दुई दिन चुपचाप बस्ने दिन
काठमाडौँ । निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन डेढ महिनादेखि अहोरात्र चुनावी प्रचारमा जुटेका राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचारप्रसारको सीमा हिजो रातिबाट सकिएको छ ।
यसपछि निर्वाचनको दिन मङ्सिर ४ गतेसम्म निर्वाचनको मौन अवधि जारी रहनेछ । मौन अवधिमा चुनावी प्रचारप्रसार गर्न आचारसंहिताले रोक लगाएको छ । राति १२ बजेबाट दल र उम्मेदवारले प्रचार गर्ने अवधि सकिएर निर्वाचनको मौन अवधि सुरु हुन्छ, प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले हिजो राजधानीमा आयोजित कार्यक्रममा भन्नुभयो । ‘मौन अवधि’ भन्नाले मतदान हुने दिनको अघिल्लो अठ्चालीस घन्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलको समय सम्झनुपर्छ । चाडपर्वको चटारोबीच घरदैलो, कोणसभा, खेतबारीमा समेत मतदाता भेटेर मात्र हैन ठूला खालका सभा र मेची–महाकाली अभियानजस्ता चुनावी प्रचारमा खटेर थकित भएका राजनीतिक दल र उम्मेदवारले यो अवधिमा विश्राम लिनेछन् ।
औपचारिक रूपमा यो अवधिलाई मौन अवधि भनिए पनि चुनावी चलखेलको अत्यन्तै संवेदनशील, रस्साकस्सी र रणनीति तय गर्ने अवसरको रूपमा यो समयलाई उम्मेदवारले उपयोग गर्ने गरेको पाइन्छ । निर्वाचनमा भाग लिएका अधिकांश राजनीतिक दलका शीर्ष नेताले मुलुकका विभिन्न भागमा आयोजना गरिएका अन्तिम ठूला आमसभालाई आज सम्बोधन गरिसक्नुभएको छ । यस्ता आमसभालाई सम्बोधन सँगसँगै निर्वाचन प्रचारको मैजारोसमेत भएको छ । राजनीतिक दलका नेताहरू नै मौन अवधिलाई आफ्नो पक्षमा मतदातालाई ल्याउन अनेकौँ तिकडम अपनाउने र आचारसंहिता विपरीतका क्रियाकलापसमेत हुने गरेको बताउँछन् । ‘मनी र मसल’को प्रयोगको रूपमा समेत यो अवधि चर्चित हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस् >>