युबामा बढ्दैछ डिप्रेसन !!

युबामा बढ्दैछ डिप्रेसन !! तपाईलाई सामान्य कुरा देखि पनि झर्को लाग्छ ? आफ्नो जिन्दगी वेकार जस्तो लाग्छ ? एकान्त मन पराउन थाल्नु भएको छ ? निन्द्रा लाग्दैन ? यदी यस्तो समस्या छ भने तपाइलाई मनोरोग अर्थात डिप्रेसन भएको हुन सक्छ । पछील्लो समयमा बढ्दै गएको डिप्रेसनको विषयमा सञ्जिव वाग्लेले तयार पारेको रिपोर्ट : हासो ठट्टा गर्दै रमाइलो गर्ने उमेरमा १५ वर्षीया रीमा (नाम परिवर्तन) एकोहोरिन थालेकी थिइन् । उनको आनी बानी र बोलिको मात्रै होइन, खवाइ र पढाइको स्तर पनि कम हुन थाल्यो । परिवार र साथीभाई सँग झर्केर बोल्ने, खाना नखाने, कुरै पिच्छे रिसाउने र नपढ्ने उनको स्वभाव नै बनिसकेको थियो । यस्तै समस्याबाट पीडित विपिन (नाम परिवर्तन) ले मानसिक तनाव, असन्तुष्टी एवम् समस्याहरुको समाधान गर्न नसकेर आत्महत्याको प्रयास समेत गरेका थिए । हाम्रो समाजमा बढ्दो रुपमा देखिन थालेको यस्ता घटनाहरु मानसिक रोग ‘डिप्रेसन’ अर्थात् उच्च निरासाको लक्षण हो । हाम्रा भाइ बहिनी तथा समाजका किशोर किशोरीहरुमा उच्च निरासाको लक्षण देखिने वित्तिकै समयमै उचित परामर्स र उपचार पाएमा उनीहरु सामान्य अवस्थामा फर्कन सक्छन् । अन्यथा उनीहरुको जीवन वर्वाद पनि हुन सक्छ । रीमाकी आमाले उनलाई पढाइ सुधार्न ट्युसन लिन लगाइन् तर पनि उनको पढाइमा कुनै सुधार आएन, पछि परामर्शदाताको सहयोग लिएपछि भने उनको पढाइमा, व्यवहारमा निकै परिवर्तन आएको अनुभव परिवारको छ । रीमामा मानसिक समस्या आउनुमा बाबु- आमा बीच दिनह जसो हुने झगडा, विद्यालयमा साथीहरुले होच्याउने, जिस्काउने कारण आत्मविश्वास हराउदै गएपछि उनमा उच्च निराशा छाएको रहेछ । त्यस्तै , विपिनको नैरास्यताको कारण अरु केही नभई जीवनमा ठूलो उपलब्धी हासिल गर्ने महत्वकांक्षा, पढाइमा पाएको असफलता, परिवारको असहयोग एवम् प्रेमिकासगको बढ्दो तनावका कारण उनी आत्महत्या गर्नेसम्मको अवस्थामा पुगेका रहेछन् । रिमा र बिपिन त समाजका प्रतिनिधि पात्र मात्र हुन्। अहिले हाम्रो समाजमा प्रत्येक १०० जना मध्ये कम्तिमा ५ देखी ७ प्रतिसतमा यो समस्या देखिएको छ। वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नशा एवम् मनोरोग विशेषज्ञ डा. धनरत्न शाक्य भन्छन्– "मानिसको दैनिक क्रियाकलाप, अन्य व्यक्तिसगको सम्बन्ध, भोक, निन्द्रा, टाउको दुख्ने, आत्तिने, पेट पोल्ने, छाती पोल्ने, मन डराउने र यौन इच्छामा कम्तिमा २ हप्ता वा सो भन्दा बढी समयसम्म प्रतिकुल असर परेमा त्यो डिप्रेसनको लक्षण हो । अहिले हाम्रो समाजमा प्रत्येक १०० जना मध्ये प्रत्येक ५/७ जनामा यो समस्या देखिएको छ ।" साना नानीहरु देखि लिएर बृद्धसम्म जो कसैलाई हुने भएपनि मानसिक रोग विभाग एवम् परामर्श केन्द्रहरुमा समस्या लिएर जाने युवाहरुको संख्या हालैका दिनहरुमा बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार २५ देखि ३५ वर्ष उमेर समूहका युवामा सबैभन्दा बढी डिप्रेसन भएको पाइएको छ । तीमध्ये पनि सबैभन्दा बढी बेरोजगार युवामा यो समस्या देखिएको छ । युवा तथा किशोर अवस्थामा शारिरीकसगै मानसिक तनाव बढी हुने भएकाले यो रोग लाग्ने सम्भावना उनीहरुमा बढी भएको परामर्शदाताहरु बताउछन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वभरिमा सन २०२० सम्ममा यो रोग मुटु रोग पछीको पहिलो प्रमुख स्वास्थ्य समस्या हुने उल्लेख छ।