हिंसा त्याग्न मोर्चालाई मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले तत्काल हिंसाको राजनीति अन्त्य गरी सहमतिको मार्गमा अघि बढ्न निर्वाचन बहिष्कारमा रहेको ३३ दलीय मोर्चालाई पुनः आग्रह गरेको छ ।

 लोकतन्त्र र मानव अधिकारको जग निर्वाचन नै भएको हुँदा चुनावको विकल्प नखोज्न तथा जनमतको कदर गर्न आग्रह गर्दै आयोगले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनबाटै राजनीतिमा निखार आउनसक्ने र राजनीतिक मूल्य–मान्यताको कदर हुने भएकाले संविधानसभा निर्वाचनमा प्रतिकूल परिस्थिति सिर्जना नगर्न विशेष अनुरोध गरेको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा सर्वसाधारण नागरिकहरूले आवागमन गरिरहेका सार्वजनिक यातायातका साधनहरूमा काठमाडौँ, ललितपुर, चितवन, बाँके, मकवानपुर, सिन्धुली, सुर्खेत, दोलखा, दाङ, बर्दियालगायतका जिल्लामा भएको आगजनी तथा बम प्रहार र त्यसबाट भएको मानवीय एवम् भौतिक क्षतिप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ती निन्दनीय घटनाहरूप्रति चिन्ता प्रकट गरेको छ ।

आयोगले आज एक वक्तव्य जारी गर्दै घटनाका दोषीहरूउपर अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याउन तथा घाइतेहरूको प्रभावकारी निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

निर्वाचनमा उम्मेदवारी दिएका व्यक्ति तथा दलका कार्यकर्ताहरूबीच भएको आक्रमण–प्रत्याक्रमणले स्वच्छ र भयरहित निर्वाचन हुनेमा संशय उत्पन्न गराएको उल्लेख गर्दै आयोगले वक्तव्यमा कुनै पनि राजनीतिक प्रक्रियाको समर्थन वा शान्तिपूर्ण विरोध गर्ने सबै राजनीतिक दलहरूको अधिकार भए पनि आफ्नो जिजीविषाका लागि हिंँडिरहेका निर्दोष मानिसमाथि आक्रमण गरी खास राजनीतिक अभीष्ट पूरा गर्न खोज्नु निन्दनीय भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>