कजला पुल अन्तिम चरणमा
Posted by
purwanews
Published on
Saturday, October 19, 2013
पुण्य पि अधिकारी/ मोरङ
दक्षिणी मोरङका आठ बढी गाविसका स्थानीयको माग बमोजिम २ करोडको लागतका निर्माण थालिएको कजला पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
नेपाल सरकारको भौतिक योजना तथा निर्माण मन्त्रालयले थालेको पुल निर्माण अन्तिम चरणमा पुगेको हो । पुल निर्माणपछि दक्षिण पूर्वी सिजुवा, झुर्किया, महादेवा, बरडंगा, डायनिया, रंगेली लगायतका स्थानीय लाभान्वित हुने स्थानीय युवा लक्ष्मी ढकालले बताए । निर्माणपछि सीमावर्ती झापाका कोहवरा, गौरीगञ्ज लगायतका गाविसका स्थानीयलाई पनि सहज हुने भएको छ ।
यसअघि कजला खोलामा कच्ची पुल हुँदा त्यसको प्रभाव स्कूले विद्यार्थीमा पर्ने गरेको थियो । पुल नहँुदा बर्षात्को समयमा समस्या हुने गरेको साना किसान कृषि सहकारी संस्था सिजुवाका प्रबन्धक ऋषिकुमार ढकालले बताए । पुल नहुँदा ५ किलोमिटर बाटो घुमेर खोला तर्नुपर्ने अवस्था रहेपनि पुल निर्माण पश्चात सहज हुने ढकालले बताए । पुलका कारण सिजुवा र शनिश्चरेमा प्रतिसाता लाग्ने ४ वटा हाट बजार प्रभावित हुने गरेको गाविस सचिव जानकीप्रसाद अधिकारीले बताए ।
वि.स.२०६८ सालमा शुरु भएको योजना यही असोज मसान्तसम्ममा सम्पन्न हुनुपर्ने भएपनि निरन्तरको बर्षाका कारण सम्झौता बमोजिम नभएपनि आगामी बैशाख भित्रमा निर्माण सकिने पुल इञ्चार्ज बिष्णु कार्कीले बताए ।
पूर्व पश्चिम लोकमार्गमा यसखाले पुल भएपनि सानो खोलामा २ करोड बढी लगानीमा निर्माण भईरहेको पुलको आयु सयौँबर्ष हुने कार्कीले जनाए । ४४ मिटर लामो पुल दुई पंक्तिको हुनेछ । ८ मिटर उचाईको पुलको पिल्लर जमिनदेखि ४५ फुट गहिरो रहेकोले भूकम्प प्रतिरोधी हुने कार्कीको भनाई छ ।
काठमाण्डौँको निलगिरी कन्ट्रक्सनले निर्माण गरीरहेको पुलमा फिलिङ गर्न बाँकी रहेको छ । निलगिरीले पूर्वमा ८ वटा पुलको निर्माण जिम्मा पाएको छ । जसमध्ये मोरङको बवियाविर्ता र सुनसरीको बक्लौरीमा निर्माण सम्पन्न गरेको छ । नेपाल सरकारको उत्कृष्ट निर्माण कम्पनीमा गनिएको निलगिरीले सुनसरीको इनरुवा, भुटाहा,हरीनगरा र देवानगञ्जमा पनि पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । झापाको टिमाई पुल र मोरङको राजघाटमा आगामी वैशाख मसान्त भित्रमा निर्माण सकिने कन्ट्रक्सनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस् >>