मतपत्रको मूल्य ५ रुपैयाँ १८ पैसा

काठमाडौं- अगामी संविधानसभाको निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइ मूल्य पाँच रुपैयाँ १८ पैसा पर्ने भएको छ। विसं २०६४ सालको निर्वाचनभन्दा करिब एक रुपैयाँ ५० पैसा महँगो पर्न गएको बुझिएको छ। समानुपातिक तथा पहिलो हुने निर्वाचनका लागि अलगअलग मतपत्रको व्यवस्था गरिएको छ। ती दुवै निर्वाचनका लागि करिब तीन करोड मतपत्र आवश्यक पर्ने र छपाइ गर्ने आयोगको प्रारम्भिक अनुमान छ। समानुपातिक निर्वाचनका लागि हल्का रातो र पहिलो हुने निर्वाचनको लागि हल्का निलो गरी दुई रङ्गको मतपत्र भोलिबाट छपाइको कार्य सुरु हुने निर्वाचन अयोगका सहसचिव महेश्वर न्यौपानेले राससलाई जानकारी दिए। यसपटकको मतपत्र पनि कडा सुरक्षा प्रबन्धका बीच जनकशिक्षा सामग्री केन्द्रले छपाइ कार्य सुरु गर्दैछ। “छपाइका लागि आवश्यक मेसिन, जनशक्ति र सुरक्षा प्रबन्ध तयारी अवस्थामा छ, भोलि बेलुकीसम्ममा मतपत्रको छपाइका लागि आवश्यक प्राविधिक कामलाई आयोगले टुङ्ग्याई केन्द्रलाई निर्देशन दिन्छ र छपाइको काम सुरु हुन्छ” सहसचिव न्यौपानेले भने। समानुपातिक निर्वाचनमा भाग लिने दलको सङ्ख्या १२४ रहेको छ। पहिलो हुने निर्वाचनमा भने सम्बन्धित क्षेत्रमा अन्तिम नामावली प्रकाशन गर्दा कति उम्मेदवार हुन्छन् त्यसका आधारमा मतपत्रको छपाइ हुने गर्छ। आयोगले केन्द्रलाई सुरुका केही दिन समानुपातिक निर्वाचनको लागि आवश्यक पर्ने मतपत्र छपाइ गर्न र त्यसपछि पहिलो हुने निर्वाचनको मतपत्र छपाइ गर्न र त्यसपछि समानुपातिक निर्वाचनको मतपत्र छपाइका लागि निर्देशन दिने तालिका बनाएको सहसचिव न्यौपानेले जानकारी दिए। उनले भने, “आयोगले कात्तिक २२ गतेसम्ममा सबै मतपत्र छपाइ गरिसक्ने लक्ष्य बनाएको छ।”छपाइका कार्य सम्पन्न भएपछि सशस्त्र प्रहरीलाई सडक सञ्जालले छोएका जिल्ला सदरमुकाममा मतपत्र ढुवानीको कार्यको जिम्मेवारी दिइएको छ। त्यसैगरी करिब १४ वटा हिमाली जिल्लामा भने नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपत्र पुर्‍याइने आयोगले जनाएको छ। छपाइ कार्यको संवेदनशीलतालाई ध्यानमा दिई अहिले केन्द्रको केन्द्रीय कार्यालय भक्तपुरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा प्रबन्ध गरिसकिएको आयोगले जानकारी दिएको छ। सम्बन्धित जिल्ला सदरमुकाममा मतपत्र पुगेपछि प्रमुख जिल्ला अधिकारीले संयोजन गरी मतदान स्थलमा पुर्‍याउने कार्य गरिने सहसचिव न्यौपानेले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>