भतेर खुवाउने पैसा छैन : समाजवादी, दुःख गर्नेले खानै पर्यो : राप्रपा नेपाल
Posted by
purwanews
Published on
Saturday, November 2, 2013
सुनसरी । हिमालय टेलिभिजनमा प्रशारण हुने कार्यक्रम को भन्दा को कमको लागि पत्रकार नारायण पौडेलले सुनसरी क्षेत्र नं. २ का उम्मेदवारहरुलाई सोधे, ‘बेलुका भोजभतेर कत्तिको खुवाउनुहुन्छ ?’ उत्तरमा संघीय समाजवादी पार्टीका उम्मेदवार तेजकुमार आलेले भने, ‘व्यापारीले पत्याएनन्, हामीसँग त पैसै छैन ।’ व्यापारीले नपत्याएपछि खर्च धान्नै समस्या भएकोले भोज भतेर गर्नै नसक्ने जिकिर गरे । कार्यक्रममा सहभागि राप्रपाका प्रेमप्रसाद भट्टराईले चाहिँ यस्तो जवाफ दिए, ‘दिनभर जसले काम गर्छ, उसले त खानै पर्यो नि ।’ उनले यति भनिसक्दा कार्यक्रमस्थल हाँसोमय बनेको थियो ।
उम्मेदवारहरुसँग घरदैलो गर्ने उक्त टेलिभिजन कार्यक्रममा सहभागि एमालेका रेवती भण्डारी र एमाओवादीकी रामकुमारी चौधरीले भने भोज भतेरको संस्कार आफ्नो पार्टीमा नरहेको जिकिर गरेका थिए ।
कार्यक्रममा संघीय समाजवादीका आलेले आफूहरु देशमा सबै विभेदलाई अन्त्य गर्दै सबैको नेपाल बनाउने अभियानमा रहेको बताउँदै जातिवादी कुरा नगरेको समेत दावी गरे । उनले देशका सबै आदिवासीहरुको समान विकास र पहिचानको कुरालाई उठाउँदा एमालेले नसुनेकोले पार्टी छाडेको बताउँदै आफ्नो सक्रियता देखेर सबै पार्टीहरु डराएको दावी गरे ।
अघिल्लो संविधानसभा निर्वाचनबाट जितेर गएका एमालेका धर्म निरौला जितेयता फर्केर पनि नआएको कतिपय कार्यकर्ताहरुकै आरोप छ । आरोपलाई स्वीकार्दै यसपटकका उम्मेदवार रेवती भण्डारीले आफूले जितेमा आफ्नो क्षेत्रको लागि पटक पटक आइरहने आश्वासन दिएका छन् । भण्डारीले परिवर्तनमा आधारित दिगो शान्ती स्थापना गर्ने र स्वाधिनतालाई बचाएर राख्ने संविधान निर्माण गर्ने अभियानमा रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै राप्रपा नेपालका प्रेमप्रसाद भट्टराईले जनताले आफूले गरेको भुल सच्याउन चाहेकोले आफूहरुले जित्ने दावी गरे । उनले राजसंस्थालाई हटाउनु र नेपाललाई धर्म निरपेक्ष घोषणा गरेर भुल गरेको बताउँदै राजसंस्था आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै एमाओवादीकी रामकुमारी चौधरीले वैद्य माओवादीलाई कुहिएको आलुको उपमा दिएकी थिइन् । वैद्य माओवादी डराएरै चुनावमा नआएको बताउँदै उनले भनिन्, दुई चार आलु कुहिँदैमा केही फरक पर्दैन, वहाँहरुसँग जनता नै छैनन्, भएको भए चुनावमा आइहाल्नुहुन्थ्यो नि ।
सबै पार्टीका कार्यक्रर्ताहरुसमेत सहभागि आधा घण्टाको कार्यक्रम अवधिभर नेताहरुलाई गरिएको प्रश्नमा दर्शकहरुले पटक पटक तालि बजाएर समर्थन जनाएका थिए । दर्शकहरुले वैद्य माओवादीको विरोधका बाबजुद गरिएको संविधानसभाबाट संविधान बन्ने आधार मागेका थिए भने कसैको पनि बहुमत आउन नसक्ने अवस्थामा संविधान बन्छ कि बन्दैन भनेर प्रश्न गरेका थिए ।
दर्शकहरुको बाक्लो सहभागिता रहेको कार्यक्रममा काँग्रेस उम्मेदवार बद्रीनारायण चौधरी भने व्यस्तता देखाउँदै उपस्थित भएनन् । हिमालय टेलिभिजनले सुरु गरेको टेलिभिजन कार्यक्रम देशभरका ३० वटा जिल्लामा पुगेर छाँयाकन गरिने समाचार निर्देशक सम थापाले बताए ।
प्रतिक्रिया दिनुहोस् >>