अनुसन्धानले डिप्रेसन पुरुषको तुलनामा महिलामा बढी हुने गरेको देखाएको छ । झन्डै २० जना पुरुष मद्धे १ जना र १० जना महिला मद्धे १ जनालाई डिप्रेसन हुने गरेको पाइएको छ। के हो डिप्रेसन ? डिप्रेसन वा उदासिनता मानिसलाई हुने प्रमुख रोगहरूमध्ये एक हो । डिप्रेसन एउटा कडा रोग हो जसले पीडित व्यक्तिलाई मात्र नभएर उसको परिवार तथा समाजलाई समेत असर पुयाउँछ । यो रोग हरेक देश र समाजमा व्याप्त छ । कुल जनसंख्याको करिब १५ प्रतिशत मानिसहरू जीवनमा कमसेकम एक पल्ट डिप्रेसनको शिकार भएको पाइएको छ । डा. शाक्यका अनुसार, ' डिप्रेसन भएका मध्ये ४० प्रतिशत रोगीले आत्महत्या गर्ने सम्भावना रहन्छ । त्यस मद्धे १५ देखी २० प्रतिसतले त आत्महत्या गरी मृत्‍यु बरण नै गर्छन्।' समयमै पहिचान भई उपचार गर्न सकेमा यो रोग निको हुन्छ । समयमै उपचार नपाएमा यो बढ्दै जान्छ र यसले मानसिक सन्तुलन नै बिगार्न सक्छ । यो अवस्थालाई कडा मानसिक रोगको अवस्था हो भनेर बुझिन्छ । यो अवस्थामा निराशा र दिग्दारीपन यति बढ्दै जान्छ कि जसले गर्दा रोगीले आफ्नो जीवन नै बेकार सम्झी आत्महत्याको बाटो रोज्ने गर्छन् । डिप्रेसनबाट ग्रसित हुनेमा मुख्य रुपमा युवाहरु नै देखिन्छन् । २५ देखि ३५ वर्ष उमेर समूहका युवा सबैभन्दा बढी डिप्रेसनमा परेको पाइएको छ । तीमध्ये पनि सबैभन्दा बढी बेरोजगार युवामा यस्तो समस्या देखिएको छ । २५–३५ को उमेर पढाइ सकेर रोजगारी गर्ने , वैवाहिक सम्बन्ध गाँस्ने र महत्वकांक्षा बढ्ने उमेर हो । त्यसैले यसबेला भनेजस्तो नभए पछी निराशा बढ्न थाल्छ र २ हप्ता वा सो भन्दा बढी समयसम्म यही अवस्था रहिरहेमा व्यक्ति डिप्रेसनको सिकार हुन्छ । त्यस्तै दोस्रो समस्या ६० वर्ष माथिका व्यक्तिलाई हुन्छ । यो उमेर “रिटायर्ड लाइफ” को उमेर पनि हो । जागिर गरेका वा नगरेका व्यक्ति बुढ्यौलीमा प्रवेश गर्ने उमेर पनि हो । डिप्रेसन कसरी हुन्छ ? डिप्रेसन के कारणले हुन्छ भन्ने एउटै परिभाषा छैन । विभिन्न व्यक्तिलाई विभिन्न कारणले हुन सक्छ । तर, शरीरभित्रको रसायनमा कमी हुनासाथ त्यसले डिप्रेसन ल्याउँछ । मस्तिष्कमा पाइने विभिन्न रसायन जस्तै : सेरोटोनिन, इपिनैफरिन, नौरडपिनैफरिन तथा डोपामिनको कमीले गर्दा पनि यो अवस्था आउन सक्छ । शरीरमा पाइने विभिन्न प्रकारका हर्मोनले यसमा असर पारेको हुन्छ । जस्तै : ओसट्रोजिन हर्मोनले मन नियन्त्रण गर्न ठूलो भूमिका खेलेको हुन्छ । त्यस्तै, टेसरररोन हार्मोनको कमीले पनि यो रोग लाग्न सक्छ । वि.