" कांग्रेसले जनतासमक्ष गरेको प्रतिवद्धता नै वास्ताविक प्रतिवद्धता हो ।" : श्रेष्ठ
Posted by
purwanews
Published on
Saturday, November 16, 2013
| उमेद्वार श्रेष्ठ । तस्बिर: पुर्वन्युज |
चुनाव प्रचार प्रसार कस्तो भईरहेको छ ?
चुनाव प्रचार प्रसार युद्धस्तरमा चलिरहेको छ । धरान र पांचकन्याको सबै वडा र बस्ती टोलहरुमा गई सबै जनताको घर घरमा गएर प्रत्यक्ष भोट माग्ने काम गरेको छु । मुख्य मुख्य चोक र टोलमा कोण सभाहरु सम्पन्न भएको छ । भर्खरै विशाल चुनावी सभा सम्पन्न भएको छ । हाम्रो हरेक चुनावी अभियानमा जनता र कार्यकर्ताको उत्साहजनक सहभागिता भएको छ । यसपटक क्षेत्र नं. १ का जनताहरुले मलाई र नेपाली कांग्रेसलाई साथ दिने संकेत मैले पाएको छु । धरान र पांचकन्यावासीले मलाई विश्वास गर्नु भएको छ । म त्यो विश्वासलाई कुनैपनि हालतमा मर्न दिन्न ।
तपाई र नेपाली कांग्रेसलाई जनताले किन साथ दिने ?
धरान र पांचकन्याको समग्र विकासमा मेरा पूर्ण प्रतिवद्धता रहेको छ । धरानको खानेपानी समस्याको दिगो समाधान, व्यवस्थित बसपार्क निर्माण, उपयुक्त स्थानमा जनचाहना बमोजिमको एयरपोर्ट निर्माण, आदिवासी जनजाति बहुजातिय संग्रहालय निर्माण, सेउती पुल निर्माण, पांचकन्याको मुल सडकलाई कालोपत्रे गर्ने, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नति गर्ने, पांचकन्यामा सिंचाई, खानेपानी, स्वास्थ्यचौकी, सडक, बत्ती आदिको व्यवस्था गर्ने, सर्दूृ, खहरे, सेउतीमा तटबन्द निर्माण जस्ता पूर्वाधार निर्माणमा मेरो मुख्य जोड रहने प्रतिवद्धता रहेको र सुकुम्वासीहरुलाई धरानवासी बनाउने घोषणा र जिम्मेवारी लिएको कारणले जनताले मलाई विश्वास र साथ दिई मतदान गर्ने भएको छ ।
नेपाली कांग्रेसलाई चाहिं किन विश्वास गर्दैछन् नी जनताले ?
नेपाली कांग्रेसले धरान र पांचकन्याको विकासमा मैले गरेको प्रतिवद्धतालाई पूरा गर्नका साथै लोकतान्त्रिक संविधान निर्माण गर्न, संवैधानिक राष्ट्रपति, कार्यकारी प्रधानमन्त्री रहने सन्तुलित शासकीय प्रणालीको व्यवस्था गर्न, आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, खसक्षेत्री, ब्राम्हण, मारवाडी, अल्पसंख्यक लगायत सबै जातजातिको समान पहुंच, प्रतिनिधित्व, पहिचान, अधिकार सहितको संघीयता र लोककल्याणकारी जनउत्तरदायी शासन व्यवस्था निर्माण गर्न, विधिको शासनलाई स्थापित गर्दै जनआन्दोलनका उपलब्धिहरु संघीयता, लोकतन्त्र, धर्मनिरपेक्षता र समावेशीतालाई संस्थागत गर्ने प्रतिवद्धताका साथ जनतासमक्ष इमान्दार भई आएको हुंदा यसपटक जनताले नेपाली कांग्रेसलाई विश्वास गरी रुख चिन्हमा मतदान गर्ने सुन्श्चिित भएको हो ।
प्रतिवद्धता त अन्य दलले पनि त गरेकै छन् नी ?
सही हो । एमाले र एकिकृत नेकपा माओवादीले पनि मिठो मिठो सपना र प्रतिवद्धता प्रकट गरेका छन् । तर ती सबै जनतालाई झुक्याउने लालीपप मात्र हुन् भन्ने अब जनताले बुझिसकेको छ । यस क्षेत्रको हरेक स्थानीय, प्रतिनिधि सभा र संविधान सभाको निर्वाचनमा एमाले र माओवादीले जित्दै आएतापनि जनताको भावना र चाहना कुनैपनि पुरा नगरेर पटक पटक धराने र पांचकन्याका जनताहरुलाई, सुकुम्वासीहरुलाई झुक्याउने मात्र काम गरेकोले एमाले र माओवादीको प्रतिवद्धता जनताको लागि नभएर उनीहरु आफैको लागि मात्र सावित भएको छ । तर नेपाली कांग्रेसले आजसम्म जनतासमक्ष झुटको खेती गरेको छैन । कांग्रेस जे भन्छ, जे बोल्छ त्यै गर्छ र गर्दै आएको पनि छ । आजसम्मको हरेक राजनीतिक, सामाजिक, आर्थिक क्रान्तिको नेतृत्व नेपाली कांग्रेसले गरेको र क्रान्तीको उपलब्धीको रक्षा समेत कांग्रेसले नै गर्दै आएकोले कांग्रेसले जनतासमक्ष गरेको प्रतिवद्धता नै वास्ताविक प्रतिवद्धता हो । त्यसकारण कांग्रेसको पक्षमा देशव्यापी जनलहर आएको छ ।
त्यसो भए तपाईको जीत सुनिश्चित छ त ?
