मोरंगमा निर्वाचन सामाग्रीमा आगजनी : कालोझण्डा गाड्ने ५ पक्राउ

विराटनगर । निर्वाचन बहिष्कारको घोषणा गरेको नेकपा–माओवादीका कार्यकर्ताहरुले बिहीबार मोरङका दुई ठाउँमा निर्वाचन सामग्रीमा आगजनी गरेका छन् । मोरङको पथरी र डाँगीहाटमा माओवादी कार्यकर्ताले सामग्री वितरणका लागि पुगेका निर्वाचन कार्यालयका कर्मचारीबाट खोसेर मतदाता शिक्षा हातेपुस्तिका जलाएका हुन् । डाँगीहाट १ मा करिव ४० जनाको समुहमा आएका माओवादी कार्यकर्ताले हाते पुस्तिका नियन्त्रणमा लिएर पेट्रोल छर्केर आगो लगाएको मोरङ प्रहरीले जनाएको छ ।
त्यस्तै करिव २० जनाको संख्यामा आएका माओवादी कार्यकर्ताहरुले पथरी स्थित मुख्य सडकमा पेट्रोल लगाएर एक बोरा मतदाता शिक्षा हाते पुस्तिका जलाएका छन् । निर्वाचन आयोगले पठाएको हातेपुस्तिका शनिश्चरे गाविसबाट नियन्त्रणमा लिएर मुख्य सडकमा ल्याएर जलाइएको नेकपा–माओवादी मोरङका सचिव लोचन धमलाले बताए । जिल्ला निर्वाचन कार्यालय मोरङका प्रमुख झङ्कनाथ शर्माले निर्वाचन सामग्रीमा आगजनी गरिएको बारेमा थाहा हुन नसकेको बताए ।
मोरङ प्रहरी प्रमुख एसपी विश्वराज पोखरेलले निर्वाचन सामग्री जलाउनेको खोजी भइरहेको बताए ।

कालोझण्डा गाड्ने ५ पक्राउ
आसन्न संविधासन सभा निर्वाचनमा मोरङबाट विभिन्न दलका उम्मेद्वार बनेकाको घरमा कालो झण्डा गाड्दै हिंडेका नेकपा–माओवादीका पाँच जना नेता कार्यकर्तालाई बिहीबार साँझ प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माओवादी जिल्ला सचिव लोचन धमला, जिल्ला सह इन्चार्ज जितेन्द्र महरा, विद्यार्थी नेता तिलक बस्नेत, कोचिला राज्य समिति सदस्य कुमार खतिवडा र गणेस निरौला रहेका मोरङ प्रहरी प्रमुख एसपी विश्वराज पोखरेलले जानकारी दिए ।
मोरङ क्षेत्र नम्वर ४ का एकीकृत माओवादीका उम्मेद्वार शिवकुमार मण्डलको विराटनगरस्थित घरमा कालो झण्डा गाड्ने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी र झण्डा गाड्न अघि बढेका माओवादी कार्यकर्ता विच केही बेर घम्साघम्सी समेत भएको थियो । केही बेर ठेलमठेल भएपछि बाहिर निस्किएको प्रहरीले घेरा हालेर माओवादी कार्यकर्तालाई पक्राउ गरेको हो । उनीहरुलाई तत्काल छाड्न सक्ने सम्भावना भने नरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई छाडेमा उम्मेद्वारहरु असुरक्षित रहने भएका कारण माओवादी कार्यकर्ताहरुलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिने एसपी पोखरेलले बताए ।
यसअघि नेकपा माओवादिका कार्यकर्ताले मोरङ क्षेत्र नम्बर ५ का उम्मेदवारद्वय उपेन्द्र यादव र अमृत अर्यालको घरमा पनि कालो झण्डा गाडेका थिए । यस्तै उता नेकपा माओवादी कार्यकर्ताले  मोरङ क्षेत्र नम्बर २ का एमालेका प्रत्यक्षतर्फका उम्मेद्वार चण्डिप्रसाद राईको घरमा पनि कालो झण्डा गाडेका छन् । झण्डा गाडेको केही समय पछि प्रहरीले निकालेको पथरीका प्रहरी निरीक्षक बुद्ध श्रेष्ठले बताए । मोरङमा अहिले २५ जना उमेद्वारहरुलाई सुरक्षा प्रदान गरीएको छ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>