आचारसंहिता उल्लंघन बढ्यो

गच्छदारले लगाए गाडीको लस्कर । एमाओवादी सभामा बालबालिका
विराटनगर । चुनाव नजिकिँदै गर्दा विभिन्न पार्टी तथा नेताहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका घटनाहरु बढ्दै गएका छन् । कतै ठूलो पोष्टर टाँसेको त, कतै कागजपत्र विनाका सवारी साधन प्रयोग गरेर प्रचारप्रसार गरेका घटनाहरु प्रकाशमा आइरहेका बेलामा सबैलाई उछिनेका छन्, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर ३ र मोरङ क्षेत्र नम्बर ७ का उम्मेदवार विजयकुमार गच्छदारले ।
आफ्नो स्वागतका लागि सयौं कार्यकर्तालाई विराटनगर ल्याउन सयौं लिटर इन्धन बाँडेर गच्छदारले आचारसंहिताको धज्जी नै उडाएका छन् । आफ्नो स्वागतकै लागि पुर्वका विभिन्न जिल्ला
बाट कार्यकर्तालाई विराटनगरस्थित विमानस्थलसम्म ल्याएका उनले सुनसरीको दुहबीस्थित चुनावी सभा पुग्दासम्म कार्यकर्ताको लस्कर लगाएका थिए । चुनाव नजिकिँदै गर्दा उनको यस्तो क्रियाकलाप अक्सर देख्न पाइन्छ । कार्यकर्ता बोकेर सवारीसाधनको लामो लाइन लगाउनु र राती परेपछि राँगा, खसी काटेर भोज लगाउनु उनका नियमित कामभित्रै पर्ने उनका समर्थकहरु नै बताउँछन् ।
विहीबार दुहबीमा आयोजित सभाको लागि उनले सुनसरी मोरङ, सप्तरी, धनकुटा लगायतका जिल्लाबाट विराटनगर बोलाएका झण्डै पाँच हजार कार्यकर्ता एकसाथ विमानस्थल पुग्दा व्यवस्थित गर्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो । अधिकांशलाई विमानस्थल प्रवेशद्वारमै रोकिएपनि करिब दुई सय कार्यकर्ता भने विमानस्थल पसेका थिए ।
करिब ३ हजार मोटरसाइकल र केहि गाडिमा विराटनगर आएका कार्यकर्ताको लागि सम्पूर्ण इन्धन खर्च पार्टीले व्यहोरेको थियो । फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष चुमनारायण तवदारका अनुसार हरेक जिल्ला कमिटिले आफ्नो जिल्लाका कार्यकर्ताको तेलखर्च व्यवस्थापन गरेका हुन् । मोरङका करिब एक हजार कार्यकर्ताको लागि इन्धनको व्यवस्था मिलाइएको थियो । सक्नेले आफै इन्धन हालेपनि नसक्नेहरुका लागि भने पार्टिले व्यवस्था मिलाएको उनले बताए । तवदारकाअनुसार विराटनगरमा मात्रै चार सय लिटर पेट्रोलको व्यवस्था मिलाइएको थियो ।
यता विराटनगर स्थित एबि पेट्रोलपम्पका सञ्चालक भिम घिमिरेका अनुसार फोरम लोकतान्त्रिकका कार्यकर्ताका चार सय मोटरसाइकलमा पेट्रोल हालिएको थियो । पार्टिका नेता जगत चौधरीले पहिला तीन सय र पछि एक सय वटा मोटरसाइकलको इन्धन रकम भुक्तानी गरेका थिए । प्रत्येक मोटरसाइकलमा सरदर दुइ लिटरका दरले पेट्रोल हालिएको पम्पले जानकारी दिएको छ ।
कात्र्तिक ७ । सुदीप अधिकारी

एमाओवादी सभामा बालबालिका
सुनसरी । एनेकपा माओवादीले धरानमा बिहिबार गरेको चुनावी सभामा आचारसंहिता विपरित साना साना बालकहरु लाई परिचालन गरेको छ । अगाडी वाइसिएल र पछाडी सुनसरी क्षेत्र नम्बर १ का उमेद्वार मुक्साहाङ मेयाङ्वोलाई जिताउँ भन्ने नारा तथा पार्टीको चुनावी चिन्ह सहितको टिसर्ट लगाएर बालकहरुलाई चुनावी सभामा परिचालन गरेको थियो ।
कुनै पार्टिले टि सर्ट भेष्टमा पार्टिको झण्डा वा चुनाव चिन्ह या कुनै पनि उमेद्वारको नाम उल्लेख गरेर लगाउन नपाइने तथा बालबालिकाहरुको समेत प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख रहे पनि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल सहभागी कार्यक्रममा भने आचार संहिता विपरीत बालबालिकाहरुको प्रयोग गरिएको हो ।
सभा अघि निकालिको र्याली तथा त्यसको सुरक्षाको नाममा खटाइएका भनिएका वाइसिएल अधिकांश बालबालिका नै थिए । त्यसो त एमाओवादी सभाको प्रचारको नाममा धरान विभिन्न ठाउँमा आचारसंहिता विपरीत तुल व्यानर समेत राखेको थियो ।



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>