणले संविधानसभाको चुनावलाई लक्षित गर्दै केही दिन लोडसेडिङ नगर्ने भएको छ ।मागअनुसार विद्युत् उत्पादन हुन नसकेमा भने दैनिक १ घन्टा लोडसेडिङ गर्ने योजना प्राधिकरणको हो । तर मतगणना हुने क्षेत्र र निर्वाचन कार्यालयहरू आसपास भने मतगणना नसकिएसम्म लोडसेडिङ हुने छैन । मागअनुसार उत्पादन भएमा सर्वसाधारण तहमा पनि पूरै विद्युत् दिने तयारी रहेको प्राधिकरणले जनाएको छ ।अहिले उद्योगधन्दा कलकारखाना नचलेकाले माग कम छ, प्राधिकरणका कार्यकारी निर्देशक अर्जुनबहादुर कार्कीले भने, अहिले सर्वसाधारणको माग र विद्युत् उत्पादन उस्तै उस्तै छ । त्यसले गर्दा पनि लोडसेडिङ गर्नुपर्ने अवस्था आउने छैन ।
कार्कीका अनुसार कम्तीमा ३ र ४ गते प्राधिकरणले विद्युत् कटौती नगर्ने प्रयत्न गर्ने भएको छ । त्यसका लागि साँझ र अन्य समयमा विद्युत् उपभोग सकेसम्म कम गर्न प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको छ । अहिले औद्योगिक क्षेत्र सञ्चालनमा नरहेकाले पनि लोडसेडिङ नगर्ने योजना सफल हुने प्राधिकरणको दाबी छ । गर्नै पर्ने भए पनि अन्य फिडरहरूबाट लोडसेडिङ गर्नेछौं,भार प्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षत्रीले भने, मतगणना स्थल र निर्वाचन आयोगमा भने निर्वाचनको काम नसकिएसम्म लोडसेडिङ नगर्ने योजना हो ।
क्षत्रीले त्यसका लागि सम्बन्धी फिडरको विद्युत् कटौती नगर्ने योजना छ । निर्वाचनको मत गणना सकिएपछि मात्रे लोडसेडिङको तालिका लागू हुनेछ, क्षत्रीले भने । नेकपा माओवादीले निर्वाचन बिथोल्नका लागि चक्का जाम र हड्तालको घोषणा गरेलगत्तै धेरैजसो उद्योग कलकारखाना सञ्चालनमा छैनन् । पछिल्लो समयमा चुनावी माहोल बढ्दै गएकाले पनि उद्योगहरू सञ्चालनमा नभएकाले विद्युत्को माग कम भएको हो ।
माग कम भएपछि हिजोआज पनि प्राधिकरणले उपत्यकालागायत अधिकांश ठाउँमा लोडसेडिङको तालिकाअनुसार विद्युत् कटौती गरेको छैन । निर्वाचन नजिकिंदै गएको र नेकप माओवादीलगायत ३३ दलले बन्द आह्वान गरेकाले केही उद्योग सञ्चालन नभएपछि विद्युत्को दैनिक खपत कम भएको थियो । अब ३ र ४ गतेपछि पनि सकेसम्म विद्युत् पूरै दिने तयारी हो, क्षत्रीले भने, माग बढ्दै गएपछि बिस्तारै लोडसेडिङ पनि बढाउनेछौं ।
निजी क्षेत्रले पनि औपचारिक रूपमा उद्योगधन्दा बन्द गरी निर्वाचनमा सहभागी हुन आह्वान गरेपछि विद्युत् खपत कम हुने भएको छ । उद्योग बन्द गरी कर्मचारी र सञ्चालक निर्वाचनमा सहभागी हुन उद्योग वाणिज्य महासंघले परिपत्र गरिसकेको छ । महासंघका महानिर्देशक हेमन्त दवाडीका अनुसार ३ र ४ गते उद्योग बन्द गर्न परिपत्र गरिएको हो । बन्द गर्न नमिल्ने अत्यावश्यकीय प्रतिष्ठानहरूमा पालो मिलाएर निर्वाचनमा सहभागी हुन भनेका छौं, दवाडीले भने, तर धेरैजसो उद्योग बन्द नै हुन्छन् ।
उनका अनुसार औद्योगिक क्षेत्रले जम्मा विद्युत् प्रयोगको ४० प्रतिशत उपभोग हुन्छ । त्यसमा केही उद्योग भने निरन्तर सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसका लागि विद्युत् अनिवार्य हुनेछ, उनले भने, बाँकी उद्योग बन्द हुने भएपछि त्यहाँ प्रयोग हुने विद्युत् बचत हुनेछ । त्यसले पनि लोडसेडिङ कम गर्न मद्दत पुग्नेछ । महासंघले करिब ८ सय प्रतिष्ठानलाई पत्राचार गरेको हो । उद्योग बन्द नै नगरेपनि निर्वाचन महापर्व भएकाले उद्योगका कर्मचारीलाई दुईदिने व्यवस्था भने अनिवार्य गर्न भनेका छौं, उनले भने ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>