पि. प्रतिष्ठानका मनोरोग विशेषज्ञ डा. शाक्य यो रोग हुनुमा तीन वटा कारण औल्याउछन् । उनी भन्छन् – "यो समस्या जैविक, मनोवैज्ञानिक र सामाजिक एवम् वातावरणीय कारणले गर्दा हुन्छ ।" मस्तिष्कको विकाससँगै बाहिरी वातावरणको प्रभावले पनि यो समस्या देखिने गर्छ। जस्तै, बच्चा जन्मेर हुकंर्दै जाँदा आमाबुबाको माया बाट बन्चित भएको महसुस गर्न थालयो भने उसमा डिप्रेसन हुनसक्छ । अति ठूलो महत्वकांक्षा लिने व्यक्तिमा पनि डिप्रेसन हुने गर्छ । त्यस्तै, कुपोषणबाट ग्रसित व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुने हुनाले डिप्रेसन हुने सम्भाबना बढी हुन्छ । टाउकोमा चोट लाग्यो भने, जन्मने, हुर्कने वेलामा धेरै ठूलो इन्फेक्सन भयो भने, मलेरिया, जापानिज इन्सेफलाइटिस जस्ता सीधै मस्तिष्कसँग जोडिने रोगले पनि डिप्रेसन हुन सघाउँछ । उमेरका कारण शिक्षा, रोजगार, प्रेममा धोका, पारिवारिक कलह, उच्च महत्वकांक्षा, पाएको सफलताबाट सन्तुष्ट हुन नसक्नु, परिवारमा आफ्नो कुरा खुलस्त राख्न नसक्नु, असफलताको डर, मोटो वा दुब्लो, यौन तथा शारिरीक सुन्दरता, म को हुँ ? मेरो उद्देश्य के–हो ? जस्ता आफ्नो अस्तित्वसग सम्बन्धित प्रश्नको घेरामा परेकाहरुमा डिप्रेसनको समस्या हुने गरेको छ । छ । समाधान सबैभन्दा पहिले परिवार र समाजमा यो पनि अन्य रोगजस्तै साधारण रोग हो भन्ने बुझाउनु पर्छ । रोगीलाई हेय दृष्टिले हेर्नु हुँदैन । किनकि यो रोग उपचार गर्दा निको हुन्छ । डिप्रेसनबाट बच्न सर्वप्रथम त डिप्रेसन के हो र त्यसबाट कसरी बच्न बचाउन सकिन्छ भन्ने बारेमा बुझ्न जरुरी छ । डिप्रेसन भनेको खाली मन उदास हुनु मात्र नभई त्यसभन्दा अझ बढी हो ।डिप्रेसन एउटा कडा रोग हो जसले पीडित व्यक्तिलाई मात्र नभएर उसको परिवार र समाजलाई समेत असर पुर्‍याउदछ । यो मधुमेह, उच्चरक्त चाप, मुटु रोगहरु जस्तै एउटा रोग हो । यो रोगले हाम्रो सोचाई, भावना तथा व्यवहारमा असर गर्दछ ।यो मानवीय संवेदनासँग जोडिएको रोग भएकाले रोगिलाई परिवार , समाजबाट मनोवैज्ञानिक सहयोग आवश्यक हुन्छ। त्यसैले समयमै नजिकैको मानिसक रोग विशेषज्ञलाई भेटेर परामर्श लिनु जरुरी हुन्छ । मानसिक रोग विशेषज्ञले डिप्रेसनको उपचार औषधि र मनोवैज्ञानिक उपायले गर्छन् । कसरी थाहा पाउने? • मन नरमाइलो वा उदास हुनु, •कुनै कुरामा पनि खुसी वा आनन्दको अनुभव नहुनु, •शरीर कमजोर हुँदै जानु । थोरै काम गरे पनि धेरै थकाइको अनुभव हुनु • निन्द्रा नलाग्ने, टाउको दुख्ने, आत्तिने, पेट पोल्ने, छाती पोल्ने, मन डराउने •आफ्नो काममा ध्यान दिन वा पुर्‍याउन नसक्नु, • निराशा बढ्ने तथा आत्मविश्वास घटेर जानु, • जीवन व्यर्थ हो जस्तो लाग्ने, सधैँ आफूलाई दोषी ठान्नु, • भोक नलाग्ने, शरीरको तौल कम हुँदै जाने, • यौन इच्छामा कमी हुने, •हात खुट्टा झमझम हुने, • रोगी बेचैन चिद्चिदे र रुन्छे हुनु, • आत्मविश्वासको कमी, अधिक चिन्ता र पछुतोको बिचार आउनु । (कलेज टाइम्समा प्रकाशीत)
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>