विजयी मध्ये कान्छो उम्मेदवार अभिशेष शाह, जेठो सुशील, धेरै मत ल्याउने देउवा, धेरै अन्तरले जित्ने भट्टराइ

मंसिर ४ गते भएको संविधानसभा निर्वाचन अन्तर्गतको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ विभिन्न क्षेत्रमा मतपरिणाम बाहिर आएको छ । यसमा केही नयाँ तथ्यहरू सार्वजनिक भएका छन् । 
 
१. सबभन्दा कान्छो विजयी  
 
अहिलेसम्मको निर्वाचन परिणाम घोषणा भएर निर्वाचित भएका सदस्यहरुमध्ये फोरम नेपालका कपिलवस्तु ५ बाट निर्वाचित अभिशेष प्रताप शाह सबैभन्दा कान्छा छन् । अघिल्लो संविधानसभामा पनि सबैभन्दा कान्छो सदस्यका रुपमा रहेका शाह अहिले सम्मका निर्वाचित सदस्यमा कान्छा रहेका छन् । उनी ३१ वर्षका हुन् । त्यसपछि कांग्रेसका गगन थापा छन् । 
 
गगनको उमेर ३७ वर्ष छ । मोरङ क्षेत्र नम्बर ४ बाट निर्वाचित एकीकृत नेकपा (माओवादी) का उम्मेदवार शिवकुमार मण्डल केवटको उमेर ३८ वर्ष छ । रुकुम क्षेत्र नं. १ बाट निर्वाचित एकीकृत नेकपा (माओवादी) कै उम्मेदवार गणेशमान पुनको उमेर ४० वर्ष छ । 
 
२. सबभन्दा ज्येष्ठ विजयी  
 
हालसम्म सबैभन्दा बढी उमेरका संविधानसभा सदस्यमा कांग्रेस सभापति सुशील कोइराला निर्वाचित हुनु भएको छ । उहाँ ७५ वर्षका हुनुहुन्छ । छन् त्यसपछि भने डडेल्धुराबाट निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा छन् ।  उहाँ ६८ वर्षको हुनुहुन्छ । यस्तै, वर्दिया क्षेत्र नं. १ बाट विजयी नेकपा (एमाले) का उमेर वामदेव गौतमको उमेर ६५ वर्ष छ भने दाङ क्षेत्र नं. ४ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार बुद्धिराम भण्डारीको उमेर ६४ वर्ष छ । ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार मदन अमात्यको उमेर ६३ वर्ष छ । 
 
त्यस्तै, रौतहट क्षेत्र नंं. १ र काठमाडौं क्षेत्र नंं. २ बाट निर्वाचित माधवकुमार नेपाल र प्यूठान क्षेत्र नंं. २ बाट विजयी हिराबहादुर के.सी. तथा पाल्पा क्षेत्र नंं ३ बाट विजयी हरिप्रसाद नेपालको उमेर ६१ वर्ष छ । काठमाडौं क्षेत्र नंं ५ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार नरहरि आचार्य, मोरङ क्षेत्र नं. ८ बाट विजयी नेकपा (एमाले) का उम्मेदवार चन्द्रबहादुर गुरुङ, सिन्धुली क्षेत्र नं. ३ बाट विजयी एकीकृत नेकपा (माओवादी) का उम्मेदवार हरिबोल गजुरेलको उमेर ६० वर्ष छ । 
 
३. सबैभन्दा बढी मत प्राप्त गरी विजयी 
 
आयोगलाई औपचारिकरुपमा प्राप्त ५६ क्षेत्रको मत परिणाममा सबैभन्दा बढी मत ल्याएर विजयी हुने उम्मेदवारमा डडेल्धुरा क्षेत्र नम्बर १ बाट विजयी शेरबहादुर देउवा हुनुहुन्छ । उहाँले २३ हजार ९२० मत प्राप्त गर्नुभएको छ । त्यसपछि गोरखा क्षेत्र नं. १ बाट विजयी एकीकृत नेकपा (माओवादी) का उम्मेदवार बाबुराम भट्टराईले २२ हजार ८२४ र काठमाडौं क्षेत्र नं. ४ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले २२ हजार ३३६ मत प्राप्त गर्नुभएको छ । 
 
४. सबैभन्दा बढी मत अन्तरबाट विजयी 
 
आयोगलाई औपचारिकरुपमा प्राप्त ५६ क्षेत्रको मत परिणाममा आफ्ना निकटतम प्रतिस्पर्धीसँग सबैभन्दा बढी मत अन्तरले विजयी हुने उम्मेदवारमा गोरखा क्षेत्र नंं. १ का एकीकृत नेकपा (माओवादी) का उम्मेदवार बाबुराम भट्टराई हुनुहुन्छ । उहाँले कुल २२ हजार ८२४ मत प्राप्त गर्नुभएको छ । उक्त मत उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठले प्राप्त गर्नुभएको मतभन्दा १३ हजार ८५३ बढी हो ।
 
त्यसपछि काठमाडौं क्षेत्र नं. ४ मा विजयी नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले २२ हजार ३३६ मत प्राप्त गर्नुभएको छ । उक्त मत उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार निर्मल कुइकेलले प्राप्त गर्नुभएको मतभन्दा १३ हजार २०१ ले बढी हो । 

(ओ एस एन न्युज )

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>