हल्लाका कारण पुर्वमा नूनको कृत्रिम अभाव
Posted by
purwanews
Published on
Friday, November 15, 2013
विराटनगर / भारतमा नुनको अभाव भएको हल्लाका कारण पुर्वमा समेत नूनको कृत्रिम अभाव भएको छ । हल्लाका कारण शुक्रवार सयैको संख्यामा सर्वसाधारणहरु विराटनगरमा रहेको साल्ट ट्रेडिङ कार्यालयमा लाइनमा बसेर तीन-तीन पोका नुन किनेका थिए ।भारतीय एक दैनिक पत्रिकाले भारतमा नुन अभाव भएको समाचार प्रकाशित गरेपछि सीमावर्ती बजारमा नुनको अभाव देखिएको हो । स्थानिय बजारमा शुक्रबार प्रतिकेजी १६ रुपैयामा पाइने नुन ५० रुपैया सम्म पुगेको छ भने धेरै पसलहरुले लुकाएर कृतिम अभाव सृजना गरेका छन् ।
"हामीसँग पुर्वलाई सात महिनाका लागि पुग्ने मौजात छ । अनावश्यक हल्लाको पछि लागेर सर्वसाधारणहरु घण्टौ लाइनमा बसेका छन् ।" साल्ट ट्रेडिङका प्रमुख सहायक दिलचन्द्र राईले भने,"दैनिक सरदर १ हजार वोरा बिक्री हुने 'आयोनुन' आज मात्रै ६ हजार बोरा भन्दा बढी गयो ।" शुक्रवार मात्र ६ सय भन्दा बढी सर्वसाधारण साल्ट ट्रेडिङ पुगेर नुन खरिद गरेका थिए । बजारमा ब्यापारीहरुले कृत्रिम अभाव सृजना गरेपछि साल्ट ट्रेडिङले आफ्नै कार्यालयवाट बिक्री सुरु गरेको हो ।
विराटनगरमा रहेको एक 'डिपार्टमेट' स्टोर नेपाल बजारले सर्वसाधारणहरुलाई हल्लाको पछि नलाग्न आग्रह गर्दै ग्राहकहरुलाई म्यासेज समेत पठाएको छ । " हामीसँग अहिलेपनि १० हजार बोरा नुन छ । उपभोक्ताहरुले सहज रुपमा पाउने छन् ।" सञ्चालक सुवास आर्चायले भने ।
साल्ट ट्रेडिङले आफ्ना शाखाहरु लहान , राजविराज र विर्तामोडबाट पनि बिक्री सुरु गरेको छ । साखाहरुमा पनि पर्याप्त मौजाद रहेको राइले बताए । साल्ट ट्रेडिङका अनुसार विराटनगर अञ्चल कार्यालयमा मात्र अहिले १ लाख ५० हजार बोरा आयो नुन मौज्दाद रहेको छ । भारतमा नून अभावको हल्ला चलेपछि फेरी उतै जाने सम्भावना रहेको कार्यालयले जनाएको छ । त्यसका लागि सीमामा कडाई गर्न प्रसासनसँग आग्रह समेत गरिएको राईले बताए । पूर्वका
लागि भारतको गुजरातबाट ९ लाख बोरा नून आउने गरेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् >>