‘खसेको मतलाई भाग गरी समानुपातिकतर्फको सीट बाँडफाँड’
Posted by
purwanews
Published on
Tuesday, November 26, 2013
काठमाडौं । निर्वाचन आयोगले खसेको मतलाई भाग गर्ने पद्धति अनुसार दलहरुलाई समानुपातिकतर्फको सीटहरु बाँडफाड गरिने बताएको छ ।आयोगका वरिष्ठ तथ्यांक शास्त्री देवेन्द्रलाल कारञ्जितले तथ्याङ विधिका आधारमा पार्टीले पाएको कुल मतलाई ‘डिभाइजर’ले भाग गरेपछि आउने प्रतिशतका आधारमा ठूलादेखि साना दलसम्म समानुपातिक सीटहरु बाँडफाँड गर्ने जानकारी दिए ।
समानुपातिकको सदर मत सहितको कुल मतगणना नसकेसम्म एक सीटको लागि कति मत खस्नुपर्ने सो भने अनुमान गर्न नसकिने उनले बताए ।
उनले २०६४ सालको निर्वाचनमा २३ हजार ५ सय १२ मत पाएकाले एउटा सीट पाएको जानकारी दिए ।
यस्तै, संविधानसभा निर्वाचनमा समानुपातिकतर्फको सीट छुट्याउँदा दलहरुले प्राप्त गरेको कुल मतलाई कुल सीट संख्या ३३५ ले भाग गरेर नभई मत परिणाम विभाजक सूत्र बमोजिम गरिने कानुनी व्यवस्था रहेको छ ।
संविधानसभा सदस्य निर्वाचन ऐनमा कुन दलले कति संख्या पाउने भन्ने छिनोफानो गरिने उल्लेख छ । यससम्बन्धी कानुनका जानकार अधिवक्ता ललित बस्नेतका अनुसार, खेर जाने मत कम भन्दा कम मात्र होस् भन्ने मान्यता रहने यो व्यवस्था बमोजिम दलले प्राप्त गरेको मतलाई सुरुमा १ दशमलव ४ र त्यसपछि क्रमशः विजोर अंकले भागा गरी ३३५ सीटको टुंगो लगाइन्छ ।
प्रतिक्रिया दिनुहोस् >>