'निर्वाचन स्थगित गर' : वैद्य
Posted by
purwanews
Published on
Tuesday, October 29, 2013
काठमाडौं / मोहन वैद्य नेत्रित्तोको माओवादीले निर्वाचन प्रक्रिया स्थगित गरी वार्ताबाट राजनीतिक निकास खोज्न सरकार र चार दललाई आग्रह गरेको छ । पार्टी अध्यक्ष वैद्यले आज एक विज्ञप्ति जारी गरी चुनावी प्रक्रिया स्थगित गर्न माग गरेको हो । समय छदै गम्भीर बन्न र राष्ट्रिय सहमति बिना हुन गइरहेको संविधान सभाको दोस्रो निर्वाचन स्थगन गरी ३३ राजनीतिक दलहरुको मोर्चाद्वारा प्रस्तुत सर्वपक्षीय गोलमेच सभालगायतको प्रस्तावलाई गम्भीरतापूर्वक लिन वैद्यले अपील गरेका छन् । वार्तामार्फत् परिणाममुखी राजनीतिक निकासका लागि आवश्यक पहल गर्न चार राजनीतिक दल र सरकारलाई फेरि पनि विशेष अनुरोध गर्दछौं, अध्यक्ष वैद्यले निकालेको विज्ञप्तिमा उल्लेख छ । ३३ दललाई छाडेर गर्न लागेको चुनावको कुनै अर्थ नभएको र यसले संविधान र शान्ति दिनुको सट्टा अर्को द्वन्द्व निम्त्याउने माओवादीको ठहर छ ।
चुनावमा भाग लिनु र बहिष्कार गर्नु दुबै समान राजनीतिक अधिकार र स्वतन्त्रताको विषय भएपनि सरकारले बहिष्कार आन्दोलनमा रोक लगाउने, नेता र कार्यकर्तालाई गिरफ्तार गर्ने र मुद्दा लगाउने काम गरेको भन्दै वैद्यले आपत्ति जनाएका छन् । गिरफ्तार गरिएका सबैलाई विना शर्त रिहा गर्न माओवादीले माग पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस् >>