राष्ट्रिय वाणिज्य बैंक इटहरी स्थानान्तरणमा चलखेल
Posted by
purwanews
Published on
Monday, October 21, 2013
इटहरी/इटहरीस्थित राष्ट्रिय वाणिज्य बैंक सार्नको लागि बैंकले २०७९ कात्र्तिक २४ गते निकालेको सुचनाको पहिलो लाइनमै उल्लेख थियो कि इटहरी चौकबाट २०० मिटर क्षेत्र भित्रको घर बहालमा लिनुपर्ने । तर गत भदौ ३० गते चौकभन्दा पाँचसय मिटर पुर्व रहेको प्रेम बस्नेत र निलम बस्नेतको घरलाई कार्यालयको लागि निर्णय गरेको छ ।
बैंकले यो निर्णय गर्नुअघि बसिरहेको रेनु प्रसाईको घरसँगको सम्झौता २०६९ चैत्र भित्र सकिएको छ महिना र नयाँ घरमा सर्ने निर्णय गरिएको एक महिना बितिसक्दा पनि घर खाली गरिएको छैन । प्रसाईले ६ महिनाको भाडावापत कर बाहेक रु ५ लाख ४० हजार रुपैयासमेत नपाएको गुनासो गरेकी छिन् । तीन महिनाअघि नै घर खाली गराइ सो अवधिको भाडा दिन निवेदन दिएपनि सुनुवाइ नभएपछि आफू अन्यायमा परेको उनको गुनासो छ ।
बैंक सार्ने निर्णय गर्नुअघि पुर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर प्रमुख सुरेन्द्र बजिमियाले टेण्डरमा सबैभन्दा बढी रकम प्रस्ताव गर्ने केदार श्रेष्ठको घरलाई दिन सिफारिस गरेको आरोप समेत रेनुका पती अग्नी सिटौलाले लगाएका छन् । नातेदार परेकै आधारमा सिफारिस गरेको श्रेष्ठको घरमा निर्णय गरिए अख्तियारमा मुद्धा हाल्ने धम्की आफूले दिएपछि बजिमिया पछि सरेको सिटौलाको दावी छ ।
कार्यालयले सिटौलासँग चार वर्षको लागि गरेको सम्झौता सकिन ५ महिना बाँकी छँदा घर भाडामा लिनको लागि सुचना निकालेको थियो । सुचना निकाले लगत्तै बैंक नसार्न बैंकको इटहरी शाखा, क्षेत्रीय शाखा विराटनगर र केन्द्रिय कार्यालयमा सिटौला दम्पत्ती धाएका थिए । उनीहरुले ४८०० स्क्वायर फिटको फ्ल्याटको लागि बैंकसँग ८९ हजार ६०० रुपैया मासिक पाउँदै आएका थिए । पछि बैंकले एटीएम समेत राख्ने भनेपछि उनले ११ हजार रुपैया थप लिइ एटिएम राख्ने ठाउँ बनाइदिएका थिए । भाडावापत पाउँदै आएको राम्रो रकम गुम्ने भएपछि उनीहरुले बैंकका सिइओलाई समेत भेटेर बैंक नसार्न प्रस्ताव गरेका थिए । ‘सिइओले घर सार्दैनौं, तपाईकै घरमा बस्छौं, ढुक्क भएर जानुहोस् भनेका थिए,’ सिटौलाले भने, ‘एटीएमको ११ हजार मिनाहा गरिदिँदा हुन्छ भनेका थिए, तर अहिले आएर घर सर्ने निर्णय भएछ ।’
‘घर सरेकोमा मलाई गुनासो होइन, तर आफैले बनाएको नियम मिचेर सम्झौता गर्नुको पछि आर्थिक चलखेल छ,’ उनले भने, ‘एक महिनाको भाडावापतको रकम कमिसनस्वरुप पाउने लोभमा नयाँ घर सर्न लागिएको थाहा पाएकोछु ।’
बैंकले खोलेको टेण्डरमा इटहरी चौकबाट १ सय मिटर क्षेत्रभित्र रहेको आफ्नो घरको लागि केदार श्रेष्ठले प्रति स्क्वायर फिट २९.३५ प्रस्ताव गरेकाथिए भने सिटौलाले ३० मिटर क्षेत्रभित्र रहेको घरको लागि १८.६६ रुपैया प्रतिस्क्वायर फिट प्रस्ताव गरेका थिए । यता प्रेम लिलम बस्नेतले इटहरी चौकबाट पाँच सय मिटर क्षेत्र भित्र रहेको आफ्नो घर भाडामा दिनको लागि १८.४७ रुपैया प्रति स्क्वायर फिट प्रस्ताव गरेका थिए । बैंकले प्रकाशन गरेको सुचनामा दुई सय मिटर भनेपनि ३० मिटर क्षेत्र भित्रको आफ्नो घर एटिएमको भाडा समेत नलिने मौखिक सहमती जनाइसक्दा पनि पाँच सय मिटर परको घरलाई भाडाको लागि छनौट गर्नु अस्वभाविक भएको सिटौलाले बताए ।
यता बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले भने नियमसंगत तरिकाले नै कार्यालय भवन सार्ने निर्णय गरेको दावी गरे । सामाजिक सुरक्षा भत्ता लिनेहरुको भीडलाई समेत ध्यानमा राखी कर्मचारीहरुको समेत मागलाई सम्बोधन गर्दै फराकिलो र उज्यालो ठाउँ खोजी गरीएको बताए ।
पूर्वन्युज डेस्क
प्रतिक्रिया दिनुहोस् >>
