उजुरी दिएको झोँकमा गच्छदार कार्यकर्ताद्वारा एमाले उम्मेदवारको गाडी तोडफोड
सुनसरी/सुनसरी क्षेत्र नं. ३ बाट एमाले तर्फकी प्रत्यक्ष उम्मेदवार भगवती चौधरीको चुनाव प्रचारप्रसारको सवारी साधन युवाहरुको एक समुहले गएराती तोडफोड गरेको छ । तोडफोड लोकतान्त्रिक फोरमका कार्यकर्ताहरुले गरेको चौधरीको आरोप छ ।
लोकतान्त्रिक फोरमका उम्मेदवार विजयकुमार गच्छदारविरुद्ध निर्वाचन आयोगमा उजुरी गरेर दुहबी फर्केको गाडी औरावनी जाँदै गर्दा भमरी चौकमा रोकेर तोडफोड गरेको चौधरीले बताइन् । झण्डै आधा दर्जनको संख्यामा कार्यकर्ताहरुले बा ७ च २५७५ नं.को उक्त गाडी तोडफोड गरेका हुन् ।
चौधरीले लोकतान्त्रिक फोरमका दुःखाराम माझी, प्रभुनारायण चौधरी, पेजकन चौधरी लगायतले गाडी तोडफोड गरेको दावी गरिन् । उनले गच्छदारविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएकोले आफ्नो सवारीको साधन तोडफोड गरेको चौधरीले आरोप लगाइन् । तोडफोडपछि एमाले र लोकतान्त्रिक फोरम कार्यकर्ताबिच केहीबेर झडप समेत भएको थियो ।
चुनाव अघिको दुई दिन उम्मेदवारले चुनाव प्रचारप्रसारका कुनैपनि कार्यक्रम गर्न नपाउने नियम विपरीत लोकतान्त्रिक फोरमका अध्यक्ष तथा क्षेत्र नं. ३ का उम्मेदवार विजयकुमार गच्छदारले आइतबार चाँदबेलामा मोटरसाइकल र्याली र तनमुना १ मा आमसभाको तयारी गरेका थिए । चौधरीको उजुरीपछि शशस्त्र प्रहरीले आमसभा गर्नबाट रोकेको थियो । यस्तै गच्छदारले अमडुवा, चिमडी र अमाहिवेल्हामा बाँडेको सात लाख बढी रकम समेत स्थानिय अन्य पार्टीका युवाहरुले कब्जा गरेकोले पनि रिस फेरेको हुनसक्ने चौधरीले बताइन् ।
प्रतिक्रिया दिनुहोस् >>