" १५ मिनेटमै थप सुरक्षाकर्मी पठाउन सक्छौं " : घिमिरे

 काठमाडौं । मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै कुनै अप्रिय घटना भई हालेमा देशभरीका दशै हजार
मतदान केन्द्रमा, आवश्यक परे १५ मिनेट भित्रमै थप सुरक्षाकर्मी परिचालन गर्न सकिने गृहमन्त्री माधव घिमिरेले बताएका छन्। तीनैवटा सुरक्षा निकायले प्रत्येक मतदान केन्द्रमा तीन, तीन पटक सुक्ष्म अनुगमन गरेर हरेक केन्द्रको अलग, अलग सुरक्षा योजना बनाएको उनले बताएका छन्।

मंगलबार हुन लागेको चुनावमा, सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखि झण्डै दुई लाख सुरक्षाकर्मी परिचालन गरिएकाले मतदान स्थलमा कुनै पनि किसिमको अप्रिय घटना हुनै नसक्ने गृहमन्त्री माधव घिमिरेले बताएका छन्। तर घटना भइहालेमा त्यसलाई नियन्त्रण गर्न सुरक्षा संयन्त्र सक्षम रहेको उनले बताए।
उनले भने, "हामीसँग दश हजार सत्रवटा मतदान केन्द्रका दश हजार सत्र वटै सुरक्षा योजनाहरु छन्। १५ देखी २० मिनेटको अन्तरालमा प्रत्येक केन्द्रमा थप जनशक्ति पठाउन सक्छौं। यति दरिलो गरी सुरक्षा व्यवस्था गरेका छौं कि, हामीलाई थप मद्दत पठाउनु पर्ने स्थिति पनि आउँदैन।"

चुनावी सुरक्षा प्रयोजनको लागि परिचालित सेना, सशस्त्र तथा नेपाल प्रहरीले प्रत्येक मतदान केन्द्रको सुक्ष्म अनुगमन गरेर तयारी अवस्थामा बसेको उनको भनाई थियो।

तीनवटै सुरक्षा निकायले तीन, तीन पटक सम्म मतदान केन्द्रको सुक्ष्म अनुगमन गरेको उनले बताएका छन्।
"प्रत्येक मतदान केन्द्रमा जाने गौंडा कता छ, बाटो कहाँबाट छ अनि आवश्यक पर्‍यो भने मद्दत गर्ने जनशक्ति कहाँबाट पठाउन सकिन्छ, कस्ता कस्ता ठाउँमा छेकेर जनतालाई तर्साउन सकिन्छ, मतदान केन्द्रमा मद्दत प्रणाली के छ जस्ता सबै कुराको सुक्ष्म ढंगले अध्ययन गरेर तयारी गरिएको अवस्था छ," गृहमन्त्री घिमिरेले भने।
चुनाव बहिष्कारमा लागेका समूहको बन्द हडतालका दौरान केही हिंसात्मक घटनाका खबरमाझ उनको सो भनाई आएको हो।
अर्को प्रसंङ्गमा, निर्वाचनको बेला बुथ कब्जा वा कुनै उम्मेदवारको पक्षमा एकछापे मत खसाउने कल्पना समेत नगर्न दलहरुलाई गृहमन्त्रीले चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>