मलाई चुनाव जित्ने पूर्ण आत्मविश्वास जागेर आएको छ । सुनसरी क्षेत्र नं. १ मा कांग्रेसको ऐतिहासिक विजय हुने पक्का भएको छ । सुकुम्वासी, मजदुर, किसान, महिला, आदिवासी जनजाति, मधेशी, मुस्लिम, खस।क्षेत्री, बाम्हण, मारवाडी सबै जातजाति, समुदाय, वर्ग, लिंग र विभिन्न पेशाकर्मी तथा व्यवसायीहरुले नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्ने भएकोले अत्याधिक बहुमतले मेरो विजय सुनिश्चित भएको छ ।
तपाईहरुलाई अरुले पहिचान विरोधी भन्छन नि ?
यो त विरोधीहरुको आरोप मात्र हो । आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, महिला, अपांग, यौन अल्पसंख्यक, पिछडा वर्ग, अल्पसंख्यक एवं सिमान्तकृत तथा अति सिमान्तकृत जाति।समुदाय, भाषी, धर्मावलम्वीहरुको सुचिकरण र वर्गिकरण गर्ने कार्य तथा आवश्यक ऐन नियम र निर्देशिका बनाउने कार्य गरी आजसम्म यसैको आधारमा संविधान सभा, निजामती कर्मचारी, प्रहरी, सेना लगायत राज्यको विभिन्न निकाय र शिक्षा, स्वास्थ्य, रोजगार र राजनीतिमा अवसर प्रदान गराउने कार्य गर्ने पार्टी कसरी पहिचान विरोधी हुन्छ? जुन पार्टीले धर्मनिरपेक्षता, समावेशीता र समानताको वकालत गर्छ, त्यो पार्टी पहिचान विरोधी कदापी हुन सक्दैन । आसन्न संविधान सभामा यस क्षेत्रवाट आदिवासी जनजातिवाट म स्वयंलाई र महिलावाट मिना सुब्बा तथा दलितवाट मिन विश्वकर्मालाई पार्टीले टिकट दिएर आदिवासी जनजाति, दलित र महिलाको पहिचान स्थापित गरेको छ । नेपाल जस्तो बहुजाति, बहुभाषी, बहुधर्मी, बहुसंस्कृति मुलुकमा के कुनै एक जाति विशेषको एकाधिकार कायम गर्नु पहिचान हो ?
तपाईको प्रतिष्पर्धी को हो ?
मंसिर ४ गते हुन गईरहेको संविधान सभाको निर्वाचनमा विधिवत भाग लिएका सबै दल र उम्मेदवार मेरो प्रतिष्पर्धीहरु हुन् । अब तपाईको प्रश्न निकटतम् प्रतिद्धन्दी को? भन्नु भएको होला, यसमा यही हो भनेर म भन्दिन । कुनै दललाई पेच पर्न सक्छ । अब माओवादी, एमाले र संघीय समाजवादी भन्दा नेपाली कांग्रेस हजारौं मतान्तरले अगाडि छ । यो जनता र विश्लेषकहरुको समिक्षा पनि हो ।
अन्तमा केही छ ?
राष्ट्रियता, समाजवाद, लोकतन्त्र, शान्ति, समृद्धि, विकास र लोकतान्त्रिक संविधानका लागि, पहिचान, पहुंच, प्रतिनिधित्व र अधिकार सहितको संघीयताका लागि, सबैखाले विभेद र निरंकुशताको समुल नष्ट गरी समतामूलक समाज र लोककल्याणकारी राज्य व्यवस्था निर्माणका लागि, समानता, स्वतन्त्रता, सुशासन एवं विधिको शासनका लागि, प्रेस स्वतन्त्रता र मानव अधिकारका लागि तथा क्षेत्र नं. १, सनसरी अन्तर्गतको धरान र पांचकन्याको सर्वाङ्गीन विकासका लागि रुख चिन्हमा भोट हालौं र नेपाली कांग्रेसलाई जिताऔं भन्दै सम्पूर्ण धरानवासी र पांचकन्यावासी दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक अनुरोध गर्दछु । जय नेपाल ।
प्रतिक्रिया दिनुहोस् >>