दशैं मान्न गएका सरकारी कर्मचारी अझै फर्केनन्
ओखलढुङ्गा । दसैँ मान्न गएका ओखलढुङगा जिल्लाका कतिपय कार्यालय प्रमुखहरु कार्यालय नफर्कंदा सेवाग्राही मर्कामा परेका छन् ।
कार्यालय खुलेको पाँच दिन बितिसक्दा पनि दर्जनभन्दा बढी सरकारी कार्यालयका प्रमुख र कर्मचारी कार्यालयमा हाजिर भएका छैनन् । जिल्ला शिक्षा कार्यालय, जिल्ला प्राविधिक, मालपोत, नापी, जिल्ला वन, विद्युत् प्राधिकरण, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, भूसंरक्षण कार्यालय, जिल्ला विकास समितिका कार्यालय प्रमुख कार्यालय फर्किएका छैनन् ।
त्यस्तै कोष तथा लेखा नियन्त्रण कार्यालय, सहरी विकास तथा भवन निर्माण कार्यालय, घरेलु तथा साना उद्योग विकास समितिमा पनि कार्यालय प्रमुख तथा कर्मचारीहरु नहुँदा सेवाग्राही मर्कामा परेका छन् । जनताको कामसँग प्रत्यक्ष जोडिएका कार्यालयका कर्मचारी नभएपछि समस्या भएको हो । कार्यालय प्रमुखहरु नहुँदा कार्यालयको दैनिक काम प्रभावित भएको छ । निर्वाचन आयोगले कर्मचारीलाई जिल्ला नछोड्न निर्देशन दिए पनि कर्मचारी भने अझै जिल्लामा हाजिर भएका छैनन् । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कर्मचारीहरु कार्यालयमा आउने क्रममा रहेको बताए ।
प्रतिक्रिया दिनुहोस् >>