मलेसियामा नेपालीले मनाए तिहार
Posted by
purwanews
Published on
Monday, November 4, 2013
मलेसिया । जनकपुर धनुषाका ज्योती शाहले मलेसियामै भएपनि यस वर्षको दिपावली धुमधामका साथ मनाए । सँगै काम गर्ने साथीहरु सँग उनले लक्ष्मीको पुजा गरे अनि प्रसाद र परिकार बनाएर खाए, त्यतीमात्र होइन, साथीहरुको होस्टेलमा पुगेर देउसी पनि खेले । तीन वर्षदेखि शाहलम को जोपेक्स कम्पनीमा कार्यरत शाह भन्छन्, ‘यो हाम्रो परम्परा हो, त्यसैले हामी विदेशमै भएपनि सामुहिक लक्ष्मी पुजा गरेर देउसी भैलो खेल्दै रमाइलो गर्छौं ।’
महोत्तरीका शंकर राम चाडपर्वका बेलामा आफ्नो घरलाई धेरै सम्झन्छन् । तर विदेशमै भएपनि साथीहरुसँग चाडपर्व मनाउने अवसर पाएपछि उनको न्यास्रो कम हुँदै गएको छ । भन्छन्, ‘साथिहरुसँग पर्व मनाउँदा मनको पीडा हलँुगो हुन्छ ।’
धनुषाका जितेन्द्रकुमार राहुतलाई पनि यस वर्षको दिपावलीमा घरको धेरै सम्झना आएपनि आफू जस्तै विदेशिएका साथीहरुसँगै दिपावली मनाउँदा मन केहि हलुको भयो । अघिपछि नियास्रो मानेर बस्ने उनले यसपटक त देउसी नै भट्याए ।
दीपावलीको लागि नेपालीहरुले आ–आफ्ना होस्टल सरसफाइ गरिरहेका थिए । कतिले त किनेरै भएपनि केराको थाम पनि ठड्याएका थिए । धनकुटाका दीपक भुजेल सरसफाइ र पुजाआजा गर्नमा व्यस्त रहे । एक वर्ष अघिमात्र मलेसिया आएका उनले हाँस्दै भने, ‘विदेशमै भएपनि लक्ष्मीलाई त कोठासम्मै बोलाउनु प¥यो नि ।’
रोजगारको सिलसिलामा मलेसिया पुगेका शाहजस्तै धेरैले यसवर्षको तिहार हर्षोल्लासका साथ मनाएका छन् । मलेसिया मुसलमान समुदायको बाहुल्यता रहेको देश हो । तर तिहारको दिन मलेसिया सरकारले सार्वजनिक विदा दिने गरेकाले मलेसियामा पुगेका नेपालीहरुले तिहारलाई आफ्नै तरिकाले मनाउने अवसर पाउँछन् ।
नजिकैको भारतीय बजारबाट पुजाको सामान खरिद गरेर फर्कदै गर्दा भेटिएका महोत्तरीकै दाताराम मण्डलले वर्ष दिनमा आउने तिहारलाइ भव्य रुपमा मनाउने गरेको बताए । सिराहाका निरजकुमार सिंह पनि दिपावली मनाउँदा निकै हर्षित देखिए । आसिन मेटलमा काम गर्ने सुनसरीका पदम अधिकारी भने पटका पड्काउँदै रमाए ।
नेपालीहरुको लागि रोजगारीको आकर्षक गन्तव्यमा पर्ने मलेसीयामा सात लाखभन्दा बढि नेपाली रहेको तथ्याङ्ग छ । खाडि मुलुकमा खुलेर चाड मनाउन नपाएपनि मलेसियामा भने नेपालीहरुले दशैँ, तिहारजस्ता चाड खुलेरै मनाउन पाउँछन् । समुहमा तयारी गर्न पाउनेले भने साँस्कृतिक कार्यक्रम गरेर दिपावली मनाएका छन् ।
अर्जुन काफ्ले
प्रतिक्रिया दिनुहोस् >>