करिश्मा मानन्धरले अहिलेसम्म भोट हालेकी छैनन्

 मतदाता नामावलीमा नाम नभएर होइन। मैले अहिलेसम्म भोटको महत्त्व नै बुझिनँ। अहिले बल्ल महसुस गरेकी छु। यसपटक चाहिँ पक्कै भोट हाल्छु, नायिका करिश्मा मानन्धर भन्छिन्, 'राजनीतिक चेत हुँदाहुँदै पनि अधिकारलाई नबुझेको हुन सक्छन्। मजस्तै अन्य क्षेत्रमा लागेका महिलाले पनि अहिलेसम्म भोट नदिएका हुन सक्छन्। आफ्नो अधिकारको सदुपयोग गर्न भोट हाल्नुपर्ने उनलाई बल्ल महसुस भएको छ।'
संविधानसभाको दोस्रो चुनाव भए पनि उनी पहिलोपटक मतदान गर्दै छिन्। यो चुनावलाई उनले जनप्रतिनिधि छान्न पाउने अवसरका रूपमा लिएकी छिन्। हिलेसम्म देशमा निकै अन्योल थियो। अब त्यो मेट्नुपर्छ। देश नयाँ दिशामा जानुपर्छ, उनी भन्छिन्। हुनत उनलाई चुनावी माहोल राम्रो लाग्दैन। चुनावकै बेला भएको बन्द हड्तालले उनलाई दिक्क लागेको छ।
चुनावको मिति तोकिएपछि उनलाई विभिन्न पार्टीबाट टिकटको प्रस्ताव आयो। हाम्रो पार्टीमा आउनूस् भन्ने थिए। तर कुन पार्टी राम्रो, कुन नराम्रो छुट्याउने आधार नै भेटिनँ, भन्छिन्, त्यसैले अस्विकार गरिदिएँ। राजनीतिक विचारधारामा कन्भिन्स भएँ, तर को राम्रो र नराम्रो तौलन मन लागेन। प्रस्ताव गर्ने पार्टीको नाम भने उनले खुलाउन चाहिनन्।
अमेरिका बसाइ क्रममा डेमोक्रेटिक पार्टीप्रति उनको आस्था बढेको थियो। नेपालमा त्यस्ता पार्टी ठ्याक्कै भेट्न सकेकी छैन तर म डेमोक्रेटिक सोचाइकी हुँ।
अमेरिकामा पार्टीभन्दा पनि विभिन्न राजनीतिक दलका युवा नेतालाई उनले सक्षम देखेकी थिइन्। उनको विश्वासलाई यहाँका नेताले अझसम्म जित्न सकेका छैनन्। तर पनि आफ्नो क्षेत्रमा राम्रो काम गर्न सक्ने उम्मेदवारलाई भोट दिने उनको सोचाइ छ। भनिन्, मन पर्ने उम्मेदवारलाई भोट दिन्छु। भोट दिँदाचाहिँ विचार पुर्‍याउनैपर्छ।
केही फिल्मकर्मी पनि यसपटकको चुनावी मैदानमा छन्। आफूले काम गर्ने क्षेत्रबाट चुनावमा उठ्ने साथीलाई उनले शुभकामनासमेत दिइसकेही छिन्। आफ्नै कार्यक्षेत्रका उम्मेदवारले जितून् भन्ने आशा उनलाई पनि लागेको छ।
फिल्मी क्षेत्रको प्रतिनिधित्व गर्ने उम्मेदवारले घरदैलो अभियानका लागि उनलाई आग्रह गरेका थिए। भोट माग्दैमा सजिलै पाइन्छ जस्तो उनलाई लाग्दैन। मत दिनु भनेको सिनेमाको टिकटजस्तो होइन। पैसा दियो किन्यो, भन्छिन्, मागेर होइन, भोट पाउने हो भने जनताको मन जित्न सक्नुपर्छ। अहिलेका जनताले कुन नेता कस्ता छन् भनेर चिनिसकेको बताउने उनी भोट दिनेबारे राम्ररी बुझिसकेको बताउँछिन् सबै नेतालाई राम्रोसँग चिनिसकेका छन् जनताले। जसले माग्यो उसैलाई दिने पनि होइन, उनले भनिन्। पहिलोपटक मतदान गर्नेलाई लक्षित गर्दै उनी भन्छिन्, देशका सबै नेताका बारेमा आजका युवालाई नालीबेली थाहा छ। उनीहरूले देशका लागि सोच्ने नेतालाई भोट दिनेछन्।
अघिल्लो चुनावको मतदानमा उनले सहभागिता जनाउन पाइनन्। अघिल्ला चुनावमा यसले जित्छ भन्ने पहिले नै पक्का हुन्थ्यो। अहिले त्यस्तो छैन, करिश्मा भन्छिन्, “जनताले नयाँ पार्टीलाई एकपटक अवसर दिइसके, माओवादीलाई एकपटक अवसर दिइसकेका छन्, यो पटकको चुनावी परिणाम मिश्रित होलाजस्तो लाग्छ। पार्टीमुखी नभई व्यक्ति हेरेर मतदान गर्ने धेरै हुन्छन् ।” जनतालाई विश्वास दिलाउन नसकेकाले उनी पनि व्यक्ति छान्ने पक्षका छिन्।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>