आज घटस्थापना
हिन्दूहरूको महान चाड बडादसैंको पहिलो दिन घटस्थापना हो । यस दिन मुलुकभर दुर्गा भवानीको प्रतीकका रूपमा घरघरमा घटस्थापना गरेर जमरा राखिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिन नजिकको तीर्थबाट बालुवा मिसिएको माटो ल्याएर वैदिक विधिपूर्वक पञ्चधातु,पञ्चपल्लवका साथ जौ, मकै छरेर घटस्थापना गरिन्छ । पञ्चधातुमा सुन, चाँदी, पित्तल, फलाम र तामा पर्छन् । यस्तै पञ्चपल्लवमा पीपल, बर, दुमरी, पाख्री र आँपको पात पर्छन् । तान्त्रिक मतालम्बीले पञ्चमकारसहित तान्त्रिक विधिले माटोमा जौ र मकै छरेर घटस्थापना गर्छन् । घटस्थापनाका दिन राखिएको जमरालाई नवमीसम्मको नवरात्री पूरा गरेपछि सम्बृद्धिको प्रतीक मानेर विजयादशमीका दिन मान्यजनबाट टीकासँगै लगाउने गरिन्छ । यसै दिनदेखि नवरात्री सुरु हुन्छ । नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ । घटस्थापानादेखि दशैंको चहलपहल पनि सुरु हुन्छ । यसरी जमरा राख्ने घटस्थापनाको अघिल्लो दिन घरआगनलाई लिपपोत गरी सिगारेर सफासुग्घर बनाइन्छ । दैवीशक्तिले आसुरी शक्तिमाथि विजय हासिल गरेको अवसरका रुपमा दशैंलाई मनाइने गरिएको हो । दशैंको पहिलो दिन घटस्थापनाबाट नवरात्री प्रारम्भ हुन्छ । यिनै ९ दिनसम्म विभिन्न शक्तिपीठमा हरेक दिन पूजाअर्चना गरिन्छ । दशैंघर,घटस्थापना स्थनलमा दुर्गा सप्तशती, चण्डी र भगवती स्तोत्र पाठ गरिन्छ। दशैंभर हरेक दिन मुलुकभरका प्रमुख शक्तिपिठहरु भद्रकाली, महालक्ष्मी, दक्षिणकाली, गुहेश्वरी, मैतिदेवी, खाडादेवी,कालीमाईलगायत विभिन्न देवदेवीका मन्दिर र शक्तिपीठहरूमा शक्तिरुपा दुर्गा भवानीको पूजा, आराधना गरिन्छ । बडादसैको सुरुको दिन घटस्थापनादेखि अधिकांश शिक्षण संस्था र अदालतमा कोजाग्रत पूर्णिमासम्म विदा दिइन्छ । नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापना गर्ने शुभसाइत शनिबार बिहान ९:५१ मा रहेको जनाएको छ । समितिका अनुसार दसैंको टीकाको साइत असोज २८ गते सोमबार बिहान ९:५७ मा छ ।
प्रतिक्रिया दिनुहोस् >>
